१७ आषाढ २०८२, मंगलबार

हुरेन्डेक नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न्

खबरसबैकाे समाचारदाता बिहिबार, आषाढ ०५, २०८२

कालीकोट – मानवअधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालीकोटले जिल्लाको रास्कोट नगरपालिकामा सञ्चालन गरेको सशक्त बालिका परियोजना र महिनावारी स्वच्छता र सरसफाई सुधार परियोजना अन्तर्गत सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

मंगलबार रास्कोटमा आयोजित सो कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधिहरू, सरोकारवाला निकाय, नागरिक समाजका अगुवाहरू, तथा परियोजनाबाट प्रत्यक्ष लाभ लिएका समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले परियोजनाको प्रगति, पारदर्शिता, तथा जवाफदेहिताको मूल्याङ्कन गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी कार्यान्वयनका लागि सुझावहरू प्रस्तुत गरेका थिए ।

सशक्त बालिका परियोजनाले किशोरीहरूलाई सशक्त बनाउन शिक्षा, आत्मविश्वास, र नेतृत्व विकासमा केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको सशक्त बालिका परियोजना संयोजक पदम हमालले बताउनुभयो । त्यस्तै, महिनावारी स्वास्थ्य र सरसफाई सुधार परियोजनाले विद्यालय तथा समुदायमा स्वच्छता, सुरक्षित पिउने पानी, र महिनावारी स्वच्छता सम्बन्धी पूर्वाधार तथा सचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ ।

कार्यक्रमका सहभागीहरूले परियोजनाको प्रत्यक्ष प्रभावको प्रशंसा गर्दै यसले समुदायमा सकारात्मक परिवर्तन ल्याएको बताए । रास्कोट नगरपालिकाका प्रतिनिधिहरूले पनि परियोजनाहरूले स्थानीय आवश्यकतालाई सम्बोधन गर्न मद्दत गरेको उल्लेख गरे ।

हुरेण्डेक नेपाल कालीकोटका उपाध्यक्ष खडानन्द अधिकारीका अनुसार यस्तो सामाजिक लेखा परीक्षण कार्यक्रमले परियोजनामा संलग्न सबै पक्षबीच पारदर्शिता र जवाफदेहिताको भावना अभिवृद्धि गर्ने विश्वास गरिएको बताउनुभयो ।

कार्यक्रम अन्त्यमा सबै सहभागीहरूलाई सक्रिय सहभागिताका लागि धन्यवाद दिँदै आगामी दिनहरूमा अझ सशक्त सहकार्यको अपेक्षा गरिएको छ । यो कार्यक्रम प्लान इन्टरनेश्नल नेपालको सहयोगमा हुरेण्डेक नेपालले सञ्चालन गरिरहेको छ ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख धर्म राज शाही (पोशण) ले सामजिक परिक्षण प्रभावकारी रहेको र सबै ले गर्नु पर्ने बताउनु भयो भने विशेष अतिथि नगर उप प्रमुख मणी राज बरालले यो काम राम्रो भएको कामको अवस्था जानकरी पाएको र यसले कार्यक्रमको प्रभाव बढाउने भन्नु भयो ।

यहाँ कमेन्ट गर्नुहोस्