१६ चैत्र २०८०, शुक्रबार

खरायोबाट पाँच लाख कमाउने हुम्लाका धन वोहरा

Khabarsabaiko सोमबार, माघ ०५, २०७७

हुम्ला -गरे नहुने के छैन र रु यो भनाईसँग भावनात्मक सम्बन्ध गाँस्ने एक किसान हुन् धन वोहरा । उनी दैनिक जीवनसँग र घरायसी कामका लागि प्रयोग हुने धेरै सीपका लागि गाउँमा चिनिएका एक सीपालु पनि हुन् । पछिल्लो समय उनको परिचय गाउँकोभन्दा पनि जिल्लाकै एक अगुवा खरायो पालक किसानको परिचयका रुपमा चिनिएको छ ।
उनले तीन वर्षको समयावधिमा खरायो पालेरै पाँच लाखभन्दा धेरै आम्दानी गरिसकेका छन् । उनको सिको गरेर हाल सिमकोट गाउँपालिका वडा नं १ र २मा करीब छ सयभन्दा धेरै खरायो गाउँमा छन् ।
सिमकोट गापा वडा नं १ र २ ठेहे गाउँ हुम्ला जिल्लाकै एक ठूलो गाउँ हो । यहाँको जनसंख्या अरु गाउँभन्दा धेरै रहेको छ । यहाँ क्षेत्रीहरुको बाक्लो बस्ती हुनुका साथै केही मात्रामा दलितहरुको पनि बसोवास रहेको छ । यहाँबाट सदरमुकाम सिमकोट पुग्न दुई घण्टा लाग्छ । पछिल्लो समय यो गाउँको तरकारीले सिमकोट बजारमा राम्रो स्थान पाएको छ । धेरै ठेहे गाउँका बासिन्दाहरुले तरकारीको आम्दानीबाट आफ्ना सन्तानलाई नेपालका विभिन्नि शहरहरुमा उच्च शिक्षाका लागि लगानीय गरेका छन् ।
अरुभन्दा फरक सोचका धन वोहरा हाल ३६ वर्षका भए छन् ।

उनको परिवार सानो छ । उनलाई गाउँकै एक हितैषी साथी जसलाई स्थानीय भाषामा सम्मान स्वरुप ‘ज्यु’ले एक जोडी खरायो उपहार स्वरुप दिएका हुन् । यसलाई उनले स्याहार सम्भार गरेर तीन वर्षमा पाँच लाखभन्दा धेरै नगद कमाएका छन् । उनले आफन्त, साथीभाइ र अन्यलाई विभिन्न उपहार तथा कोसेलीका रुपमा दिइएको खरायोको हिसाब गर्ने हो भने सात लाख हुने उनले भने ।

यसले एक वेतमा तीन चारदेखि आठ नौ बच्चा दिने भएकाले त्यो बेला माउ खरायो बच्चाहरुको स्याहारका लागि अलि आक्रमक हुन्छ । यो संवदेनशील अवस्थालाई राम्रोसँग स्याहार सुसार गरेमा पाल्न राम्रो छ तर पनि यसका लागि आफु बस्ने घरभन्दा अलि फरक स्थानमा सुरक्षित खोर बनाउनु उपयुक्त हुने उनले बताए ।

तीन वर्षको अवधिमा गाउँघर, छिमेकी गाउँ तथा विभिन्न समुह, सहकारी तथा गैससहरुका लागि दर्जनौं खरायो बेचेका छन् भने तालिमका लागि प्रशिक्षक भएर पनि काम गरेका छन् । मासिक हजारौं रुपैँया खरायोबाट कमाउने धन वोहराले यो पेशाबाट राम्रो आम्दानी गर्न सफल भएको सिमकोट गापा वडा नं २ ठेहेका स्थानीय सूर्यमणि वोहराले बताए ।
कम लगनी, कम श्रम र घरमै बसी बसी खरायोबाट राम्रो आम्दानी गरेकाले उनको सिको गरेर गाउँलेहरुले पनि खरायो पाल्ने गरेका छन् । पछिल्लो समय कोरोनाका कारण विभिन्न कामका लागि नाकाबन्दी भएको गाउँघरमा सस्तो र सजीलै किन्न पाइने भएकाले पनि दिनको तीन चारभन्दा धेरै खरायो बिक्री हुने गरेको छ ।

खरायो हेरेर सिंलग बेच्दा एक हजारदेखि दुई हजारसम्म र डबल बेच्दा दुई हजारदेखि चार हजारसम्म बिक्री हुने गरेको छ । उनको यो कामले गाउँका अरु किसानहरुले पनि खरायो पालन गरेका छन् । हाल ठेहे गाउँका करीब एक हजारभन्दा धेरै खरायो रहेका छन् ।

पछिल्लो समय गाउँमा मासुको स्वाद पनि नयाँ, छिटो छरितो र सस्तोमा मासु पाइने भएकाले पनि खरायोपालनका स्रोत व्यक्ति बनेका छन् धन बोहरा । उनले हालसम्म पाँच लाखभन्दा धेरै आम्दानी खरायोबाट गरेका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्