१५ चैत्र २०८०, बिहिबार

शिक्षकका लागि पनि प्रारम्भिक परीक्षा लिने शिक्षक सेवा आयोगको तयारी

Khabarsabaiko शनिबार, माघ २६, २०७५

भक्तपुर, माघ २६ ।

अबदेखि शिक्षकको स्थायी परीक्षामा सहभागी हुनुपूर्व शिक्षक सेवा आयोगले सञ्चालन गर्ने प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । स्थायी परीक्षामा आवेदन दिनेको सङ्ख्या अत्यधिक बृद्धि भइ एकैसाथ परीक्षा व्यवस्थापन गर्न कठिन हुन थालेपछि आयोगले नयाँ व्यवस्था गर्न लागेको हो ।

आयोगको स्थापना दिवसको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रशासकीय प्रमुख डा.तुलसी थपलियाले परीक्षा व्यवस्थापनलाई सुधार गर्न प्रारम्भिक परीक्षा आवश्यक देखिएको बताउनुभयो । ‘शिक्षकका लागि उम्मेदवारहरूको सङ्ख्या धेरै हुन थालेको छ’, उहाँले भन्नुभयो, ‘सुरुमा प्रारम्भिक परीक्षाबाट परीक्षार्थीहरू छान्ने छौँ । त्यसबाट छानिएकाहरूमात्र स्थायी पदका लागि लिइने लिखित परीक्षामा सहभागी हुनसक्ने छन् ।’

हाल अध्यापन अनुमतिपत्र लिएकाहरूले स्थायी पदको विज्ञापनमा आवेदन दिन पाउने व्यवस्था छ । अध्यापन अनुमतिपत्र लिइसकेकाले प्रारम्भिक परीक्षा दिन पाउने आयोगको भनाइ छ । हालै आयोगले प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा १२ हजार ७३९ पदका लागि आवेदन माग गर्दा दुई लाख १३ हजार ५५ जनाले आवेदन दिएका थिए । स्थायी पदका लागि लिखित, अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा लिने कानुनी व्यवस्था भए पनि हालसम्म लिखित र अन्तर्वार्तामात्र सञ्चालन गरिँदै आएको छ ।

डा. थपलियाले ओएमआर मेसिनको प्रयोग गरिने र प्रारम्भिक परीक्षामा वस्तुगत प्रश्न सोधिने जानकारी दिदै भन्नुभयो, ‘उत्तरपुस्तिका परीक्षण मेसिनबाटै हुनेछ ।’ ३० लाख रुपियाँ पर्ने सो मेसिनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखाबाट ल्याइएको छ । विगतमा छात्रवृत्ति शाखाले छात्रवृत्तिका लागि परीक्षा लिने गरेकोमा हिजोआज चिकित्साशास्त्र अध्ययन संस्थानबाटै परीक्षा लिने व्यवस्था भएकाले सो मेसिन थन्किएको थियो ।

आयोगका अध्यक्ष ताना गौतमले अनलाइनमार्फत् उम्मेदवारले आवेदन फाराम भर्न सक्ने व्यवस्था सुरु गर्न लागिएको जानकारी दिनुभयो । विभिन्न विषय नमिल्दा र कतिपयले उत्तीर्ण गर्न सहज हुने भन्दै एक जिल्लाबाट अर्को जिल्लामा गई आवेदन भर्ने चलन छ । यसले गर्दा उम्मेदवारका लागि बढी खर्चिलो र आवेदन फाराम व्यवस्थापन गर्न समस्या हुँदै आएको छ । उहाँले अनलाइनबाट आवेदन दिन पाउने व्यवस्था भएपछि उम्मेदवारले घरमै बसेर आवेदन दिन सक्ने बताउँदै यस्तो सुविधाले आवेदन फारामको व्यवस्थापन गर्न सरल हुने बताउनुभयो ।

घरबाट आवेदन फारम भरे पनि आवेदन दस्तुर बुझाउन तोकिएको बैङ्कमा जानैपर्ने हुन्छ । आगामी एक महिनाभित्रमा स्थायी अध्यापन अनुमतिपत्रको लिखित परीक्षाका लागि आवेदन खुला गर्ने तयारी गरिएको छ र त्यसका लागि अनलाइनमाध्यमबाट फाराम बुझाउन सकिने व्यवस्था सुरु गरिँदैछ ।

अबदेखि आयोगले विषयगत परीक्षा सञ्चालन गर्ने भएको छ । विगतमा सबै विषयका शिक्षकका लागि एउटै प्रश्नपत्र सोधिन्थ्यो । आयोगका सदस्य ज्ञानी यादवले शिक्षकको विषयगत दक्षता जाँच्न अबदेखि विषयगत परीक्षा सञ्चालन गर्न लागिएको बताउनुभयो ।

उहाँले ७७ हजार दरबन्दी भएको निजामति सेवाका लागि कर्मचारी छनोट गर्न लोक सेवा आयोगको प्रादेशिक स्तरका कार्यालयको समेत व्यवस्था भएकोमा एक लाख सात हजार दरबन्दी भएको शिक्षक छनोट गर्न एउटामात्र निकायबाट कठिन हुने तर्क गर्नुभयो । उहाँले हरेक प्रदेशमा शिक्षक सेवा आयोगको पनि कार्यालय रहनुपर्ने बताउनुभयो ।

हाल आयोगमा जम्मा ४० जना कर्मचारी रहेको र तीमध्ये १५ जना कार्यालय सहयोगी तथा चालक छन् । कम जनशक्तिले परीक्षा सञ्चालन गर्न समस्या सिर्जना हुँदै गएको आयोगका पदाधिकारीहरुले गुनासो गर्नुभयो ।

आयोगले सञ्चालन गर्दै आएको सय पूर्णाङ्कको लिखित परीक्षालाई दुई सय पूर्णाङ्कमा पुर्याउनुपर्ने तर त्यसका लागि आफूहरूका हात बाँधिएको गुनासो आयोगका पदाधिकारीहरूको छ । आयोगका अध्यक्ष गौतमले दुई सय पूर्णाङ्क बनाउने, उत्तीर्णाङ्क बढाउने लगायतका बारेमा आफूहरूले निकै अघिदेखि प्रयास गरे पनि कानुन बनाउन वास्ता नगरिएको जानकारी दिनुभयो ।

शिक्षक सेवा आयोगले स्थायी परीक्षाको उत्तीर्णाङ्क ४० कायम गरेको छ र यो निकै कम भएको शिक्षाविद्हरूले भन्दै आएका छन् । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्