About Contact Links
Close
बिज्ञापन
एन.जि.ओ. ले गरेको विकास कि ब्यापार ?

Khabarsabaiko शनिबार, बैशाख २१, २०७६ मा प्रकाशित

—बसन्त रोकाया

गैरसरकारी संस्था ( एन.जि.ओ ) ले विकासका नाममा ब्यापार गरेको यथार्थहरु हाम्रो गाउँ, ठाउँ,समाज र राष्ट्रमा छर्लङ्ग छन् । यसको उद्देश्य अनुसार यसले विकासको कामकुरालाई अघि सार्दछ भने ब्यापारले देखाएको धन्दा अनुसार यसका कामकुराहरुले ब्यापारको झल्को दिन्छ । निश्चित उद्देश्य प्रप्तिका लागि गैरसरकारी तहमा औपचारिक रुपमा संगठित भएर समाज कल्याण परिषद तथा जिल्ला प्रशासन कार्यालयमा दर्ता गरेका नाफारहित स्वयंसेवी संस्थाहरुको रुपमा कार्यरत राजनीतिक दलहरु बाहेकका सामाजिक, सांस्कृतिक, धार्मीक, वातावरणीय, स्वास्थ्य, शिक्षा, मानवअधिकार आदि क्षेत्रहरुमा कार्य गर्ने संस्थालाई गैरसरकारी संस्था ( एन.जि.ओ ) भनिन्छ । विकसित अर्थात पुँजिवादी मुलुकका जनताले अविकसित मुलुकका गरीव जनताको कल्याण र उद्धार गर्ने अभिप्रायले गैरसरकारी तहमा विश्वव्यापी रुपमा कार्यारत संस्थालाई अन्तराष्ट्रिय गैरसरकारी संस्था (आई.एन जि.ओ ) भनिन्छ । अहिलेको विश्वमा सरकार र संस्थाहरु मिलेर गरेको विकास प्रभावकारी भएको पाईन्छ । तर, जहाँ सरकार बलियो र जनताप्रति प्रतिबद्ध छ, त्यहाँ यस्ता संस्थाहरुको भुमिका सकरात्मक हुन्छ र विकास कार्यक्रमहरुको सहयोगी बन्दछ । कुशासन र अस्थिर राजनैतिक वातावरणमा सरकारभन्दा संस्थाको लोकप्रियताले राजनीतिक व्यक्तित्वहरुप्रति जनआस्थामा कमी आउने र विकासको नाममा गरिवको ब्यापार हुने गर्दछ । त्यसैले गैरसरकारी संस्था वास्तवमा के हुन ? यिनीहरु उद्देश्य अनुसार चल्छन कि परिस्थिति अनुसार ? यिनीहरुले विकास गर्छन कि ब्यापार ? जुन अहिले विवाद र वहसको विषय बन्न थालेको छ ।
विकासको कुरा गर्दा नेपाल जस्तो अविकसित मुलुक अझै विकट गाउँ ठाउँमा गैरसरकारी संस्थाहरुको भुमिका बारे प्राय चर्चा भईराखेको हुन्छ । तर, अविकसित देशमा मात्र नभई विकसित देशहरुमा समेत गैरसरकारी संस्था विकासका लागि अभियानका रुपमा संगठित भएका छन् । विश्वमा गैरसरकारी संस्थाहरुको आरम्भ सामाजिक समस्याहरु, युद्ध, भोकमरी, अनिकाल, भुकम्प लगायतका प्रतिकुल परिस्थितिहरुबाट समाजलाई राहत दिने उद्देश्यले भएको थियो । खासगरी दोश्रो विश्व युद्ध पछिका विभिन्न समयमा उत्तरी देशहरुबाट दक्षिणी देशहरुमा अन्तराष्ट्रिय गैरसरकारी संस्था मार्फत बैदेशिक सहयोग प्रदान गरिदै आएको पाइन्छ । नेपालमा वि.सं १९६६ मा कामधेनु चर्खा प्रचारक गुठीको स्थापनाबाट गैससको थालनी भएतापनि छैटौ योजना देखि गैरसरकारी क्षेत्रलाई विकासको राष्ट्रिय नीति अपनाएको पाईन्छ । वि.