३१ बैशाख २०८१, सोमबार

पहिरोमा पुरिएर डोजर चालकको मृत्यु

पदम राज हमाल शुक्रबार, आषाढ २२, २०८०

मुगु जिल्लास्थित गमगढी तारापानी सडक खण्डको छायानाथ रारा नगरपालिका ३ फुली गाउँ नजिक सडक माथिबाट आएको पहिरोमा पुरिएर एक जना डोजर चालकको मृत्यु भएको छ ।
लगातारको वर्षाले उक्त सडकको बिभिन्न ठाउँमा पहिरो आई अवरुद्ध भएपछि पहिरो पन्छाउन गएको डोजर काम सकाएर फर्कँदै गर्दा बिहीबार राती उक्त फुली गाउँ नजिक बामधारामा सडक माथिबाट पहिरो आई डोजर छोपिदा चालकको घटना स्थल मै मृत्यु भएको हो ।
मृतक चालक सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं ७ घर भएका अन्दाजी २४ वर्षका पवन घिमिरे भएको सशस्त्र प्रहरी बल नं ४५ गुल्म मुगुका प्रहरी नायव उपरीक्षक डम्बर रानाले जानकारी गराएका छन ।
पहिरो पन्छाएर सदरमुकाम गमगढी तर्फ आउँदै गरेको डोजर पहिरोमा परेको खबर पाउना साथ सदरमुकाममा रहेको सशस्त्र प्रहरी बलर नेपाल प्रहरी उद्धारका लागी घटना स्थलमा पुगेको थियो । रातभरि पहिरो पन्छाउन प्रहरी लागेपनि सम्भव नभएपछि बिहान अर्को डोजरको प्रयोग गरेपछि मात्र छोपिएको डोजर निकालिएको प्रहरीले जनाएको छ ।
डोजरधनी सोरु गाउँपालिका वडा नं ६ का रतन बहादुर शाही रहेको र क्षतिग्रस्त डोजरलाई पहिरोबाट पुर्णरुपमा निकाल्न नसकिएको पनि प्रहरीले बताएको छ । मृतक चालकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्