०३ कार्तिक २०८१, शनिबार

सुरक्षा प्रमुख विमानस्थलमै पुगेर बिरामीलाई जहाजमा पठाए

नरजन तामाङ बिहिबार, कार्तिक ११, २०७८

हुम्ला÷ टिकट अभावमा उपचार गराउन जान नपाएका दुई बिरामीलाई हुम्ला प्रशासनले नेपालगन्ज पठाएको छ । प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यको निर्देशनमा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी हेरम्भ शर्माले सिमकोट विमानस्थल पुगेर दुई बिरामीलाई नेपालगन्ज पठाएका हुन् ।

जहाजको टिकट नपाएपछि खार्पुनाथ गाउँपालिका– १ प्युसका ६० वर्षका वीरजित शाहीलगायत १२ बिरामी नेपालगन्ज र सुर्खेत जान पाएका थिएनन् । दमले थलिएका शाहीलाई सिमकोटस्थित जिल्ला अस्पतालले थप उपचारका लागि तत्काल सुर्खेत लैजान रेफर गरेको थियो । तर, टिकट नपाएपछि आफन्तले स्ट्रेचरमै राखेर विमानस्थलबाट होटेलमा राखेका थिए । मंगलबार नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि शाही र कुरुवा बसेकी नातिनी अस्मितालाई स्थानीय प्रशासनले समिट एयरको जहाजबाट नेपालगन्ज पठाएको हो ।

प्रजिअ आचार्यले व्यवस्थित रूपमा टिकट वितरण नगरी निजी एयरलाइन्सले मनपरी गरेकाले बिरामीसमेत समस्यामा परेको बताए । समाचार प्रकाशित भएपछि उनले सीता, तारा र समिट एयरलाइन्सका स्थानीय प्रमुखलाई बोलाएर छलफल गरेका थिए । छलफलले बुधबारबाट लाइनमा राखेर टिकट वितरण गर्ने निर्णय गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्