१६ चैत्र २०८०, शुक्रबार

सीमा अनुगमनमा गएको नेपाली टोलीले फेला पार्‍यो चीनसँगको ११ नम्बर सीमास्तम्भ

Khabarsabaiko बिहिबार, आश्विन ०८, २०७७

उत्तरी सिमाना अनुगमनमा गएको नेपाली टोलीले चीनसँगको ११ नम्बर सीमास्तम्भ फेला पारेको छ । उक्त सीमास्तम्भ ०१९ सालमा दुई देशको सीमामा गाडिएको थियो । ५८ वर्षपछि नेपाली टोलीले उक्त सीमास्तम्भ भेटेको हो ।

चीनले सीमा क्षेत्रमा भौतिक संरचना निर्माण गरेको भन्ने विवाद आएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्‍जीवी गिरी नेतृत्वको टोली सिमानामा पुगेको थियो । चिनियाँ अधिकारीसँग वार्ता गर्ने प्रयास सफल नभएपछि नेपाली टोली सीमास्तम्भको खोजीमा जुटेको थियो । त्यसक्रममा हराएको भनिएको सीमास्तम्भ फेला परेको हो ।

हुम्लाको नाम्खा गाउँपालिका ६ टाकुलेमा सीमास्तम्भ भेटिएको अनुगमन टोलीका एक सदस्यले बताए । उनका अनुसार सीमा प्रहरी चौकी, हिल्साभन्दा माथि करिब पाँच हजार दुई सय मिटर उचाइमा सीमास्तम्भ भेटिएको हो । चीनसँगको सिमानामा १५ वटा सीमास्तम्भ छन् । तीमध्ये ११ नम्बर सीमास्तम्भ हराएको थियो ।

यो सीमास्तम्भ नभेटिँदा चीनले सीमा क्षेत्रमा बनाएका संरचनाबारे विवाद उत्पन्न भएको थियो । नाम्खा गाउँपालिका(६ लाप्चा उपत्यकाको लोलुङजोङमा चीनले ११ वटा भवन बनाएको छ । स्थानीय बासिन्दाले ती भवन नेपाली भूमिमा बनाएको बताउँदै आएका छन् । चीनले त्यसलाई आफ्नो जमिन दाबी गर्दै आएको छ । विवाद उत्पन्न भएपछि हुम्लाका प्रजिअ गिरीको नेतृत्वमा सुरक्षाकर्मीको टोली लोलुङजोङ पुगेको हो । त्यहाँ रहेका चिनियाँ अधिकारीले आफ्नो भूमि भन्दै उनीहरूलाई फिर्ता पठाएका थिए ।

स्थानीय बासिन्दा र जनप्रतिनिधि भने चीनले भौतिक संरचना बनाएको लोलुङजोङ क्षेत्र नेपालकै भएको बताउँछन् । अनुगमन टोलीमा रहेका नाम्खा गाउँपालिका अध्यक्ष विष्‍णुबहादुर तामाङले त्यो क्षेत्रमा यसअघि चौँरी चराउने गरिएको बताए ।

नेपाली टोली पुग्दा चिनियाँ सुरक्षाकर्मी नवनिर्मित भवनमै बसिरहेका थिए । त्यहाँ रहेका चिनियाँ अधिकारीले नेपाली टोली आएको भन्दै चिनियाँ सेनालाई बोलाएका थिए । चिनियाँ टोलीले भवन बनेको स्थानबाट थप साढे दुई किलोमिटर नेपालतर्फ आफ्नो भूमि दाबी गरेको अध्यक्ष तामाङले बताए ।

के भयो लोलुङजोङमाः

लोलुङजोङमा यसअघि नै चिनियाँ पक्षले दुईवटा भवन निर्माण गरेको थियो । पछिल्लो समय उक्त क्षेत्रमा चीनले थप नौवटा भवन निर्माण गरेको खबर आएको थियो । विवादपछि प्रजिअ गिरी नेतृत्वको ३१ सदस्यीय टोली आइतबार लोलुङजोङ पुगेको थियो ।

चिनियाँ पक्षले दिएको पिपिई सेट लगाएर नेपाली टोली चिनियाँ अधिकारीसँग वार्ताका लागि तयार थियो । त्यसको डेढ घन्टापछि चिनियाँ अधिकारीको टोली तीनवटा गाडीमा आयो । र, माइकिङ गर्दै नेपाली टोलीलाई त्यहाँबाट पछाडि हट्न आग्रह गर्‍यो । त्यसपछि नेपाली टोली झन्डै एक किलोमिटर पछाडि हट्यो ।

लगातार हावाहुरी चलिरहेकाले नेपाली टोलीले बोलेको चिनियाँ पक्षले सुन्न सक्ने अवस्था थिएन । नक्सा देखाउँदै माइकमार्फत चिनियाँ अधिकारीले नेपाली पक्षलाई पछाडि हट्न आग्रह गरिरहे ।

