Khabarsabaiko बुधबार, माघ ०७, २०७७
सिमकोट गाउँपालिका मातहतका २८ विद्यालयलाई आवश्यक र अत्यावश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर माघ १५ गतेबाट विद्यालय सञ्चालन गर्नका लागि गाउँपालिकाले पत्रचार गरेको छ ।
सिमकोट गाउँपालिका वडा नं १ देखि ८ सम्म सञ्चालनमा आएका २३ सामुदायिक र ५ नीजि विद्यालयहरु रहेका छन् । यी सबै विद्यालयहरु माघ १५ गतेबाट सञ्चालन गर्न सकिने सिमकोट गाउँपालिकाले माघ ५ गते विभिन्न विद्यालयका प्रधानाध्यापक तथा अन्य सरोकारवालाहरुसँग छलफल गरेरको सिमकोट गापाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजीर रोकायाले जानकारी दिनुभयो ।
कोरोना महामारीका कारण लामो समयसम्म विद्यालय बन्द रहेकोले सम्बन्धीत विद्यालयका शिक्षक शिक्षाकाहरु आ–आफ्नो घर हुम्ला बाहिर गएका छन् । हुम्लाका स्थानीय शिक्षकहरु पनि हिउँद मनाउन विभिन्न शहरमा पुगेका छन् ।
सिमकोट गाउँपालिकाले गरेको पत्रचारलाई लागु गरेर विद्यालयहरु खोलिए पनि पुरा रुपमा पढाइ हुने कुरामा स्थानीय अविभावकहरुलाई भने विश्वास नरहेको सिमकोट ५ खाद्दक गाउँकी लक्ष्मी रोकायाले बताउनुभयो ।
हाल हुम्लाभरीका धेरैजसो गाउँपालिका विद्यालय बन्द भए पनि एसईईको नाममा ट्युशन पढाउने काममा भने विदाले रोकेको छैन । तर पनि सिमकोट गाउँपालिकामा उपलब्ध विद्यालय प्रशासनले विद्यालय सञ्चालन गर्न तयार रहेको बताइरहेका छन् । यसैले पनि सिमकोट गाउँपालिका २८ विद्यालय माघ १५ गतेबाट खोलिने भएका छन् ।