०२ कार्तिक २०८१, शुक्रबार

हिमा वडा नं ५ शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना वडाका रुपमा घोषणा

खबरसबैकाे समाचारदाता, जुम्ला बिहिबार, चैत्र ०९, २०७९

हिमा गाउँपालिका वडा नं ५ ले शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना वडाका रुपमा घोषणा गरिएको छ।

जुम्लाको हिमा गाउँपालिका वडा नं ५ का शतप्रतिशत बालबालिका विद्यालयको पहुँचमा पुगेको गाउँपालिकाले घोषणा गरेको छ । वडाभित्र रहेका ४ देखि १६ वर्षमुनिका सबै बालबालिका विद्यालय पठनपाठन हुने गरेको ।

गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले सबै बालबालिका विद्यालयमा भर्ना भएपछि वडालाई नै सबै बालबालिका विद्यालय भर्ना भएको वडाको रुपमा घोषणा गरिएको बताए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य र प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले संयुक्त रुपमा सबै बालबालिका विद्यालय भर्ना भएको वडाका रुपमा हिमा ५ लाई घोषणा गरेको छ ।

हिमाको ५ वडामा बाँजागाड र बुअ दुई गाउँमा रुपाकोट आधारभूत विद्यालय बाँजागाड र कालिका माध्यमिक विद्यालयमा शतप्रतिशत बालबालिका भर्ना भएको पालिका अध्यक्ष शाहीले बताए । उनले भने,‘वडाभित्र ३ सय ३० घर छन् । सबै घरका बालबालिका विद्यालयसम्म पुगेका र यो शिक्षा क्षेत्रमा देखिएको सुखद लक्षण भएको बताए ।’

हिमा गाउँपालिका, प्लान इन्टरनेसनल र किर्डाक नेपालको समन्वयमा विद्यालय भर्ना अभियान सुरु भएदेखि नै बालबालिका विद्यालयको पहुँचमा पुर्‍याउन विभिन्न क्रियाकलाप गरिएको किर्डाकका परियोजना संयोजक गोविन्द कठाएत जानकारी दिए । माघ २५ देखि विद्यालय भर्ना अभियान सुरु भएकोमा प्रत्येक बालबालिकाको घरघरमा पुगेर विद्यालय बालबालिका पठाउन हरेक अभिभावकलाई आग्रह गरिएको थियो ।

कालिका माविमा ६३० जना विद्यार्थी भर्ना भएकामा रुपाकोट आधारभूत विद्यालयमा २८३ विद्यार्थी भर्ना भएका हुन् । यससँगै ४ वर्षदेखि माथि १६ वर्षदेखि मुनि उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् भन्छन् परियोजना संयोजक कठायत ।

हिमाको शिक्षा शाखाका कर्मचारीहरु, शिक्षकहरु, किर्डाक नेपालका कर्मचारीहरु र जनप्रतिनिधिहरु प्रत्येक घरदैलोमा पुगेर अभिभावकलाई शैक्षिक चेतना जागृत गराएका थिए ।

यसैबीच जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले कुनै पनि बालबालिका विद्यालय बाहिर हुन नदिनु अहिलेको अपरिहार्यता भएको बताए । बालबालिका विद्यालय भर्ना भएर मात्रै नहुने भन्दै उनले गुणस्तरीय शिक्षा प्रदान गर्ने सवालमा जिम्मेवार बन्नसमेत आग्रह गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी केसरीले अब विद्यालयको पहुँचमा सबै बालबालिका पुग्नुपर्ने अभियान जिल्लाभर चलाइनुपर्नेमा जोड दिए । उनले शिक्षकको सक्रियता, विद्यार्थीको लगनशिलता र अभिभावकको बालबालिका प्रतिको चिन्ताले मात्रै गुणस्तरीय शिक्षा हासिल गर्नसक्ने बताए ।

यो जुम्लाको पहिलो शतप्रतिशत बालबालिका विद्यालयमा भर्ना वडा हो ।

यहाँ कमेन्ट गर्नुहोस्