१५ चैत्र २०८०, बिहिबार

काठमाडौं जिल्ला अदालतले कोरोना परीक्षण नगरिएको भन्दै अभियोगपत्रसाथ अदालतमा पेश गरिएका अभियुक्तलाई फिर्ता पठाएको छ

Khabarsabaiko सोमबार, आषाढ ०८, २०७७

काठमाडौं जिल्ला अदालतले कोरोना परीक्षण नगरिएको भन्दै अभियोगपत्रसाथ अदालतमा पेश गरिएका अभियुक्तलाई फिर्ता पठाएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजसलासले विद्युतीय अपराधका आरोपी एकराम राईलाई पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गराएर मात्र अदालतमा पेश गर्न आदेश दिएको हो ।
काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार पीसीआर परीक्षण नभएका कारण सोमबार ती अभियुक्तको मुद्दामाथि कारबाही हुन सकेन । अब कोरोना परीक्षणको रिपोर्ट लिएपछि मात्र अदालती कारबाही अगाडि बढ्नेछ ।

जेठ २८ गते पक्राउ परेका राईलाई जिल्ला सरकारी वकिल कार्यालयले अभियोगपत्रका साथ सोमबार काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो । अदालत पेश गर्दा उनको हिरासतमै हुँदा गरिएको र्‍यापिड डायग्नोस्टिक टेस्ट विधिबाट कोरोना एन्टिबडी परीक्षणको रिपोर्ट पनि पेश गरिएको थियो ।

तर अदालतले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र विश्व स्वास्थ्य संगठनले पीसीआर विधिकै परीक्षणलाई मान्यता दिएकाले पीसीआर विधिकै परीक्षण गरेर मात्र अदालत पेश गर्न आदेश दिएको हो । अदालतले मुद्दाको सुनुवाई नगरी फर्काइदिएपछि राईलाई पुनस् महानगरीय प्रहरी परिसरकै हिरासतमा राखिएको छ ।

अदालतले प्रतिवादीलाई हिरासतबाट अदालतसम्म ल्याउने सुरक्षाकर्मी पनि प्रतिवादीसँग भौतिक रुपमा निकट भई काम गर्नुपर्ने भएकाले उनीहरूको पनि अनिवार्य रुपमा कोरोना परीक्षण गर्नुपर्ने आदेश दिएको छ ।

अदालतमा आउनेहरू कोरोना संक्रमित हो कि होइन भन्ने थाहा नहुँदा अदालतबाट रोग फैलिन सक्ने आदेशमा उल्लेख गरिएको छ ।

‘परीक्षण नै नभई जोखिम मोलेर कार्य गर्दा यदि कुनै व्यक्तिमा यो रोग संक्रमण भएको खण्डमा यसको संक्रमण सबै स्टेकहोल्डरको माध्यमबाट मुलुकभरि नै फैलिने खतरा हुन्छ, तसर्थ कोभिड १९ को परीक्षण हुनु नै यसको एकमात्र उपाय हो । परीक्षणपश्चात नेगेटिभ रिपोर्ट भएरनभएको आधारमा मात्र अदालतमा प्रवेश र सेवा प्रवाहको उचित व्यवस्थापन गर्नुपर्ने देखिन्छ ।’

यसरी गरिने परीक्षण भने सरकारी खर्चमै गर्ने प्रवन्ध मिलाउन आदेश दिएको छ ।

###यो समाचार अनलाइन खबर बाट साभार गरिएको हो ।

यहाँ कमेन्ट गर्नुहोस्