०२ कार्तिक २०८१, शुक्रबार

हुम्लामा पनि छाउगोठ भत्काउने अभियान

Khabarsabaiko मंगलबार, माघ ०७, २०७६

सरकारले छाउगोठ हटाउन स्थानीय प्रशासनलाई निर्देशन दिएपछि हुम्लामा पनि छाउगोठ भत्काउने अभियान सुरु भएको छ ।हुम्लामा स्थानीय तहका जनप्रतिनिधि, स्थानीय महिला, प्रहरी प्रशासन छाउगोठ भत्काउने अभियानमा जुटेका छन् । प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईका अनुसार खार्पुनाथ गाउँपालिका– ४ को छिप्रा र ५ को खपेलगाउँमा स्थानीय तह, स्थानीय महिला र प्रहरी प्रशासनको रोहबरमा सात वटा छाउगोठ भत्काइएको छ ।

जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रहरीले तयार पारेको लिष्टमा जिल्लाभर २७ वटा छाउगोठ छन् । यो लिष्ट प्रारम्भिक मात्र भएको भन्दै जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले पूर्ण विवरण आउन भने बाँकी रहेको बताए । जिल्ला प्रशासनले सर्केगाड, अदानचुली, चंखेली, ताजाकोट र सिमकोट गाउँपालिकामा छाउगोठ भत्काउने अभियानलाई पहिलो प्राथमिकतामा राखेको छ । मुलुकी अपराध संहितामा छाउपडीलाई अपराधका रूपमा परिभाषित गर्दै छाउगोठमा बस्न र बस्न पठाउने दुवैलाई तीन महिना कैद र तीन हजार जरिवानाको व्यवस्था गरिएको छ ।

महिनावारी हुँदा ५ देखि ८ दिन र सुत्केरी हुँदा कम्तीमा १५ दिन छाउ बार्ने गरिन्छ । छाउगोठमै महिलाको ज्यान जाने गरेको भन्दै गृहमन्त्रालयले स्थानीय प्रशासनलाई छाउगोठ हटाउन कडा निर्देशन दिएको हाे ।

यहाँ कमेन्ट गर्नुहोस्