१६ चैत्र २०८०, शुक्रबार

मोरक्कोलाई हराउँदै फ्रान्स फेरि फाइनलमा, उपाधि भिडन्त

खबरसबैको, काठमाडौं बिहिबार, मंसिर २९, २०७९

काठमाडौं – दोस्रो सेमिफाइनलमा बुधबार मोरक्कोलाई २–० ले हराउँदै साविक विजेता फ्रान्स कतारमा जारी फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । लगातार दोस्रोपटक विश्वकपको फाइनलमा प्रवेश गरेको फ्रान्सले अब उपाधिका लागि अब आइतबार अर्जेन्टिनाविरुद्ध खेल्नेछ ।

कतारको अल बायत रंगशालामा सम्पन्न खेलमा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र कोलो मुआनीले गोल गरे ।

खेलको चौथो मिनेटमा नै फ्रान्सले अग्रता बनाएको थियो । फ्रान्सका लागि थियो हर्नान्डेजले गोल गरे । १८ यार्ड बक्सभित्रबाट किलियन एमबाप्पेले गरेको प्रहार मोरक्कोका रक्षक अक्रफ डारीबाट रिबाउन्ड आएको थियो । सोही बललाई हर्नान्डेजले जाली चुमाएका हुन् ।

पहिलो हाफमा १–० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा पनि एक गोल नै थप्यो । ७९ औँ मिनेटमा कोलो मुआनीले गोल गर्दै फ्रान्सको अग्रतालाई २–० मा पुर्‍याएका थिए ।

जितसँगै फ्रान्स विश्वकपको इतिहासमा लगातार दोस्रोपटक फाइनलमा प्रवेश गर्ने छैटौँ राष्ट्र बनेको छ ।

यसअघि विश्वकपको इतिहासमा हालसम्म ब्राजिल, इटाली, अर्जेन्टिना, नेदरल्यान्ड्स र जर्मनीले मात्र लगातार दुई पटक विश्वकपको फाइनल खेलेका थिए । यसमध्ये ब्राजिल र जर्मनीले लगातार तीनपटक विश्वकपको फाइनल खेलेका छन् ।

हालसम्म इटाली र ब्राजिलमात्र विश्वकपको इतिहासमा लगातार दुईपटक उपाधि जित्ने टिम हुन् । इटालीले सन् १९३४ र १९३८ को गरि लगातार दुई उपाधि जित्दा ब्राजिलले १९५८ र १९६२ को विश्वकपको उपाधि जितेको थियो ।

जारी विश्वकपको फाइनल खेल आइतबार लुसैल रंगशालामा हुनेछ । यसअघि अर्जेन्टिनाले मंगलबार साविक उपविजेता क्रोएसिलाई ३–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो ।

सेमिफाइनल प्रवेशका क्रममा फ्रान्सले इङ्ल्यान्डलाई २–१ ले पराजित गर्दा मोरक्कोले अन्तिम आठको खेलमा पोर्चुगलको चुनौती पन्छाएको थियो ।

मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने अफ्रिका महादेशको पहिलो राष्ट्र हो ।

यहाँ कमेन्ट गर्नुहोस्