१५ चैत्र २०८०, बिहिबार

संघनायक भिक्षु अश्वघोषको विशेष राजकीय सम्मानका साथ दाहसंस्कार

Khabarsabaiko आइतबार, चैत्र २४, २०७५

काठमाडौं,

चैत्र २४ गते ।

संघनायक भिक्षु अश्वघोष महास्थविरको राजधानीको विजयेश्वरीस्थित कर्णदीपमा आज ‘विशेष’ राजकीय सम्मानका साथ दाहसंस्कार गरिएको छ ।
मन्त्रिपरिषद्को आकस्मिक बैठकले बुद्ध धर्मको माध्यमबाट मुलुकमा शान्ति र लोकतन्त्र स्थापनाको लागि र लुम्बिनी विकासमा पुयानुभएको योगदानको कदर स्वरुप विशेष’ राजकीय सम्मान गर्ने निर्णय गरेको थियो ।
संघाराम भिक्षु तालिम केन्द्रमा उहाँको पार्थिव शरीरलाई श्रद्धाञ्जली ब्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाउनुभयो ।
धर्मपत्नी राधिका शाक्यसँगै प्रधानमन्त्री ओलीले २०४६ सालको जनआन्दोलपछि आफूले भिक्षुलाई चिनेको बताउँदै उहाँको योगदानलाई कदर गर्दै सरकारले विशेष राजकीय सम्मान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सोही अनुरुप नेपाली सेनाको टुकडीले सलामी अपर्ण गरी भिक्षु अश्वघोषको पार्थिक शरीरलाई दाहसंस्कार गरिएको थियो ।
भिक्षु संघको परम्परा अनुसार संघउपनायक भिक्षु ज्ञाणपूर्णिक महास्थविरले भिक्षु अश्वघोषको पार्थिव शरीरलाई दागबती दिनुभयो ।
दागबत्ती दिनुअघि भिक्षुसंघ, भिक्षुणीले मरणानुस्मृति (मूत्यू जीवनको अनिवार्य भन्ने बोध गर्ने ) पाठ, बज्राचार्य गुरुजु र लामा भिक्षुले उहाँको निर्वाण कामना गर्दै पाठ पढ्नुभयो ।
दागबत्ती दिनुअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको श्रद्धाञ्जली सन्देश वाचन गरिएको थियो ।
सन्देशमा राष्ट्रपति भण्डारीले भिक्षुको निधनले देशलाई अपुरणीय क्षति पुगेको उल्लेख गरिएको छ ।
शुक्रबार ९३ वर्षको उमेरमा निधन भएको भिक्षुको पार्थिक शरीलाई श्रद्धाञ्जली लागि दुई दिन क्षेत्रपाटी, ढल्कोस्थित संघाराम भिक्षु तालिम केन्द्रमा (विहार)मा राखिएको थियो ।
नेकपाका महासचिव विष्णु पौडेल, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह, उर्जामन्त्री वर्षमान पुन ‘अनन्त, सांसद् भिमसेनदास प्रधान, प्रदेश नम्बर ३ का सदस्यहरु ज्ञानेन्द्र शाक्य, जीवन डंगोल, शोभा शाक्य, बिना श्रेष्ठ, काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलगायतले विहारमा पुगी भिक्षुप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
त्यसैगरी, प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामालगायतले भिक्षुको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो ।
यसैबीच, अखिल नेपाल भिक्षु महासंघले एक विज्ञप्ती जारी गरी भिक्षु अश्वघोषको निधनले नेपालको बुद्ध धर्मको क्षेत्रमा अपुरणीय क्षति पुगेको बताइएको छ ।
दिवगंत भिक्षु २०४७ सालदेखि २०४९ सालसम्म राष्ट्रियसभाको सांसद् हुनुहुन्थ्यो । २०५२ औं सालमा उहाँ लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति हुनुभएको थियो ।
उहाँ नेपालको पहिलो बौद्ध मासिक पत्रिका आनन्द भूमि र धर्मकीर्ति बौद्ध पत्रिकाका प्रधानसम्पादक हुनुुहुन्थ्यो । नेपालभाषा र नेपाली भाषामा गरी उहाँको करिब डेढसय वटा पुस्तक प्रकाशित छन् । म्यानमार सरकारले सन् २००२ सालमा उहाँलाई अग्गमहासद्धम्मजोतिक धज उपाधिले सम्मान गरेको थियो । याे समाचार गाेरखपत्र अनलार्इन बाट साभार गरिएकाे हाे ।

यहाँ कमेन्ट गर्नुहोस्