१६ चैत्र २०८०, शुक्रबार

प्रदेश दुईको राजधानी टुङ्गोः संसदीय विशेष समितिमा सहमतिभए जनकपुरधाम राजधानी हुने

Khabarsabaiko सोमबार, माघ १३, २०७६

प्रदेश दुईको नामाकरण र राजधानी टुङ्गो लगाउने विषयमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित संसदीय विशेष समितिले जनकपुरधामलाई नै स्थायी राजधानी तोक्ने सहमति गरेको छ। संसदीय विशेष समितिमा राजधानीको विषयमा सहमति भएपछि जनकपुरधाम नै राजधानी हुने लगभग पक्का भएको हो।

अहिलेको अस्थायी राजधानी जनकपुरधामलाई नै स्थायी कायम गर्ने निर्णयमा सर्वसम्मति भएको समितिका संयोजक समेत रहेका सभामुख सरोजकुमार यादवले जानकारी दिए। समितिले टुंगो लगाएको राजधानी जनकपुरधाम प्रदेशसभाले दुई तिहाई बहुमतले पारित गरेपछि औपचारिक पारित हुनेछ।

यो संगै समितिले प्रदेश राजधानीको सीमा समेत टुंगो लगाएको छ। जसमा ‘उत्तरमा धनुषाको मिथिला नगरपालिकाको ढल्केवर, दक्षिणमा भारतको अन्तर्राष्ट्रिय सीमा तथा पूर्व र पश्चिमतर्फ मिथिला माध्यमिक परिक्रमा क्षेत्रसम्म राजधानीको सिमाना तोक्ने सहमति भएको सभामुखले जानकारी दिए।

विभिन्न दलका प्रस्तावक तथा समर्थक, प्रस्तावका संशोधनकर्ता समेतलाई बोलाएर छलफल गरी उक्त निर्णयमा पुगेको सभामुख यादवले बताए। पारित भएको प्रस्ताव नेकपा, समाजवादी र राजपाले दर्ता गरेका थिए भने नेपाली कांग्रेसले जनकपुरधाम उपमहानगरपालिकाभित्र राजधानी हुनुपर्ने प्रस्ताव गरेको थियो।समितिमा उपसभामुख उपमा देव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, प्रदेशसभा सदस्य रामकुमार यादव, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव र प्रदेशसभा सदस्य नरेश यादव, समाजवादी पार्टीका प्रमुख सचेतक शैलेन्द्रकुमार यादव र संसदीय दलका उपनेता रामआशिष यादव, राजपा नेपालका प्रमुख सचेतक परमेश्वर साह र प्रदेशसभा सदस्य रानी शर्मा तिवारी तथा नेपाल संघीय समाजवादीकी प्रदेशसभा सदस्य सावित्रीदेवी साह सदस्य छन्।

प्रदेशको राजाधानी र नाम सम्बन्धमा प्रदेश सभामा भदौ ५ गते राजनीतिक दलहरुले प्रस्ताव दर्ता गराएका थिए। प्रस्ताव दर्ता भएपछि प्रदेश सभाको बैठकबाट नै सभामुख यादवको संयोजकत्वमा ११ सदस्यीय विशेष समिति गठन गरिएको थियो।

 

 

यहाँ कमेन्ट गर्नुहोस्