खबरसबैको समाचारदाता सोमबार, भाद्र ०९, २०८२

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश अस्पतालको व्यवस्थापनमा तत्काल सुधार आवश्यक रहेको बताएका छन्। सोमबार सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विगत देखि अस्पताल सेवाप्रति नागरिकको गुनासो बढ्दै गएको भन्दै अब गुनासो आउने अवस्थालाई पूर्णविराम लगाउनुपर्नेमा जोड दिए।
मुख्यमन्त्री कँडेलले अस्पताल परिसर बाहिर देखिने सौन्दर्यपूर्ण वातावरणजस्तै भित्र पनि अनुशासन, स्वच्छता र सेवा प्रवाहमा सुधार ल्याउन निर्देशन दिएका छन्। उनले भने, “अस्पतालमा आउने बिरामी र नागरिकको पहिलो अपेक्षा भनेकै गुणस्तरीय सेवा हो। बाहिरी सौन्दर्य मात्र पर्याप्त हुँदैन, भित्र पनि व्यवस्थापनले त्यसको अनुभूति गराउनुपर्छ।”
- उनले अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति जिम्मेवार हुन आग्रह गरे। कार्यक्रममा उपस्थित स्वास्थ्यकर्मीहरुले जनशक्ति अभाव, उपकरणको पर्याप्त प्रयोगमा कठिनाइ, औषधि आपूर्ति समस्या र पूर्वाधार विस्तारको आवश्यकता जस्ता विषय उठाएका थिए।