१६ चैत्र २०८०, शुक्रबार

दाङमा बार्षिक ७ हजार मेट्रिकटन तरकारी अन्य जिल्लाबाट आयात

Khabarsabaiko शुक्रबार, साउन १०, २०७६

दाङ्, तुलसीपुर
दाङमा अहिले एक्कासी तरकारीको मूल्य आकाशिएको छ । जसको प्रभाव विशेष गरी सर्वसाधारण उपभोक्तालाई परेको छ । विगत केही समयदेखि तरकारीको मूल्यमा दोब्बरले वुद्धि हुदा उपभोक्ताहरु मर्कामा परेका छन् । भारतबाट आयात हुने तरकारी विषादी परिक्षणको नाममा नाकामै रोकिने र स्थानिय तरकारीको उत्पादनमा कमी भएकाले तरकारीको भाउ बढेको तरकारी व्यवस्थापन समितिको भनाई छ । गतसातादेखि तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा आफू र आफू जस्ता सर्वसाधारण उपभोक्ता मारमा परेको तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरका देव प्रसाद सुवेदीले बताउनु भयो । उहाँले भन्नुभयो, यसरी एकाएक तरकारीको भाउ बढेपछि हामी उपभोक्ता मर्कामा पर्ने भएकाले सरोकार वाला निकाय तथा सरकारले नै यसमा विशेष ध्यान दिनुपर्ने आवश्यक छ ।

यस्तै तुलसीपुर उपमहानगरपालिका ६ रजौराकी गृहणी प्रमिला चौधरी पनि तरकारीको मूल्य बढेदेखि आफू चिन्तित भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, यस्तै हो भने त अब तरकारी पनि खान नसकिने दिन लआउँला भन्न सकिदैन । उहाँ चिन्तित हुँदै भन्नुभयो, दिनदिनै महंगी वढेकोवढ्यै छ , २ दिन पुग्ने पैसाले आजभोली एक छाक तरकारी पनि आउँदैन ।कसरी हुन्छ रुअहिले ३ तहको सरकार बन्यो यही हामी जनतालाई मारमा पार्नलाई रहेछ हामी गरिव दुःखीको दिन कहिल्यै आउँदैन उहाँ दुःखी हुँदै भन्नुभयो ।

अहिले तरकारीको मूल्यमा ५० प्रतिशत वृद्धि भएको तरकारी वजार व्यवस्थापन समिति तुलसीपुरका अध्यक्ष झुपलाल खड्काले जानकारी दिनुभयो । उनका अनुसार तुलसीपुर वजारमा दैनिक लगभग १० टन तरकारीको आवश्यकता पर्छ तर अहिले जिल्लामा भने जति तरकारीको उत्पादन छैन । जिल्लामा वर्षा सुरु भएसंगै तरकारी उत्पादनमा कमी आएको हो, उहाँले भन्नुभयो । तुलसीपुर क्षेत्रमा तरकारीका फुटकर पसलको संख्या धेरै भए पनि होलसेल पसलहरु १५ र १६ वटा मात्र भएको खड्काले जानकारी दिनुभयो । विगतका वर्षहरुमा प्रति केजी ३० । ४० रुपैया पर्ने तरकारी आजभोली एक सयदेखि २०० सम्म पर्छ । म पनि तरकारी व्यावसायी गर्छु , मलाई पनि खरिद गर्नुपर्छ त्यही अनुसार विक्री पनि गर्नु पर्छ, उपभोक्तालाई सस्तोमा दिए हामीलाई पनि घाटा हुन्छ उहाँले भन्नुभयो । उहाँका अनुसार विशेष गरी आजभोली वर्षाको समय भएकाले स्थानिय तरकारी उत्पादनमा कमी भएको हुँदा तरकारीको मूल्य एक्कासी आकाशिएको हो ।

प्रति केजि ५० रुपैयाँ पर्ने काउलीको मूल्य खुद्रामा १ सय २० र होलसेलमा १०० भएको छ । यस्तै बोडीको मूल्यमा पनि एक्कासी आकाशिएको छ । प्रतिकेजि रु १०० पर्ने बोडीको मूल्य रु २०० भएको छ । खुर्सानी प्रतिकेजि रु १ सय ५०, करेला प्रतिकेजि रु १ सय ५०, प्याज प्रतिकेजि रु ५०, अदुवा प्रतिकेजी रु २ सय ५०, सिमी प्रतिकेजि १ सय ५० देखि १ सय ७० रुपैयाँ भएको बताउनुभयो । अहिले असारको अन्तिम र साउनको पहिलो सातामा मनसुन सुरु भएको र वर्षातको समय भएकाले तरकारी ल्याउने वाटो कतै अवरुद्ध हुने कतै विग्रिने हिलाम्मे हुने समयमा तरकारी आयात हुन नसक्ने हुँदा अभाव भएकाले तरकारीको भाउ बढेको उहाँको भनाई छ ।