सं. २००७ पछि नेपालको राजनीतिक परिवर्तन, कुटनीतिक सम्बन्ध विभिन्न देशहरुसँग कायम हुनु, सरकारको खुल्ला र उदार नीति, विदेशी दातृराष्ट्रहरुको नेपालप्रतिको अभिरुची, नेपालको पछौटेपन आदिबाट नेपालमा गैरसरकारी संस्थाको विकास हुनपुगेको छ । वि.स २०४६ अघिसम्म नेपालमा १९१ वटा गैरसरकारी संस्थाहरु थिए । हाल आएर हजारौ संख्यामा च्याउ उम्रिए जस्तै स्थापना भएका छन् । नवौं योजनाबाट गैरसरकारी संस्थालाई विकासको साझेदारी तथा सहयोगी संस्थाका रुपमा स्वीकारिएको छ । पछिल्ला योजनाहरुमा खासगरी दिगो विकास, वातावरण, सशक्तिकरण, जनसहभागिता, महिलाविकास लगायतका गरीबी निवारणका क्षेत्रलाई परिचालन गर्ने र गैरसरकारी क्षेत्रको विकास, समन्वय र एकीकरणका लागि सजिलो वातावरणको निमार्ण गर्ने नीति रहेको पाइन्छ । नेपालमा एन.जि.ओ. केन्द्रित विकासको रणनीति सफल भएको पाईएन । हालका योजनाहरुमा विकासका नीति तथा कार्याक्रमहरु औपचारीक र अर्थहिन झैं एन.जि.ओले पारेको देखिन्छ । वर्तमान समयमा भने गैरसरकारी संस्थाले गरेको विकास हो कि ब्यापार भन्नेमा दुविधा रहेको छ ।
यहाँ गैरसरकारी संस्थाहरुको आवश्यकता तथा महत्व छ । तापनि, सबै गैरसरकारी संस्थाहरुका क्रियाकलापबाट विकास सन्तोषजनक हुन सकेको छैन । त्यसैले कस्ता गैरसरकारी संस्थाहरुको आवश्यकता हो ? कस्ता गैरसरकारी संस्थाहरुले काम गरिराखेका छन् ? र, के कति गैरसरकारी संस्था विकासमा सहयोगी वनेका छन । यसबारे समिक्षा र मुल्याकंन हुनुपर्दछ । सहभागिता, सशक्तिकरण, सामाजिक संगठन, सामुदायिक ज्ञान र पद्धतिलाई प्रत्येक विकासका आधारभुत पक्षहरु हुन भन्ने मान्यतालाई गैरसरकारी संस्था संचालकले बुझ्नुपर्दछ । यसो नहुदा गैरसरकारी संस्था कमाउने भाँडो बनाएका छन् । जसबाट राजनीतिक अभिष्ट पुरा गरिरहेका छन् । पैसाको विकास, गरिबीको ब्यापार, परनिर्भर, पक्षपात, डलरको खेती, सेवा भन्दा मेवा, प्रभुत्व लाद्ने प्रवृति, समुदायबाट अलग आदिको अवस्थाहरु समाजमा दिन प्रतिदिन बढ्दै गई विकृतिहरु ब्ढिरहनुले गैरसरकारी संस्थाका प्रत्येक कार्यमा सचेत र चनाखो हुनुपर्ने देखिन्छ । कयौं विदेशी गैरसरकारी संस्थाहरु धर्म प्रचार, भाषा प्रचार, विचार प्रचार गर्न तल्लिन छन् । यसबाट समाजमा अनेक विकृति जन्मिएका छन् । तसर्थ, यस्तो अवस्था नल्याउन गैरसरकारी संस्था ज्ञानको दियो बनेर समुदायमा पस्नुपर्दछ, विकास गरेर समाज बदल्नुपर्दछ र सेवागत भावानाले हरेक कार्य गर्नुपर्दछ । यसबाट राज्यलाई विकासका लागि परेको बोझ घट्ने सम्बन्धमा कुनै शंका छैन ।
