Khabarsabaiko शनिबार, कार्तिक ०८, २०७७
बाहिरबाट हेर्दा यो गुम्बा नेपालको आफैमा एक अनमोल र ऐतिहासिक सम्पदा हो तर होइन रहेछ राज्यले नाम मात्र दिएर काम नदिएको लामो व्यथा र कथा पनि रहेको छ । यो हो हुम्ला जिल्लाको नाम्खा गाउँपालिका वडा नं ६, हल्जी गाउँमा अवस्थित करीब १२ वर्ष पुरानो गुम्बा व्यवस्थापनको मार्मिक कथा ?
असोजको महिनाको पारिलो घामको सुनालो किरणसँगै धपक्कै सुनौलो रङ पोतिएको घामको पारिलो वातावरणमा हामीहरू म कर्णबहादुर रोकाया र नरजंग तामाङ्ग लिमी गाउँको खाद्यान्न समस्याको विशेष रिपोर्टिङ्गका लागि वडा अध्यक्ष पाल्जोर तामाङ्गको सिफारिशमा लिमीमा गएका थियाैं ।
असोज २७ गते बुधबार बिहान ८ः३० बजे हामी नेपालको अति प्राचिनकालमा बनेको १२ सय वर्ष पुरानो गुम्बाको आँगनमा त्यहाँका टावाहरूसँग गुम्बा दर्शनका लागि अनुरोध गर्दै थियौं । त्यसैबेला एक जना जर्मन पर्यटन एजेन्सीमा काम गर्ने हल्जी गाउँका युवासँग जम्काभेट भयो । अन्दाजी २५ वर्षका छेवाङ्ग ङुटुप तामाङ्गले हामीहरू लिमीको हल्जीमा आउनेको कारण सोधे, हामीहरू पत्रकार हुँ र यहाँको खाद्यान्न समस्याको बारेमा जानकारी लिन आएको बतायौं । उनी आफ्नो खेतमा जाँदै थिए ।
म गाउँको सामुदायिक भवन चिकाङमा गएँ, जहाँ हल्जी गुम्बाका टावाहरू आफ्नो नित्य पूजा गर्दै थिए । मैंले एक जना टावालाई गुम्बा दर्शन गर्नका लागि अनुरोध गरेँ । उनले तुरुन्त चावी ल्याएर गुम्बा दर्शन गराउनका लागि राजी भए । हामी उनीसँगै गुम्बा गयौं । बाहिर भेटिएका छेवाङ्ग ङुटुप तामाङ्ग पनि गुम्बाको माथिल्लो बार्दलीमा आइपुगेका रहेछन् । उनी नेपाली, अंग्रेजी र स्थानीय लामा भाषा बुझने भएकाले हाम्रोे पनि स्वयम्सेवी गाइड बनेर गुुम्बाको प्राविधिक र परम्परागत कुराहरूको जानकारी दिन थाले ।
उनै छेवाङ्ग ङुटुपका अनुसार तिब्बतका महान् अनुवादक रिन्छेन जाङ पोले स्थापना गरेको १०८ गुम्बामध्ये यो हल्जी गाउँको गुम्बा अन्तिम भएको र उनले पनि यही लिमीको पबित्र भूमिमा नै समाधी लिएको जानकारी दिए । उनैले प्रचलनमा ल्याएको रेखठेक र राठा अर्थात् चालचलन र संस्कार आजसम्म पनि सुचारु रहेको थाहा पाइयो । यो गुम्बा इतिहास, पुरातत्व, धर्म, संस्कृति, परम्परा र अन्य कुराहरूमा पुथक र महत्व रहे पनि सरकारले आजसम्म हेर्न नसकेको यहाँका मुख्य टावा अर्थात् बुक्वा सोनाम तुन्डुप तामाङ्गको आक्रोस रहेको छ । उनले भने यहाँ कति आए कति आए । गुम्बा हेर्न आउँछन् । यो दिन्छु ऊ दिन्छु भनेर ट्वाक अर्थात् गफ हाँकेर जान्छन् । गएपछि