१६ चैत्र २०८०, शुक्रबार

देउसी भैली खेलेर स्थापना भएको स्वास्थ्य इकाई बन्द

Khabarsabaiko सोमबार, फाल्गुण ०५, २०७६

हुम्लाको सिमकोट गाउँपालिका वडा १ र २ अन्तरगत रहेको कुम्लिङ सामुदायिक स्वास्थ्य इकाई ६ महिना देखि बन्द रहेको छ । २०७२ सालमा स्थापना भएको सामुदायिक स्वाथ्य इकाई गत भाद्र महिना देखि बन्द रहेको हो । साविक ताक्ला, बाम्टा,ठेहे, बैजिबाडा, दोजाम लगायत गाउँका विद्यार्थी, अभिभावकले देउसि भैलो खेलेर जम्मा भएको रु १ लाख रुपैयाँबाट जग्गा खरिद गरी भवन निर्माण भएर सामुदायिक स्वास्थ्य इकाई स्थापना हो ।
भविश्यमा छोराछोरीलाई उपचार गर्नका लागी टाढा जान नपर्ने उद्देश्यकासाथ गाउँका अगुवाको सल्लाह अनुसार कुम्लिङ ज्युलामा सामुदायिक स्वास्थ्य इकाइ निर्माण गरिएको स्थानीय पर्बल बोहराले बताए ।
कुम्लिक ज्युला ताक्ला, बाम्टा,बैजिबाडा, दोजाम,कुम्लिक,ठेहे गाउँका स्थानीयको पाएक पर्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाई खोलिएता पनि औषधि, उपचार गर्न नपाउँदा यहाँका स्थानीयले जिल्ला अस्पतालमा पुग्नु पर्ने बाध्यता रहेको बोहराले बताए ।
उक्त सामुदायिक स्वास्थ्य इकाइमा एक जना अहेव, अनमी र कार्यालय सहयोगी गरी तीन जनाको दरबन्दी रहेको छ । जिल्लामा रुघाखोकीका बिरामीको सङ्ख्या बढि रहेको अवस्थामा कुम्लिक स्वास्थ्य इकाइमा २०७६ भदौ महिनादेखि स्वास्थ्यकर्मी सम्पर्क विहीन भएका हुन ।
उक्त स्वास्थ्य इकाइमा स्वास्थ्यकर्मी विहीन भएपछि सिमकोट गाउँपालिका–१, २ सहित खार्पुनाथ गाउँपालिका वडा ५ ताक्ला बाम्टाका स्थानीय स्वास्थ्य सेवाबाट बन्चित भएका छन् । ६ महिनादेखि सामुदायिक स्वास्थ्य इकाइमा कर्मचारी नबसेपछि ठाउँका करिव नौ सय जना स्थानीयबासी मर्कामा परेका छन् ।
कुम्लिक सामुदायिक स्वास्थ्य इकाइमा दैनिक बिरामी उपचारका लागि जाने गरेता पनि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राही निराश भएर घर फर्कनु परेको खार्पुनाथ गाउँपालिका–५ ताक्ला गाउँका गोरख भण्डारीले बताए ।
घाँटी, टाउको दुख्ने र ज्वरो आएको एक हप्ता भइसक्यो स्वास्थ्य इकाइमा जाँदा ताला लगाएको देख्दा रित्तो हात लिएर घर फर्कनु परेको बिरामी जोरसिंह बोहराको गुनासो छ । आफु सो सामुदायिक स्वास्थ्य इकाइमा लगातार आएको पाँच दिन भई सक्यो तर यो ढोका कहिले पनि खुलेन उहाँले गुनासो गर्नु भयो ।
आजभोलि ताक्ला गाउँमा बृद्धबृद्धालाई रुघाखोकी र बालबालिकालाई निमोनियाको लक्षण देखिएको बोहराको भनाई छ । उनले भने यो स्वास्थ्य इकाइ नखुलेपछि यहाँका स्थानीयबासी खार्पुनाथ स्वास्थ्य चौकीमा जाने गरेका छन् भने केही सेवाग्राही जिल्ला अस्पतालमा जाने गरेको बिरामी रुपसिंह बोहराले दुखेसो पोख्नुभयो ।
६ महिना देखि तलब नपाउँदा स्वास्थ्य इकाई बन्द
सामुदायिक स्वास्थ्य इकाइमा कार्यरत तीनै जना स्वास्थ्यकर्मीले गत भदौ देखि तलव खान नपाएपछि स्वास्थ्य इकाइ कुर्नुको कुनै औचित्य नरहेको सोही स्वास्थ्य इकाइका प्रमुख धनजित भण्डारीले बताए । स्वास्थ्य इकाई प्रमुख भण्डारीले भने ६ महिना सम्म सामुदायिक स्वास्थ्य इकाईमा हामी स्वास्थ्यकर्मी कुरेका छौ तर ६ महिना देखि तलब नपाएपछि स्वास्थ्य इकाईमा जान छोडेको बताए ।
भण्डारीले भने ६ महिना अघि सिमकोट गाउँपालिकाले नै तलव खुवाउने गरेको थियो तर त्यसपछि भने गाउँपालिकाले केन्द्रबाटै बजेट आएको छैन भनि झारो टार्ने काम गरी रहेको छ ।
यस विषयमा गाउँपालिकामा बुझ्दा गाउँपालिकाले पटक पटक केन्द्रीय सरकार मातहतको स्वास्थ्य विभागलाई सो बजेटको बारेमा परिपत्र लेख्दा समेत सुनुवाई नभएको सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा र प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीको भनाई छ ।
अधिकृत दर्जीका अनुसार विभागबाट रकम नआएकाले गाउँपालिकाले तलव खुवाउन सक्ने अवस्था नरहेको बताए ।

यहाँ कमेन्ट गर्नुहोस्