१६ चैत्र २०८०, शुक्रबार

ताजाँकोटका बाढी, पहिरोबाट विस्थापित त्रिपालमा ओत लागेर बसेका छन्

Khabarsabaiko मंगलबार, भाद्र ०२, २०७७

बाढी र पहिरोबाट विस्थापित बनेका ताजाँकोट गाउँपालिकाका कैयौँ परिवार हप्तौँदेखि त्रिपालमा ओत लागेर बसेका छन् । बाढीपहिरोले ओत लाग्ने घर र जायजेथा बगाएपछि उनीले त्रिपालको साहारा लिनुपरेको हो । केही दिनयता भइरहेको अविरल वर्षाका कारण हुम्लाको ताजाँकोट गाउँपालिकामा मात्रै करिब तीन सय परिवार विस्थापित भएको तथ्यांक छ ।
ताजाँकोट गाउँपालिका–२, ३ र ४ नम्बर वडामा मात्रै दर्जनौँ घर भत्किनुका साथै कैयौँ परिवार विस्थापित भएका छन् । यस्तै छप्रेला बजारको घर, होटेल पसल गरी १८ घरधुरी र ताजाँकोट गाउँपालिका कार्यालयसमेत पहिरोको जोखिम रहेको गाउँपालिका उपाध्यक्ष मञ्जु बुढाले बताइन् । बाढी पहिरोले खेतबारीका धान, कोदो, चिनोलगायतका बालीनालीसमेत बगाएको छ ।

 गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्राविधिकको कार्यकक्ष भत्कियो
ताजाँकोट गाउँपालिका अध्यक्ष बाग्दल मल्ल, उपाध्यक्ष मञ्जु बुढा र प्राविधिकको कार्यकक्ष बाढीले भत्काइदिएको छ । गाउँपालिका कार्यालयसमेत उच्चजोखिममा रहेको र अध्यक्ष मल्ल भाडामा बस्दै आएको घरसमेत भत्किएको गाउँपालिकाले जनाएको छ । छप्रेला बजारका होटेल, पसल र घरहरू भत्किएपछि घरधनी विस्थापित भएका छन् । बाढीले उतिसेनी, छप्रेला बजार, भदालदिपु, गल्लावाडा, खर्रा, देउलागैरा, चौतारीवाडा भियालवाडा, काउलामगडालगायत स्थानमा पनि घरहरू भत्काएको उपाध्यक्ष बुढाले बताइन् ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीका अनुसार गाउँपालिका कार्यालयसहित १८ वटा घर पसल, होटेल उच्च जोखिममा छन् । छप्रेला बजारका धनरूप सार्की, जगत शाही, धीरेन्द्र शाही, अदिचन्द्र शाही, गोरख थापा, राजेन्द्र शाही, अच्च शाही, पदमलाल सुनार, डिलबहादुर शाही, मुने थापा, चन्द्र थापा, बले सार्की मनिकण्ठ जैसी, कृष्णा हमाल, मंगल सार्की, कल्पना शाही, अम्मर शाहीलगायतको घर पसल र ताजाँकोट गाउँपालिकाको कार्यालय उच्च जोखिम रहेको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

ताजाँकोट गाउँपालिका– ४ कै उतिसेनी, खर्रो, देउला गैरामा रहेको दलित बस्तीनजिकै पहिरो गएपछि उनीहरू घर छोडेर त्रिपाल टागेर बस्न थालेका छन् । रातभरि परेको वर्षाले गाउँपालिका सबै वडामा क्षति पुऱ्याएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्