१५ चैत्र २०८०, बिहिबार

सिम्तामा जेष्ठ नागरिकलाई ज्योती

Khabarsabaiko बिहिबार, पुष २६, २०७५

दिपक बुढा

सुर्खेत, २६ पुस ।

सिम्ता गाउँपालिकामा आँखा देख्न नसक्ने जेष्ठ नागरिकहरुलाई आँखाको ज्योति खुलाईएको छ । मोतिया विन्दु अप्रेसनबाट आँखा देख्न सक्ने बनाइएको हो । सिम्ता गाउँपालिकाको आर्थिक सहयोग तथा सुर्खेत आँखा अस्पतालको प्राविधिक र राकम रेडक्रस उपशाखाको स्थानीय व्यवस्थापनमा अप्रेसन सहितको आँखा शिविर सम्पन्न भएको छ । यही पुस २४ गतेदेखि २६ गतेसम्म तीन दिन राकमकै वागेश्वरी माध्यमिक विद्यालयमा आँखा शिविर राखिएको थियो ।

आँखाको समस्या भएका जेष्ठ नागरिकहरुको यस अगाडी छनौंट शिविर सञ्चालन गरिएको थियो । शिविरबाट मोतिबिन्दु अप्रेसनका लागि छनौंट भएका जेष्ठ नागरिकहरुको आवासिय सुविधा सहित तीन दिनमा अप्रेसन गरिएको सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसीले जानकारी दिए । गाउँपालिकाको नियमित बजेट तथा कार्यक्रम अन्तर्गत गाउँपालिका तथा छिमेकी नगरपालिका र गाउँपालिकाका जेष्ठ नागरिकहरुको सुविधा र सहुलियतका लागि सिम्तामा अप्रेसन सहितको शिविर राखिएको बताए । उनले भने ‘हाम्रो यो नियमित कार्य हो ।

यसबाट जेष्ठ नागरिकले अँध्यारो संसारबाट उज्यालो संसार देख्न सफल भएका छन् ।’ तीन दिनसम्म चलेको शिविरबाट ८ सय ८९ जनालाई निःशुल्क आँखा जाँच गरिएको थियो जसमा महिला ४ सय ७८ र पुरुष ४ सय ११ जना रहेको जनाइएको छ । एक सय ५५ जनाको मोतियाबिन्दुको अप्रेसन गरी आँखाको ज्योति प्रदान गरिएको छ । नजिकको लेखपढ गर्ने चस्मा ७९ जनालाई प्रदान गरिएको छ । शिविरमा सुर्खेत आँखा अस्पतालका मेडिकल डाइरेक्टर डा. शक्ति प्रसाद सुवेदी, डा. विक्रम बहादुर थापासहित १० जना स्वास्थ्यकर्मीहरुको टोलीले शिविर सफलतापूर्वक सम्पन्न गरेको अस्पताल व्यवस्थापक घन बहादुर थापाले जानकारी दिए ।

यहाँ कमेन्ट गर्नुहोस्