१६ चैत्र २०८०, शुक्रबार

यहाँ नेता भन्दा नेतृत्वको खाँचो

Khabarsabaiko शनिबार, जेठ ११, २०७६

– बसन्त रोकाया

अहिले बिकास र नेता पर्यावाची झै छन । कुनै पनि व्यक्ति जसले कुनै समूह, समुदाय वा कुनै एउटा निश्चित भौगोलिक वैचारिक वा सामुदायिक समूहको अगुवाई गर्छ, त्यसलाई नेता भनिन्छ । त्यसैले नेता एउटा कुनै छुट्टै अस्तित्व भएको वा स्वतन्त्र सत्ता भएको मानिस वा व्यक्ति हो । कुनै पनि नेताले आफूले काम गर्ने कार्यशैली आफ्नै प्रकारले अपनाएको हुन्छ । यसरी नेताले आफुले काम गर्न अपनाईएको कार्यशैली वा आफुले अगुवाईका लागि खेल्ने भूमिका नै वास्तवमा नेतृत्व हो । तसर्थ, बिकासमा नेता होईन नेतृत्व चाहिन्छ ।

सफल नेताले आफ्ना प्रत्येक कामलाई समग्रता मध्येको एक भागका रुपमा एवं प्राकृतिक सिद्धान्तका आधारमा हेर्ने गर्छन् । यसैको आधारमा उनीहरुले आफुले काम गर्ने शैली अपनाएका हुन्छन् । यसैले प्रत्येक नेताले प्रायः काम गर्ने शैली अपनाउदा समय, परिस्थिति, समुदायका व्यक्तिको स्तर, चाहना आदिमा निर्भर भएर आफ्नो कार्य गरेका हुन्छन् । संगठन, गाउँ, समाज र समग्र राष्ट्रको परिवर्तनको लागि कुशल नेतृत्वको आवश्यकता पर्दछ । सबै व्यक्ति समय, आर्थिक अवस्था, व्यवसाय, संचार, रुची, विचार, खुबी आदिका आधारमा आफुलाई अरुको अगुवाई गर्ने कामका लागि असफल, अयोग्य, असक्षम हुनसक्छ । यसैले कुनै पनि कार्यलाई अगाडि बढाउन, कार्यलाई सफल बनाउन वा विकास निर्माण आदिका कार्यमा सफल हुन समूह, समुदाय वा वर्गलाई सक्षम नेतृत्वको आवश्यकता हुन्छ । जब कुनै पनि संगठन तथा देशमा समस्या पर्दछ । जब संगठन तथा देश समस्याको समाधानको खोजीमा रहेको हुन्छ, तब नेतृत्वको आवश्यकता महसुस भइरहेको हुन्छ । त्यही प्रसब पीडा बाट कुनै संगठन र देशलाई नेतृत्वले मुक्त गर्छ, त्यो नेतृत्वलाई सबैले मान्छन् । त्यो नेतृत्वको विरासत  Legacy मृत्युपर्यन्त पनि इतिहाँसमा लिपिबद्ध भएर भावी पुस्तालाई झकझक्याइरहन्छ । उसले गरेका बिकासका कार्यहरुले सम्झाईरहन्छ ।

इतिहाँसमा विरासत छोड्ने कार्य गर्ने नेतामा विशेष खालका आफ्ना छवि झल्कने खुबीहरु हुन जरुरी छ । खुवीले समाज र कार्यकर्ता तथा जनतालाई आफ्नै खालको छाप छोड्ने गर्दछ । नेताको नेतृत्व तिखार्ने कुरा उसको विशेष खालको खुबीमा निर्भर रहन्छ । नेतामा विशेष गरेर आफ्ना व्यक्तिगत खुबीहरु विभिन्न हुन सक्छन् । यस्ता खुबी पनि समय र परिस्थिति अनुसार भिन्न भिन्न हुन सक्छन् । पुराना मान्यता अनुसार मानिसहरु कुनै एक नेतामा हुनु पर्ने खुबीहरु भनेर एउटा नेतामा आफैले सबै कुरा थाहा पाएको , सबै निर्णय आफैले दिन सक्ने , सबैलाई निर्देशन दिन सक्ने आदि कुराहरुलाई मान्थे ।