गैरसरकारी संस्थाहरु कि त सरकारी सहयोगमा चलेका हुन्छन् कि त कुनै अन्तराष्ट्रिय गैरसरकारी संस्थासंग कार्यगत समन्वय गरेर चलेका हुन्छन् । यस अवस्थामा यीनले गर्ने काम कार्यवाही कसरी दिगो हुन सक्लान् ? र आफ्नो आदर्श र उद्देश्य बमोजिम स्वतन्त्ररुपले कार्य कसरी गर्लान ? भन्ने चुनौति पनि छ । यसका सबल पक्षहरु जस्तो सेवा प्रदान, पारदर्शिता, जनसहभागिता, सशक्तिकरण, उतरदायित्व, स्पष्ट दृष्टिकोण, कम कर्मचारीतन्त्र, प्रतिबद्धता, लागत प्रभावी, जनआवश्यकताप्रति झुकाव, काममा व्यवसायिकता, स्थानिय स्रोतको परिचालन, सरल पहुँच आदिले गर्दा गैरसरकारी संस्थाबाट विकासका सम्भावनाका ढोकाहरु खुल्छन र विकासका प्याकेज कार्यक्रमहरु संचालन हुन्छन । यसरी विकासका लागि गैरसरकारी संस्था सरकारको महत्वपुर्ण साझेदारी बन्न सक्छ । तर, गैरसरकारी संस्थाका दुर्वल पक्षका रुपमा रहेका दातामुखी, अनुदानमुखी, विचार थोपर्ने, परनिर्भरता, आर्थिक विसंगति, अनावश्यक आकांक्षा बृद्धि, काममा निरन्तरताको अभाव, अभ्यासस्थल बनाउने , भ्रष्ट बनाउने, देखासिकी सिकाउने प्रवृति आदिले गर्दा यसको सम्भावनाका ढोका बन्द हुनेछन् । विकासको नाममा भएका गतिविधिहरुले जनतालाई राहत होईन गरीवीको ब्यापार बढाउनेछ । जनसाधरण माझ गैरसरकारी संस्था विकासका लागि नभएर स्वदेशी विदेशी स्रोतको उपयोग गर्ने दर्ता भएका संस्थाको रुपमा चिनिने छन् ।
गैरसरकारी संस्था विकासका लागि वैकल्पिक रणनीति हुन् । गैरसरकारी संस्था यहाँको लागि कति प्रत्युत्पादक हुन सक्छन् भन्ने उदाहरण यहाँका एन.जि.ओ, आई.एन.जी.ओका क्रियाकलापहरुले देखाई सकेकोछ । यिनको शिक्षा, स्वास्थ्य, रोजगार, कृषि, आयआर्जन, पुर्वाधार, मानवअधिकार आदि क्षेत्रमा भएको लगानी कति प्रभावकारी भएको छ । त्यो त जनताको जीवनस्तर र गाउँ ठाउँको अवस्थाले झल्काएको छ । यिनीहरुको सुसंगठन, व्यवस्थापन तथा नियन्त्रणका लागि केही देशमा गैर सरकारी संस्थाहरुकै मन्त्रालय समेत गठन गरिएको छ । तर, यहाँ यिनीहरुको मनपरीतन्त्र, विकृति, विसंगति रोक्न सरकारले समयमा नै प्रक्रिया र पहल अगाडि बढाउनुपर्दछ । जनताको चाहाना अनुसारको विकासको थालनी गर्न अहिले भइरहेको व्यापारलाई रोक्नुपर्दछ । यसको नीति, कार्यक्रम र बजेट खुला पारदर्शी हुनुपर्दछ । गैरसरकारी संस्था सञ्चालकले आदर्श र उद्देश्य अनुरुप सञ्चालन गरे वास्तवमा यिनको महत्वपुर्ण उपलब्धि हुन सक्छ । नत्रभने, एन.जी.ओले गरेको विकास होइन व्यापार ठहरिनेछ । गाउँ ठाउँमा यसले गरेको गरीवीको व्यापार मौलाउनेछ र परनिर्भरता बढाउनेछ । वास्तवमा एन.जि.ओले गरेको विकास होईन व्यापार नै सावित हुनेछ ।

    लेखक मानसरवर बहुमुखी क्याम्पस हुम्लाका क्याम्पस प्रमुख हुनुहुन्छ

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७