२१ फाल्गुण २०८२, बिहिबार

शीर्ष नेताहरूले विभिन्न स्थान बाट मतदान गरेका छन्..

खबरसबैको समाचारदाता, काठमाडाैं बिहिबार, फाल्गुण २१, २०८२

नेपालमा  प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रधानमन्त्री, पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री तथा राजनीतिक दलका शीर्ष नेताहरूले मतदान गरेका छन् । देशभर १६५ सदस्य निर्वाचनका लागि बिहीबार बिहान ७ बजेदेखि मतदान भैरहेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले बिहान काठमाडौँ–५ स्थित धापासी फैमालचुली मतदान केन्द्र पुगेर आफ्नो मताधिकार प्रयोग गरेकी छन् । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बूढानीलकण्ठ नगरपालिका–२ भङ्गालस्थित साविकको गाविस भवन मतदान केन्द्रबाट मतदान गरिन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुर बालकोटस्थित महेन्द्र शान्ति माविबाट दिउँसो मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवन भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी स्कुल शान्तिपुरबाट मतदान गरे ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा जिल्लाको पालुङटार–१ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा मतदान गरे । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले काठमाडौँ–४ मैतीदेवी मन्दिर केन्द्रबाट मतदान गरे । थापा यो पटक साबिक निर्वाचन क्षेत्र परिवर्तन गरी सर्लाही–४ बाट उम्मेदवार बनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँ क्षेत्र नम्बर–३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरमा मतदान गरे । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरे ।

कांग्रेसका नेता तथा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सुर्खेत–१ मेहेलकुनाको सूर्यजोति माध्यमिक विद्यालयको मतदान केन्द्रमा पुगेर मतदान गरे । पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता रमेश लेखकले कञ्चनपुर–३ वेदकोट नगरपालिका–८ स्थित बैजनाथ मावि गयलनदी केन्द्रबाट मतदान गरे । खड्का र लेखक यो पटक चुनावी प्रतिस्पर्धामा छैनन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राई साम्पाङले धरान उपमहानगरपालिका–१८ स्थित कार्मेल बोर्डिङ स्कुल मतदान केन्द्रमा मतदान गरे । नेकपा(माओवादी)का महासचिव नेत्रविक्रम चन्द विप्लवले रोल्पा परिवर्तन–३ स्थित थुनिकोट बुथकेन्द्र ‘क’ बाट मत हाले । हरेक निर्वाचन बहिस्कार गर्दै आएका उनले १८ वर्षपछि पहिलो पटक मतदान गरेका हुन् ।

पूर्वप्रधानमन्त्री तथा कांग्रेसको पूर्व सभापति शेरबहादुर देउवाले मतदान नै गरेनन् । २०४८ सालदेखि डडेलधुराबाट लगातार चुनाव जित्दै आएका थिए । देउवा अहिले उपचार फलोअपका लागि सिंगापुर पुगेका छन् ।

पूर्वउपप्रधानमन्त्री तथा नेकपाका नेता नारायणकाजी श्रेष्ठले पनि यो पटक मत हालेनन् । गोरखाको सिरानचोकस्थित जौ बारी केन्द्रमा श्रेष्ठको मतदाता नामावली रहेको छ । सर्लाही–४ बाट उम्मेदवार रहेका उनी निर्वाचन क्षेत्रमै व्यस्त रहनुपरेकाले मतदान गर्न नगएको सचिवालयले जनाएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्