बिर्सन्छन् । तिमीहरू पनि त्यस्तै त हौला नि ? किन आएको यस्तो महामारीको समयमा ? के ल्याएर आयौं ? किन आयौं ? भन्ने जस्ता धेरै आक्रोसपूर्ण आवेशका भावहरू हामी माँझ पोखे । मैँले पनि स्पष्ट शब्दमा भने कि हामी तपाईहरूलाई केही दिन आएका हैनौं । भर्खर सरकारले लिमीको तीन गाउँ तील, हल्जी र जाङका लागि दिएको चामल र यहाँको समस्याका बारेमा जान्न आएका हौं । तपाईले हामीलाई गुम्बा दर्शन गराउने नगराउने तपाईको इच्छा भनेपछि उनले गुम्बाको तल्लो तलामा रहेको विभिन्न प्रकारका मुर्तिहरूका साथमा रहेको गुम्बा स्थापना गर्ने रिन्छेन जाङ पोको बारेमा पनि जानकारी दिएर ? यसका साथै गुम्बाका लागि चाहिने अत्यावश्यक कुराहरूको फेरहस्ती बताए ।
भनिन्छ राज्यको सेवा सविधा पनि नेपालका दूरदराजमा पुजेका छैनन् पुगेको बजेट र विकास पनि राजनीतिका अगुवा र हगुवाहरूले खाइ दिँदा स्थानीयहरूको आक्रोस बढ्नु पनि स्वाभाविक देखिन्छ । यो १२ सय वर्ष पुरानो हो भनेर हामीले जति गर्व गर्छौ, त्यस्तै यो गुम्बालाई अहिलेसम्म यस्तो धरोहर बनाउनमा यहाँका टावाहरू र स्थानीयहरूको रगत, पसिना र श्रमको थोपा थोपाको योगदान रहेको छ । चाहे मानसिक कष्ट किन नहोस् ? चाहे शारीरिक र आर्थिक व्यथाले नै किन नपिरोलोस् ?
हाल उत्तरी नाका सामाजिक र राजनीतिक कारणले बन्द हुँदा एक छाक थुक्पा खाएर भए पनि गुम्बाको रक्षा र सुरक्षाका लागि यहाँका टावाहरूले कष्टमय जीवन व्यतित गरेको कुरा मुख्य टावा सोनाम तुन्डुप तामाङ्गको भनाई रहेको छ ।
उनका अनुुसार यहाँ बस्ने ३५ जना टावाहरूका लागि दैनिक अत्यावश्यक खानेकुराहरूको परिपूर्तिका लागि महिना दुई लाख खर्च हुने गरेको छ । यो जो जो टावाहरू छन् उनीहरूले आआफ्नो घरबाट ल्याएर परम्परा धानेका छन् । हाल गुम्बा खाद्यान्न, नुन, तेल, दाउरा, धुप गर्ने घीउ, तेल, तरकारी र अन्य सामानहरूको चरम अभाव रहेको छ ।
न त श्रम गर्ने ठाउँ र वातावरण छ । न छ आम्दानीको स्रोत र समय पनि । अब त हिउँद पनि आयो पूजाआजाको दिन पनि बढ्दै गए । यो असीमित कामलाई के कसरी सीमित व्यवस्थापन गर्ने हो उनलाई ठूलो चिन्ता छ ?
हो यो वर्ष गुम्बाको दैनि पूजाआजा र अन्य नियमित पूजाका लागि धेरै गाह्रो हुने हल्जीगाउँका स्थानीयहरूले बताएका छन् । यो वर्ष हल्जी गाउँमा रहेको बाह्र सय वर्ष पुरानो गुम्बाको दैनिक क्रियाकर्म चलाउन गाह्रो देखिएको छ । यसका लागि सरकारले पनि नियमित कुनै कोषको व्यवस्था गरेर यो ऐतिहासिक तथा पुरातात्विक सम्पदालाई जोगाउने काममा ध्यान दिने हो कि ?