१६ आश्विन २०८१, बुधबार

प्रदेशबासीलाई सुखी बनाउने – मन्त्रि बिमला केसी

Khabarsabaiko शुक्रबार, माघ २४, २०७६

राजेन्द्र नेपाली, काठमाडाैं

कर्णाली प्रदेश भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्री बिमला केसीले प्रदेशबासीलाई सुखी बनाउने गरी  सरकारले योजनाको जग बसाल्ने काम गरिरहेको बताएकी छन् । उनले कर्णालीको प्राकृतिक साधन श्रोतलाई उपयोग गर्दै नागरिकको जीवन उन्नत बनाउन सरकारले योजना बनाएको बताइन् ।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा स्थायी घर भइ हाल काठमाडौँमा कार्यरत पत्रकारसँगको भेटघाटमा मन्त्री केसीले गरिबी, स्वास्थ्य समस्या लगायतका नकारात्मक कुराको पहिचान भएको कर्णालीलाई समृद्ध र सुखारी प्रदेश बनाउन सरकारले विभिन्न योजना बनाएको जानकारी दिईन् ।

विपद् पर्दा साथमा सरकार छ भन्ने अनुभूतिको होस् भनेर प्रदेशका सबै नागरिकको बीमा गरिएको बताइन् । उनले कर्णालीका नागरिकसँगै त्यहाँ खट्नेहरुको पनि बीमा गरिएको जानकारी दिइन् । त्यसैगरी प्रदेश सरकारले गरिब लक्षित अनुदान कार्यक्रम ल्याएको भन्दै केसीले भनिन्, “संघीय सरकारले ल्याएको कृषि अनुदान पनि प्रभावकार नभएको अनुभव छ, हामीले गरिब लक्षित कृषि अनुदान कार्यक्रम ल्याएका छौँ । यो अनुदान गरिबले मात्रै पाउनेछन् ।” उनले सरकारले कृषकलाई ऋणसँगै कामको आधारमा अनुदानको व्यवस्था पनि गरेको बताइन् ।

भूमी व्यवस्थाका कारण प्रदेश सरकारले भौतिक संरचना बनाउन नसकेको बताइन् । उनले सानो काम गर्दा पनि संघीय सरकारसँग अनुमति लिनुपर्ने, संघीय सरकारले जमिन दिनुपर्ने बाध्यकताका कारण समस्या भएको बताइन् । “प्रदेश सरकारले संघीय सरकारसँग लिजमा लिनुपर्ने हुन्छ, त्यो प्रक्रिया निकै झन्झटिलो बनाइएको छ । प्रदेश स्तरमा रंगशाला, कृषि भवनलगायत भौतिक संचरना रोकिएका छन् । बजेट फ्रिज भएको छ । मन्त्रिपरिषदबाट निर्णय गरेर संघमा पठाएका छौँ तर अहिलेसम्म कुनै सुनुवाई भएको छैन” मन्त्री केसीले भनिन् ।

मन्त्री केसीले प्रदेश सरकारले गरेका रचनात्मक सल्लाह र राम्रा कामलाई जनतासमक्ष पुर्‍याउन सहयोग गर्न पत्रकारहरुलाई आग्रह समेत गरिन् । नीति निर्माणसँगै सरकार संचालनमा पत्रकारहरुले दिएका सुझावहरु महत्वपूर्ण हुने विश्वास समेत व्यक्त गरिन् ।

 

 

यहाँ कमेन्ट गर्नुहोस्