अहिलेको अवस्थालाइ केलाउदा नेपालमा अरुको सहि निर्णयमा भाँजो हाल्न सक्ने, बिकासलाई भागबन्डा गर्न सक्ने, कार्यकर्तालाई साँढे जस्तै उतार्न सक्ने, गाउँ समाजमा आफ्नो हैकम जमाउन सक्ने, कार्यकतालाई जागीर दिन सक्ने ,झुटो बोल्न सक्ने, भ्रममा राख्न सक्ने , भाषा चिप्लो र भाषण खरो गर्न सक्ने क्षमतालाई नेताको खुबी भनेर बुझ्ने गरिन्छ । तर, आजको परिवर्तित समयको समाजमा नेताको पहिचान र भूमिका पनि फरक भइसकेको छ । त्यसैले आजको परिवर्तित समाजमा कुनै एक सफल नेतामा हुनुपर्ने खुबीहरुमा स्थिति बुझ्न सक्ने, बिभिन्न मानिसलाई सँगै, एकै ठाउँमा ल्याउन सक्ने, समय, परिस्थिति, वातावरण, बाह्य परिवेश आदि हेरेर उपर्युक्त निर्णय दिन सक्ने, समय परिस्थिति हेरेर आफ्ना अनुयायीहरुलाई आवश्यकता अनुसारको निर्देशन दिन सक्ने, फरक फरक बिचारधारा बीच पनि समझदारी बनाउन सक्ने, समस्याको स्थिति बुझेर समाधानको उपाय खोज्न सक्न, सबै व्यक्तिको क्षमता र खुबीको आधारमा नयाँ बिकल्पको खोजी गर्न सक्ने, बिभिन्न विवादास्पद विचार सुन्न सक्ने, बिभिन्न फरक विचार सुनी स्पष्ट र उचित निर्णय गर्न सक्ने, मानवीय पक्ष बुझ्न सक्ने , अनुयायीलाई उत्साहीत गर्न सक्ने , स्यावासी, हौसला बढावा दिन सक्ने , प्रभावकारी संचार गर्न सक्ने , आफूलाई नियन्त्रण गर्न सक्ने आदि हुनुपर्दछ ।नेतामा हुनुपर्ने खुबी सँगै उसमा निहित गुणहरुले पनि उसको नेतृत्व कुन दिशा तिर गइरहेको छ भनेर दर्शाउछ । उसको नेतृत्व समाज र राष्ट्रको लागि सफल हुन्छ कि हुदैन भनेर नेतामा भएका गुणहरुले निक्र्योल गर्दछन् । विशेष गुण विनाको नेता विष विनाको सर्प जस्तै निष्काम हुन्छ । स्पष्ट लक्ष्य, स्पष्टवक्ता, सकरात्मक दृष्टिकोण, अनुशासित, सबैमा समान दृष्टिकोण राख्ने, च्रित्रवान, प्रभावकारी विचार, सहनशील, सफासुग्घर, नम्र, शिष्ट, आशावादी, मेहनती, प्रेरणादायी, क्रियाशील, स्वावलम्बी, हंशमुख, परोपकारी, सन्तोषी, सचेत, लगनशील, दूरदर्शी, निर्णय गर्न सक्ने, जिम्मेवारी लिन सक्ने, राम्रो कुरा सिक्न वा लिन चाहने, सहयोगी, आत्मविश्वासी, इमान्दारी, निश्वार्थ, समाजसेवी, प्रतिबद्ध, लोभ नगर्ने, विवेकी, नैतिक, अरुको भावनाको सम्मान र कदर गर्न सक्ने, अनुभवी, मिलनसार, समयको ख्याल राख्ने, सम्पर्क वा समन्वय गर्ने खुबी भएको, आत्म मूल्यांकन गर्न सक्ने, आत्मालोचना गर्ने, तार्किक, जागरिलो, सिर्जनशिल, विश्लेषक, दयालु, आँटिलो, शिक्षा दिन सक्ने जस्ता गुणहरु एउटा नेतामा हुन जरुरी छ ।
यी गुणहरु विनाको नेतृत्व निष्कामी, निष्प्रभावी र चलचित्रको भाषामा भन्नु पर्दा भिलेन हुन जान्छ । अन्याय, अराजकता र असमानताको पक्षपाती हुन जान्छ । अनि नैतिकता विनाको समाज र कानुन विनाको देश बन्न पुग्छ । यी गुणहरु विनाका हाम्रा केन्द्रिय नेताहरुको परिणामस्वरुप नेपाल भन्ने देश अधोगति तिर लागिरहेको छ । समाज अराजक समूह बनेर बसिरहेको छ । विकास भन्दा विकृती बढीराखेको छ । विस्थापनको राजनीतिले ठाउँ लिएको छ । एक अर्काको अस्तित्व स्वीकार्न गाह्रो परेको छ । त्यसैले , कुशल नेतृत्वको परिचय दिएर आफनो गाउँ , ठाउँ र समग्र देशमा आफ्नो विरासत छोड्न विभिन्न सकरात्मक गुणहरुले भरिपूर्ण हुन र काम गर्न जरुरी छ । जागिर झै नेता बन्न होइन बिकासको लागि नेतृत्व गर्न आवश्यक छ । यहाँ नेता भन्दा नेतृत्वको खाँचो छ ।

यहाँ कमेन्ट गर्नुहोस्