Khabarsabaiko बिहिबार, पुष १७, २०७६
हुम्ला
हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ । बिहिबार बिहान साढे दश बजेबाट हिमपात सुरु हुँदा चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातसँगै जिल्लाको एक मात्र यातायातको साधान हवाई सेवा समेत अवरुद्ध भएको छ । हिमपातका कारण अत्याधिक चिसाले बजारमा चहलपहल कम देखिन थालेको छ ।
जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिका हिमपात भएको छ । जिल्लाको दक्षिण क्षेत्रमा पानी पर्ने थालेको सर्केगाड गाउँपालिका वडा एकका कविन्द्र शाहीले बताउनुभयो । बुधबार रातिबाट मौसम फेरबद भएसँगै आज विहानबाट हिमपात हुँदा चिसोले वृद्धावृद्धा अपाङ्ग र बालबालिकालाई बढी प्रभावित बनाएको छ । सदरमुकाम सिमकोटमा रहेका होटेल पसलहरु कमै खोलेका देखिएका छन् । सरकारी तथा गैहसरकारी कार्यालयमा हिटरको सहायतामा काम गर्ने गरेका छन ।
नाम्खा अधिकाश बस्तीहरुमा हिमपातले गाईबस्तुलाई घाँसपात गर्ने समेत समस्या भएको पाइएको छ । चिसोले घरभित्रै आगो बालेर ताप्दै बस्नु पर्ने बाध्य भएको नाम्खा गाउँपालिका १ का स्थानीय प्रकाश लामाले बताउनुभयो ।
दक्षिण क्षेत्रका स्थानीय खुसी
जिल्लाको दक्षिण क्षेत्रका सर्केगार्ड, ताजाकोट, अदानचुली, चंखेली गाउँपालिका स्थानीयबासीहरु खुसी देखिएका छन् । पानी परेपछि कार्तिक, र मंसिर खेतबारीमा छरेको जेठ महिनामा पाक्ने जेठासी बाली गँहु, जौ, उवा राम्रो हुने भन्दै किसान हर्षित छन् । यो वर्ष समयमै पानी परेको छ अन्नबाली राम्रो हुने विश्वास रहेको चंखेली गाउँपालिका ५ का स्थानीय सुरेन्द्र शाहीले बताउनु भयो । दक्षिणी क्षेत्रका अधिकाश स्थानीयबासीहरुका मुहार नै खुसी देखिन थालेको छ उनले बताउनुभयो ।
नाम्खा गाउँपालिका सकस
उत्तरी चीनको सीमा सँग जोडिएको नाम्खा गाउँपालिकाको अधिकाश बस्तीहरुलाई चिसोले सकस भएको छ । घरभन्दा बाहिर गएर गाईबस्तुलाई घाँस खुवाउन सकस भएको नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो ।
नाम्खा गाउँपालिका हल्जी, जाँङ्ग, तिल, चाला, यारी, मुचु, केर्मी याल्वाङ, च्यादुक, याङगार, खगाँलगाँउ, हेप्का, टाङगिन लगायतका बस्तीहरुमा समस्या भएको अध्यक्ष लामाको बताउनुभयो ।