२९ भाद्र २०८१, शनिबार

तामाङ समुदायको नयाँ वर्ष आज सोनाम ल्होछार

Khabarsabaiko मंगलबार, माघ २२, २०७५

खबरसबैको संवादाता माघ २२
काठमाडौं – तामाङ समुदायको नयाँ वर्ष अर्थात् सोनम ल्होछार आज बाट देशै भरि शुरु भएको छ ।
हरेक वर्ष माघ शुक्ल प्रतिपदा अर्थात ख्रेला छेपा गिकका दिन सोनाम ल्होछार मनाउने गरिन्छ । ल्होछारको अवसरमा आज घरघरमा पुजापाठ, खानपिन, ठुलाबडाबाट टिका तथा आर्शिवाद ग्रहण, शुभकामना आदानप्रदान र समुहिक रुपमा पनि विविध कार्यक्रम आयोजना गरी मनाउने चलन छ । चन्द्रमासमा आधारित मञ्जुश्री पात्रोअनुसार आजदेखि कुकुर वर्षलाई विदाई गरी सुँगुर वर्षलाई स्वागत गरिएको छ । यो २८५५औँ सोनाम ल्होछार हो । ल्होछारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएको अनुसन्धाता टीका शेर्पाले जानकारी दिए। सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको ल्होछार मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले बताइन्।
ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा आज विशेष कार्यक्रम आयोजना गर्ने जानकारी गराएको छ । सोनाम ल्होछार महोत्सवमा तामाङ जातिको खाना, वेषभूषा, कला संस्कृतिलगायत प्रदर्शन गर्ने तयारी गरेको छ । मंगलबार दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ । यो अवसरमा प्रदेश ३ सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ।

यहाँ कमेन्ट गर्नुहोस्