२८ आषाढ २०८२, शनिबार

पहिरोले अवरुद्ध सुर्खेत–जुम्ला सडक एक साता पछि खुल्यो

खबरसबैको समाचारदाता शनिबार, आषाढ २८, २०८२

कालिकोट — पहिरोले सडक मुनिको पर्खाल भत्किँदा अवरुद्ध भएको कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडक एक साता पछि खुलेको छ । पहिरोले रोकिएका ठूला मालबाहक गाडी गन्तव्यतर्फ लागेको कालिकोटका प्रहरी प्रमुख टेक बहादुर रावतले जानकारी दिए ।

‘पहिरोले सडक तल्लो भागको पर्खाल पुरै भत्किएको थियो,’ उनले भने, ‘साना गाडी त पास भएकै थिए । ठूला गाडी एकसाता देखि रोकिएका थिए ।’

उनले सडक डिभिजन कार्यालय जुम्लाले सडक माथितिर चट्टान फुटाउन २ वटा ब्रेकर मेसिन लगाउँदा पनि बाटो नखुलेपछि शुक्रबार कम्प्रेसर मेसिनले होल खोपेर नेपाली सेनाले विस्फोट गरेर सडक खुलाइएको जानकारी दिए ।

शुक्रबार सेना र प्रहरीको टोलीले विस्फोट गरेपछि ठूला गाडी पनि चल्ने भएका छन् । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले भने, ‘कर्णालीमा एउटै ढुङ्गा फुटाउन करोड खर्च हुने अवस्था छ ।’

साना गाडीलाई पास गर्ने साँगुरो ट्याग बने पनि ठूला यात्रुबाहक बस, निर्माण सामग्री र खाद्यान्न बोकेर आएका ट्रक ताडी, पिली, वाली, गाल्जे र नाग्मा बजार लगायतका ठाउँमा रोकिएका थिए । तीन साताअघि पनि यही ठाउँमा पहिरो जाँदा सडक डिभिजन कार्यालय जुम्लाले पर्खाल लगाएर सुचारु गरेको सडक पुनस् भत्किएपछि ठूला गाडी रोकिएको तिलागुफा नगर उप–प्रमुख महेन्द्र बहादुर शाहीले बताए ।

आर्थिक वर्ष सकिने बेला जुम्ला र मुगुका लागि निर्माण सामग्री बोकेर आएका ट्रक कालिकोटको ताडी, बालीलगायतका ठाउँमा रोकिएको व्यवसायी रतन महताराले बताए ।

जुम्ला र मुगुका लागि खाद्यान्न बोकेर आएका ट्रक पनि बाटोमै रोकिएको ट्रक चालक नवीन विश्वकर्माले बताए । उनले ७ दिन पछि बाटो खुलेर जुम्ला जान लागेको सुनाए ।

वर्षाको पानीसहित जुविथा जिउलोको पानीले गाल्जे नजिकै भिरमा पहिरो गएको हो । साँघुरो सडकमा पर्खाल खसेकोले सयौं मालबाहक गाडी रोकिएका छन्। साना गाड़ी त पास हुन्छन्। कालिकोटका प्रजिअ नारायण प्रसाद भट्टराईले भने ठूला गाडी जान सक्ने अवस्था छैन । उनले सडक डिभिजन कार्यालय जुम्लाको टोली मेसिन सहित पहिरो गएको ठाउँमा काम गर्न भनी सकेको जानकारी दिए ।

बिहीबारदेखि गाडी रोकिएकोले मालबाहक ट्रकका चालक सहचालक र यात्रुले कच्ची पर्खाल लगाउने प्रयास गरे पनि सम्भव नभएर चट्टान फुटाउन ब्रेकर झिकाइएको अस्थायी ट्राफिक पोस्ट खल्लागाडका प्रहरी हवल्दार चन्द्र बहादुर घर्तीले बताए । ‘साना गाडी त पठाई रहेका छौं,’ उनले भने, ‘बस र मालबाहक गाडी रोकिएका छन् ।’

सडक अवरुद्ध हुँदा सुर्खेतबाट जुम्ला, मुगु जाने र जुम्ला मुगुबाट कालिकोट दैलेख सुर्खेत जाने गाडी रोकिएको प्रहरीले जनाएको छ । कर्णाली राजमार्ग वर्षा लागे पहिरोले अवरुद्ध हुने समस्याले सास्ती हुने गरेको मान्म बजारका उद्यमी बबुर शाहीले गुनासो पोखे । ‘सडक गतिलो नहुँदा जहिल्यै दुःख पाइन्छ,’ उनले भने ।

कूल २३३ किमी लम्बाई भएको कर्णाली राजमार्गको नाग्मा जुम्ला खण्डमा सडक राम्रो रहे पनि त्यसभन्दा तल कालिकोट र दैलेख खण्ड हिलाम्मे र धुलाम्मे हुने समस्या छ ।

#कान्तिपुर अनलाइन बाट साभार

यहाँ कमेन्ट गर्नुहोस्