२३ कार्तिक २०८३, आइतबार

कुकुर तिहार आज: घरको रक्षक कुकुरलाई पूजा र मीठा परिकारले सम्मान

खबरसबैको समाचारदाता, काठमाडाैं आइतबार, कार्तिक २३, २०८३

काठमाडौं — नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठामीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ।

कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईका अनुसार नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी परेको दिन मनाउनुपर्ने हुन्छ।

धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमका अनुसार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिन्छन् भन्ने धार्मिक विश्वास छ। यसैका आधारमा कुकुर तिहार मनाउने गरिएको हो।

वैवस्वत मन्वन्तरको कूलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास रहेको छ। कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ।

यहाँ कमेन्ट गर्नुहोस्