१६ मंसिर २०८१, आइतबार

बझाङ दुर्घटना, मृतकको संख्या आठ पुग्यो

खबरसबैको समाचारदाता बुधबार, कार्तिक ०२, २०७९

बझाङको मस्टा गाउँपालिका- १ तुफानडाँडानजिकै जिप दुर्घटना ज्यान गुमाउनेकाे संख्या आठ पुगेकाे छ। जिप दुर्घटना भएर सडकभन्दा झन्डै तीन सय मिटर तल खसेको थियो। साथै दुर्घटनामा १५ जना घाइते भएका छन्।दुर्घटनामा मृत्यु तथा घाइते हुनेमा अधिकांश यात्रुहरू जिल्लाको प्रसिद्ध सुर्मादेवी मेला हेरेर घर फर्किनेहरू रहेको प्रहरीले जनाएको छ।

बुधबार साँझ साढे ४ बजे मस्टा गाउँपालिका- १ डुग्रीबाट भातेखोला जाने क्रममा सु–प–प्र–००१ च ११७ नम्बरको जिप दुर्घटना भएको हो।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा मस्टा गाउँपालिका- २ का १३ वर्षीया सम्झना खड्का, १५ वर्षीय रोशन खड्का, १६ वर्षीय प्रचण्ड खड्का, २८ वर्षीया वसन्ती धामी (कठायत) ३७ वर्षीया वीरेन्द्र अधिकारी, ७ महिनाकी दत्सिका कठायत, शुक्लाफाँटा ७ का झरेन्द्र बोहरा र ५० वर्षीया सिन्कीदेवी भण्डारी छन्।

यस्तै, घाइते हुनेमा मस्टा गाउँपालिका– २ का ८ वर्षीय अमृत खड्का, १३ वर्षीया रोशनी धामी, सिंहवीर बुढा, जिपचालक ३५ वर्षीय राजेश रोकाया, ४ वर्षीय सिर्जन सिंह, ११ वर्षीया अम्बिका सिंह, २५ वर्षीया कमला कठायत, २१ वर्षीया नन्दा ओखेडा, मस्टा- १ बस्ने ३६ वर्षीय सन्तोष सिंह, २२ वर्षीय ईश्वर ओखेडा, अनिष ओखेडा, १० वर्षीय अंकित खड्का, ७५ वर्षीय वीरबहादुर खड्का, ४ वर्षीय सिम्रन सिंह, २२ वर्षीया हेमन्ती सिंह रहेकाे प्रहरीले जनाएकाे छ।  गम्भीर घाइते भएकी सिन्कीदेवीलाई थप उपचारका लागि कैलाली लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए।

उनले जिपमा सवार अन्य घाइते यात्रुहरूको उद्धार गरी गम्भीर ५ जना घाइतेहरूलाई नेपालगन्ज रेफर गरेको र बाँकी ११ जना घाइतेको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

क्षमताभन्दा धेरै यात्रु बोक्दा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए।

 

यहाँ कमेन्ट गर्नुहोस्