३१ बैशाख २०८१, सोमबार

आकाशमा कालो बादल देखेपछि रातभर सुत्दैनन् मुगुका बाढीपीडित

रवि हमाल, मुगु बिहिबार, आषाढ ०७, २०८०

हिमाली जिल्ला मुगुमा गत वर्ष असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले घरबार, अन्न बाली सबै बगाएर लग्यो । ठूलो धनजन र मानवीय क्षति भोगेका मुगुका स्थानीय अहिले आकाशमा कालो बादल मडारिएको देखेपछि रातभर सुत्न सक्दैनन् ।
सरकारले अहिलेसम्म उनीहरुलाई पुर्नवासको व्यवस्थ गर्न सकेको छैन । उनीहरु अहिले कोही खुला चौरमा रात कटाइरहेका छन्, कोही आफन्तका घरमा छन् भने कोही त्यहिँ बाढीले क्षति पुर्याएको घरमा ज्यानको जोखिम मोलेर बस्दै आइरहेका छन् ।
गत वर्ष आएको बाढी पहिरोले मुगुमा ८ जनाको ज्यान लियो भने ५ जना गम्भीर घाइते हुन पुगे । बाढीपहिरोले २ सय ३६ घरमा पूर्ण क्षति पुर्याएको थियो भने १ सय ८८ घरमा आंशिक क्षति पुर्याएको थियो । यस्तै, २७ वटा गोठमा क्षति पुर्याएको थियो ।

अगुल्टो लागेको कुकुर बिजुली चम्किँदा तर्सिन्छ भन्ने उखानझैं हिजो आज आकासमा कालो बादल मडारिएको देख्नेवित्तिकै उनीहरुको निद्रा लाग्दैन । छाँयानाथ रारा नगर पालिका वडा नम्बर ६ का बाढीपीडित धन बहादुर बुढा भन्छन्, ‘हिजो आज पालमुनी बस्दै आएका छौँ । ठूलो परिवार छ, रातदिन काट्न निकै समस्या छ । बाढीले सबै बगाएर लगेको छ । पालमा बस्दा दिनमा घाम हुन्छ, राति चिसो । कहिले स्थानिय सरकारले घर निर्माणको पहल गरिदिने हो ।’

उनले सरकारले जनता छन् भन्ने नलागेको पनि गुनासो पोखे । यदि सरकारसँग आफ्नो जनता छ भन्ने सोच भइदिएको भए पुनःर्वासको व्यवस्था गरिसक्नुपर्ने बताए । अहिले उनी त्यहिँ बाढीले भत्काएको घरमा ज्यान जोखिममा राखेर बसेको बताउछन् ।

खत्याड गाँउपालिकाका उपाध्यक्ष सरिता रोकायाका अनुसार बाढी पहिरोले क्षति पुर्याएपछि पीडितहरुले लागत खर्चको विवरण संकलन गरेर दिइसकेका छन् । गाउँपालिकाले पीडितलाई केही राहत पनि दिइसकेको छ भने पीडितहरुको भौतिक क्षतिको विवरण प्रक्रियाअनुसार संकलन भइरहेको पनि उलने जानकारी दिइन् ।

उता, जिल्ला विपत व्यावस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मोहन थापाले पुर्नवास निर्माणको लागि के कति समय लाग्छ भन्ने विषयमा स्थानीय तहसँग पटक पटक जानकारी लिने काम भइरहेको बताए । उनले यकिन घर क्षतिको विवरण नआउन्जेलसम्म समितिबाट निर्णय गर्न नमिल्ने पनि बताए ।

उनका अनुसार यकिन विवरण प्राप्त नहुँदा बाढीपीडितहरुलाई पुर्नवासको लागि समस्या भएको छ । तर, उनले जतिसक्दो चाँडो पीडितलाई राहत दिइने बताए ।

यहाँ कमेन्ट गर्नुहोस्