१६ चैत्र २०८०, शुक्रबार

हुम्लाको ताजाँकोट गाउँपालिकाले कोरोना परीक्षणका लागिआफै स्वाब संकलन गर्ने भएको छ ।

Khabarsabaiko बिहिबार, जेठ २९, २०७७

हुम्लाको ताजाँकोट गाउँपालिकाले आफैँ किट खरिद गरी कोरोना परीक्षणका लागि आफैँ स्वाब संकलन गर्ने भएको छ ।

स्वास्थ्य परीक्षणविना गाउँपालिका प्रवेश गरेका नागरिकलाई कोरोना परीक्षण गर्न गाउँपालिका आफैँ जुटेको हो ।जिल्लामा स्थानीय स्तरबाटै भिटिएम खरिद गरी स्थानीयको स्वाब संकलन गर्ने यो गाउँपालिका पहिलो हो ।

जिल्लामा किट अभाव हुँदा कोरोना परीक्षण प्रभावित भएको वेला ताजाँकोेट गाउँपालिकाले आफैँ भिटिएम खरिद गरी आफैँ स्वाब संकलन गर्न थालेको जनाएको छ ।

ताजाँकोट गाउँपालिकाले पाँच सय भिटिएम र दुई सय आरडिटी किट खरिद गरी परीक्षण तीव्र पारेको जनाएको छ ।

गाउँपालिकाको ६ वटै क्वारेन्टाइनमा राखिएका नागरिकको शुक्रबारबाट स्वाब संकलन कार्य सुरु गर्ने गरी सबै तयारी पूरा भएको गाउँपालिकाका अध्यक्ष बाग्दल मल्लले जानकारी दिए ।

जिल्लाबाहिरबाट स्वास्थ्य परीक्षण नगरी गाउँपालिकाका बासिन्दा भित्रिएपछि त्यसले महामारीको रूप लिन सक्ने भन्दै आफैँ परीक्षणको प्रक्रियामा जुटेको अध्यक्ष मल्लले बताए ।

जिल्लाबाहिरबाट स्वास्थ्य परीक्षण नगरी गाउँपालिका प्रवेश गरेका एक सय ३३ जना र स्वास्थ्यकर्मी, होटेल व्यवसायी गरी झन्डै तीन सयजनाको पिसिआर विधिबाट कोरोना भाइरस परीक्षण गर्ने उनले बताए ।

बाहिरी भागबाट गाउँपालिकामा आएकाहरूको परीक्षण गरिने गाउँपालिका स्वास्थ्य शाखा संयोजक राजेन्द्र स्याङकुले बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट खटिएका प्रशिक्षक डाक्टर हेमन्त चौधरी, ल्याब असिस्टेन्ट टेकेन्द्र न्यौपानेले स्वाब संकलन गरी गाउँपालिकाकै गाडीबाट परीक्षणका लागि जुम्ला लगिने स्वास्थ्य शाखा संयोजक स्याङकुले बताए ।

कर्णाली प्रदेशका अन्य जिल्लामा कोरोना भाइरसको संक्रमण देखिए पनि हालसम्म हुम्लामा भने कोरोनाको संक्रमण देखिएको छैन ।

यहाँ कमेन्ट गर्नुहोस्