खबरसबैको समाचारदाता, काठमाडाैं मंगलबार, फाल्गुण १०, २०७८
काठमाडाैं- मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको भेटवार्तामा देउवाले संसदमा टेबल भएको एमसीसी पास गर्न सघाउन आग्रह गरेपनि ओलीले अस्वीकार गरेका छन् । प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सघाउन गरेको आग्रहलाई एमाले अध्यक्ष ओलीले अस्वीकार गरेका हुन् ।
भेटका क्रममा प्रधानमन्त्रीले सत्तारुढ गठबन्धनभित्रबाटै आफ्नो सरकारलाई असहयोग भएकाले प्रतिनिधिसभामा प्रस्तुत एमसीसी अनुमोदनमा सहयोगका लागि आग्रह गरेका थिए ।
जवाफमा ओलीले आफ्नो पार्टीले विगत छ महिनादेखि जायज मागहरु राखी सदनमा आवाज उठाइरहेको स्मरण गराउँदै ती मागहरु पूरा नभएसम्म अन्य कुनै पनि संसदीय प्रक्रियामा प्रवेश गर्न नसक्ने कुरा पुनः एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । भेटवार्तामा काँग्रेस तर्फ उपसभापति पूर्णबहादुर खड्कालगायतका नेता सहभागी थिए । भने अध्यक्ष ओलीसँगै बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णुप्रसाद पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी थिए ।