१६ चैत्र २०८०, शुक्रबार

आज नागपञ्चमी

Khabarsabaiko सोमबार, साउन २०, २०७६

काठमाडौं

श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नागपञ्चमी मनाउने गरिने परम्परा रहेको छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको आजकै दिन पूजाआराधना गरिन्छ ।

नागपञ्चमीका दिन घरघरमा नागको तस्वीर टाँसी विधिपूर्वक पूजाआजा गरिँदैछ । नेपाली समाजमा नागलाई देवता मानेर सम्मान गरिनुका साथै कतिपय जलाशयमा नागपूजा गर्नेहरुको मेला समेत लाग्ने गर्दछ ।

आजका दिन सबै जसो नेपालीको घरमा नागको चित्र ढोकामाथि टाँसेर दुईतिर कपासको पिउरी सजाई नाग पूजा गरिन्छ । घरमा नाग पूजा गर्दा दूधदही, अक्षता, दुबो, लावा फलफूल चढाई दूध वा खीरको नैवेद्य लगाउने चलन छ । यसरी नागको पूजा गर्नाले घरमा चट्याङ वज्रपात नपर्ने, अग्निभय, सर्पदंसको डर नहुने र शरीरमा रोगव्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ ।

नागपूजा गरेपछि नागपञ्चमीका दिन खेतबारीमा खनजोत गर्नु हुँदैन भन्ने गरिन्छ । खनजोत गरेमा जमिनमुनि बसेका नाग काटिनसक्ने र त्यसो भएमा पाप लाग्ने बताइन्छ । नागको नेपाली समाजमा नागपञ्चमीदेखि हिउँदे प्रभाव देखिने र श्रीपञ्चमीदेखि वर्षे याम सुरु हुने मान्छि ।

नागपञ्चमीका दिन काठमाडौको केन्द्रस्थलमा पर्ने नक्साल नागपोखरीमा नागको विशेष पूजाआजा गरिन्छ । पोखरीको बीचमा रहेको नागको अग्लो प्रतिमामा नयाँ वस्त्र पहिराई शिरबाट दूधले नुहाइदिएर विधिपूर्वक नागको पूजा गर्ने परम्परा छ । यहाँ नागपञ्चमीका दिन नागपूजा गर्नेको मेला नै लाग्ने गर्दछ ।

यस्तै काठमाडौकै कीर्तिपुर नगरपालिकामा पर्ने चोभार तल रहेको टौदहमा पनि नाग पञ्चमीमा नागपूजा गर्नेको भीड लाग्छ । दहको दक्षिणतिर रहेको धारामा स्नान गरी नजिकै रहेको नाग प्रतिमामा नाग पूजा गरिन्छ । यो दह नागराज कर्कोटकको निवास मानिन्छ । पाटनमा मत्स्येन्द्रनाथको रथयात्रा गर्ने बेलामा यहाँ नागलाई विधिपूर्वक निमन्त्रणा गर्ने चलन छ ।

यसै गरी ललितपुरको धापाखेलस्थित नागदहमा पनि नागपञ्चमीमा नागपूजा गर्नेको भीड नै लाग्दछ । यस दहमा वासुकि नाग निवास गर्ने बताइन्छ । दहको उत्तरपट्टि जलमाथि वासकि नागको मन्दिर पनि बनाइएको छ । दहको पश्चिमी किनारमा पनि एउटा मन्दिर बनाइएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्