३१ बैशाख २०८१, सोमबार

बिहीबार रातिदेखि मान्म बजारबाट बेपत्ता भएका आमाछोरा नेपालगञ्जमा भेटिए

खबरसबैकाे समाचारदाता, काठमाडाैं शनिबार, भाद्र २३, २०८०

कालिकोट मान्म बजारबाट बिहीबार रातिदेखि बेपत्ता भएका आमा,छोरा नेपालगञ्जमा भेटिएका छन् । पतिसँग झगडा परेर कालीकोट जिल्ला अदालतमा अंशमुद्दा हालेकी सान्नीत्रिवेणी १ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र मान्म नावगैरास्थित डेराबाट बेपत्ता थिए ।

उनी मान्म बजारमा व्यववसाय गर्दै आएका दैलेख भगवतीमाई ५ कट्टीका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । बिहीबार राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा बिहान नभेटिएपछि कुनै घटनामा परेको शंका भएको थियो । उनीहरु शनिबार दिउँसो नेपालगञ्जको कारकोदोबाट सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

कारकादोको एक होटलमा खाजा खान आएको बेला कालीकोटमा रहेकी भाउजुसँग फोनमा कुरा गरेपछि उनीहरुको अवस्था खुलेको हो । जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार बाँके प्रहरीले नियन्त्रणमा लिएर कालीकोट पठाउने तयारी गरिरहेको छ ।

बेपत्ता भनिएकी गीताले नेपालगञ्जबाट भाउजु नाता पर्ने समिता सुवेदीलाई कालीकोट फोन गरेकी थिइन् । शुक्रबार बिहान ३ बजेतिर चर्पी जान ढोका खोलेको बेला ३ जनाले केही सुँघाएर आफूलाई बेहोस बनाइ अपहरण गरेको उनले फोनमा सुनाएको सुवेदीले बताइन् ।

पतिसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर आएपछि प्रहरी खोजीमा सतर्क भएको डीएसपी अर्जुन केसीले बताए । आमाछोरा बेपत्ता रहँदा उनको मोबाइल कोठामै भेटिनुले घटना रहस्यमय बनाएको छ ।अदालतमा अंश र सम्बन्धविच्छेदको मुद्दा हालेकी गीतालाई उनका पति दानबहादुरले कुटपिट गरेर यातना दिने गरेको आफन्तले बताए ।

दुई साताअघि गीता र उनका छोरा मारिदिने र गत वर्ष लुसा भीरमा लडेर मरेका उनका बुवाको पनि आफैंले मान्छे लगाएर भीरबाट धकेल्न लगाएर हत्या गरेको फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुर प्रहरी हिरासतमा छन् ।

यहाँ कमेन्ट गर्नुहोस्