१६ चैत्र २०८०, शुक्रबार

हुम्लामा साउनपुर्णिमाको रौनक

Khabarsabaiko बिहिबार, साउन ३०, २०७६

हुम्ला
हुम्लाका स्थानिय यतिखेर धामी नचाउदै साउनपुर्णी नामको जात्रा मनाउन व्यस्त रहेका छन् । त्रियादसीबाट सुरु हुने यो जात्रा झण्डै एक सातासम्म चल्ने भएको छ । धामी झाँक्रि प्रति अति विशवास राख्ने स्थानियले देवतालाई खुसी पार्न जात्रा मनाउने परम्परालाई पछ्याउदै प्रति वर्ष साउन पुर्णीमाको धामीलाई नचाउदै जात्रा मनाउने गरिएको हो ।

केही वर्ष अगाडी चार दिनमात्र चल्ने परम्परा तोड्दै गएको भएता पनि केहि वर्ष यता धामी नाच सकिए लगतै देउडा नाच गररेर झण्डै एक साता मनाउने चलन बसेको छ । त्रियादसीका दिन मष्टो देवताको पुजा गरी धामी नचाएर जात्रा मनाउन सुरु गरेपछि चतुर्दसीका दिन कालासिल्ता देवताको मन्दिरमा स्थानिय व्यक्तिहरु जम्मा भएर देवताको पुजा गर्नुका साथै धामीले पालैपालो नाच्दै रमाइलो गर्ने प्रचलन रहेको छ ।

तेश्रो पुर्णीमाको दिन बाडपाल नामको देवताको मन्दिरमा पुजाआजा गर्नुका साथै धामीको नाच समेत हुने गर्दछ । दमाहाका तालामा नाचेका धामी मध्य कुनैकुनैले नाच्दा नाच्दै अत्भुत शक्ती प्रदर्शन समेत गर्ने गर्दछन् । शक्ती प्रदर्शनको क्रममा अक्षताबाट हातमै अविर, ल्वाङ्ग सुकमेल, भिगुत (सेतो पिठो जस्तो वस्तु) निकाल्ने हातमै जमरा उमार्ने, फलामको त्रिसुल भाच्ने, पुरी पकाउदै गरेको भाँडामा हात हालेर तेल पिउने जस्ता शक्ती देखाउने गर्दछन् ।

यसबाट स्थानियलाई देवता प्रति विशवास जगाउन ठूलो मद्दत पुग्दछ , जात्रामा छिमेकी र नातेदारलाई निम्तो दिएर वोलाई मिष्ठान्न भोजन गराउने परम्परा समेत रहेकोछ । दुवै दिनमा भक्तजनले धामीको नाच पछि धामीले व्यक्त गर्ने वाणी सुनेर आफु अनुकुल विन्तीभाउ गर्ने गर्दछन् । जात्राको समयमा देवताका नाममा भक्तजनले माडुमा वली चढाउने चलन ठूलो मात्रामा देखिने गरेको छ ।

भक्तजनले वलीका लागि दिने बोका पुजारीले हलाहल गरी वली चढाउछन् । वलीका रुपमा चिनिया च्याङग्राको पाठो ( रिउ ) चढाउने चलन छ । जात्राका दिन वेलुका युवायुवतीले देउडा गाएर नाचेर मनोरन्जन गर्ने गर्दछन् । मनोरन्जनका अन्य कुनै माध्यम नभएको यो जिल्लामा देउडा नाच प्रचलित छ । धामी नाच सकिएपनि देउडाका पारखीलाई मध्यनजर राखी पुर्णीपछि पनि तिनदिन सम्म खुला देउडा नाच हुने गरेको छ । यसरी खुला देउडा नाचको प्रचलन पुरानो परम्परा नभएपनि केहि वर्ष यता सुरु भएको हो । जात्रा हेर्न र देउडा नाचेर रामाइलो तथा मनोरन्जन गर्न छिमेकी गाउबाट समेत युवायुवतीको ठूलो घुइचो लाग्ने गर्दछ । लुकी छिपी देउडा गाउने र नाच्ने चलन हटाउदै स्थानिय खुला ठाउँमा महिला पुरुष भेला भएर देउडाको भरपुर आनन्द लिने चलन रहेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्