त्यसको प्रतिवाद गर्न नेपाली टोलीसँग न केही तथ्यगत आधार थिए, न त आफूले बोलेको आवाज सुनाउने माइक नै थियो । मौसम र भाषा दुवै कारणबाट नेपाली टोली आफू सीमामा आइपुग्नुको कारण चिनियाँ पक्षलाई बताउन असफल बन्यो । त्यसपछि केही मिनेटभित्रै आफूहरू फर्किएको नेपाली टोलीका एक सदस्यले बताए ।

चिनियाँ दूतावासले भन्यो भवन बनेको जमिन चीनको हो

काठमाडौंस्थित चिनियाँ दूतावासले हुम्लामा आफ्नै भूमिमा भवन निर्माण गरिएको जिकिर गरेको छ । हुम्लामा नेपाली पक्षले दाबी गरेको जमिनमा घर निर्माण भएको विषयमा प्रतिक्रिया माग्दा दूतावासका प्रेस अधिकृत झाङ सीले नेपालसँग चीनको कुनै सीमा(विवाद नभएको र नेपालसँग कुनै प्रश्‍न भए निरुपण गर्न सकिने बताए ।

‘भवन निर्माण भएको ठाउँ चीनको हो । नेपाल र चीन असल छिमेकी र मित्र हुन् । हामी सधैँ नेपालको सार्वभौमिकता, अखण्डता र स्वतन्त्रताको सम्मान गर्छौँ,’ नयाँ पत्रिकालाई पठाएको लिखित जवाफमा उनले भनेका छन्, ‘यदि नेपाली पक्षमा कुनै प्रश्‍न छ भने हामी सँगै चेक गर्न र निरुपण गर्न सक्छौ । नेपाल र चीनबीच सीमा(विवाद छैन भन्नेमा हामी जोड दिन चाहन्छौँ । सीमासँग सम्बन्धित कुनै पनि विषय मैत्रीपूर्ण संवादबाट समाधान गर्न सकिन्छ भन्नेमा चीन प्रतिबद्ध छ ।’

परराष्‍ट्रले भन्यो  चीनले भवन बनाएको भूभाग नेपालको होइन

परराष्‍ट्र मन्त्रालयले पनि हुम्लास्थित नेपाल(चीन सिमानाबाट एक किलोमिटर टाढा चिनियाँ भूभागमा चीनले ११ वटा भवन निर्माण गरेको बताएको छ । पछिल्लो विवादबारे प्रतिक्रिया जनाउँदै परराष्‍ट्रले उक्त भूमि चीनकै रहेको स्पष्‍ट पारेको हो ।

परराष्‍ट्रले बुधबार विज्ञप्ति जारी गर्दै सीमास्तम्भ ११ र १२ को अध्ययन र जाँचपड्तालपछि चीनले उसकै भूभागमा भवन बनाएको बताएको हो । ‘नापी विभाग, नेपाल सरकारसँग सम्बन्धित आधिकारिक रेकर्ड, सीमा नक्साको संयुक्त स्थलगत अनुगमन प्रतिवेदनलगायत जाँच गर्दा सीमा क्षेत्रमा बनेका भवनहरू नेपाली भूभागभित्रका होइनन् भन्ने यकिन भयो,’ विज्ञप्तिमा उल्लेख छ ।

चार वर्षअघि पनि चीनले निर्माण गरेका भवनबारे सञ्‍चारमाध्यममा आएका समाचारबारे परराष्‍ट्रले स्मरण गराएको छ । त्यतिवेला मन्त्रालयको टोलीले स्थलगत अनुगमनपछि ती भवन नेपाल(चीन सीमाबाट एक किलोमिटर चीनतर्फको भूभागमा रहेको ठहर गरेको थियो । अहिलेको पनि अवस्था त्यही रहेको परराष्‍ट्रको निष्‍कर्ष छ । नेपाल र चीनबीच सीमा(सन्धि तथा दुई देशबीचका बाउन्ड्री प्रोटोकलहरूका आधारमा सीमांकन भएको पनि परराष्‍ट्रले जनाएको छ ।

नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले पिलर नम्बर १२ का आधारमा चीनले भवन निर्माण गरेको स्थान नेपालको रहेको बताएका थिए । तर, त्यो भूभागबारे यकिन गर्ने ११ नम्बर सीमास्तम्भ बुधबार भेटिएको छ ।

यसअघि चिनियाँ दूतावासका प्रवक्ता वाङ सियालोङले जारी गरेको प्रेसनोटमा पनि चीनले आफ्नै भूभागमा भवन निर्माण गरेको उल्लेख छ । बरु नेपाललाई सीमा जाँच गर्न उनले सुझाब दिएका थिए ।

####नयाँ पत्रिका अनलाइन बाट साभार

यहाँ कमेन्ट गर्नुहोस्