दाङमा वर्षात सुरु भयो बेमौसमी तरकारीहरु रोपेको ठाउँमा धान रोप्नु पर्ने भएकाले पनि तरकारीको कमी भएको हो उहाँले भन्नुभयो । तरकारी खानैपर्ने तरकारी नभईनहुने भएकाले तरकारीको आवश्यकता वढी तर उत्पादनमा कमी भएकाले यस्तोे समस्या सिर्जना भएको हो ।
आफूले तरकारी व्यावसायको क्षेत्रमा काम गर्न थालेको २० बर्ष बिताउनु भएको खड्काले स्वयम् आफूले पनि तरकारी व्यवसाय गर्दै आइरहेको बताउँदै अहिले सम्म कहिँकतैबाट तुलसीपुर क्षेत्रमा तरकारी कति आवश्यक पर्छ भनेर अनुगमन गरेर के कति तरकारी भए यो क्षेत्रका लागि प्रयाप्त हुन्छ भन्ने बारे कृषिसँग सम्वन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो । साथै अनुगमन गरी तथ्यांक बनाएर त्यही अनुसार तरकारीको व्यवसाय गर्न सके तरकारी कृषक, तरकारी व्यवसायी र उपभोक्ता सबैलाई राम्रो हुने थियो, उहाँले भन्नुभयो ।

दाङमा चाहिने जति तरकारी उत्पादन हुन नसकिएको कृषि ज्ञान केन्द्र दाङका प्रमुख कृष्ण बहादुर बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा बार्षिक रुपमा ६३ हजार मेट्रिकटन तरकारी आवश्यक पर्नेमा ५६ हजार मेट्रिकटन तरकारी मात्र उत्पादन हुन्छ । ७ हजार मेट्रिकटन तरकारी वाहिर जिल्लाबाट आउने गरेको प्रमुख बस्नेतले बताउनुभयो । स्वास्थ्यको हिसावमा प्रतिव्यक्ति दैनिक २ सय ७५ ग्राम तरकारी आवश्यक पर्ने हुनाले जिल्लाको जनसंख्याको आधारमा स्थानिय तरकारी उत्पादनमा कमी भएको कारण तरकारीको भाउ महंगो भएको उहाँको भनाई छ । उहाँका अनुसार दाङमा सल्यानको कपुरकोट ,रोल्पाको त्रिवेणी र चितवनबाट तरकारी आयात हुन्छ । दाङमा सिचाइको अभावले गर्दा चाहिने जति तरकारी उत्पादन हुन नसकिएको प्रमुख वस्नेतले बताउनुभयो । प्रमुख वस्नेतले भन्नुभयोे, दाङमा तरकारी खेतीका लागि मुख्य समस्या भनेको सिचाईको अभाव हो, तरकारी खेतीका लागि चाहिए जति सिचाई योग्य जमिन छैन त्यसैले जिल्लाको तरकारीले पुग्दैन अनि वाहिरी जिल्लाबाट ल्याउनु पर्छ । बसन्ते तरकारी सकिएको र बर्षे तरकारी भर्खर रोप्न सुरु भएकाले अभाव भएको र मूल्यमा वृद्धि भएको छ, भारतबाट पनि तरकारी केही मात्रामा आउने र अहिले भने विषादी परिक्षण गर्ने भनेर रोकिएका कारण पनि यस्तो भएको हो, उहाँले भन्नुभयो ।

दाङमा तरकारी खेतीको लागि जम्मा ३० प्रतिशत जग्गामा मात्रै सिचाईको व्यवस्था छ , यहाँ सिचाईको अभाव छ , अरु जिल्लाको तरकारीको भरमा बस्नुपर्ने हुँदा बाहिरबाट आएन भने समस्या हुन्छ प्रमुख वस्नेतले भन्नुभयो । जिल्लामा व्यावसायिक रुपमा तरकारी खेती गर्ने कृषकहरुको संख्या कमी छ । अव व्यावसायिक तरकारी खेतीमा आकर्षण गर्नका लागि कृषि ज्ञान केन्द्र दाङले प्रविधिको आवश्यक पर्ने हुनाले प्रविधिको प्रचारप्रसार गर्ने र विभिन्न किसिमको अनुदान दिने गरेर सहयोग गरिरहेको जानकारी दिनुभयो । स्थानिय कृषकहरुले उत्पादन गरेको तरकारी वजारीकरणका लागि सम्पर्क केन्द्रहरु निर्माण गर्ने योजना समेत रहेको बताउनु भयो । यसैविच नेपालगञ्ज भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०७४÷०७५ मा सवा अर्ब रुपियाँको तरकारी भित्रिएकोमा आर्थिक वर्ष २०७५÷७६ मा सवा दुई अर्ब रुपियाँको तरकारी नेपालगञ्ज भित्रिएको छ ।

नेपालगञ्ज भएर भित्रिने भारतीय तरकारी प्रदेश ५ सहित सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लासम्म पुग्ने गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्