३१ बैशाख २०८१, सोमबार

सुनथराली विमानस्थल उद्घाटन, जहाज हेर्न भीड (फोटोफिचर)

खबरसबैको, काठमाडौं सोमबार, फाल्गुण १४, २०८०

कालिकोटको सुनथरालि विमानस्थल सोमबार एक कार्यक्रम बिच उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रम तथा जहाज हेर्न ठूलो  स्थानिय बासि विमानस्थल पुगेका थिए ।

३८ वर्षपछि कालीकोटवासीको जहाज चढ्ने सपना पूरा हुने भएको छ। ०४२ सालदेखि निर्माण सुरु भई बीचमा गौचरन बनिसकेको  कोटबाडाको सुनथराली विमानस्थलको सोमबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले तामझामका साथ उद्घाटन गरेका हुन्।

आइतबार तारा एयरको विमान अवतरण गरेर परीक्षण गरेपछि सोमबार उपप्रधान तथा रक्षामन्त्री खड्का, नागरिक उड्डयनमन्त्री किराँती, कर्णाली मुख्यमन्त्री राजकुमार शर्मा, पूर्वमुख्यमन्त्रीद्वय महेन्द्रबहादुर शाही र जीवनबहादुर शाहीसहितको टोलीले नेपाल एयरलाइन्स र तारा एयरका दुईवटा जहाज अवतरणपछि विमानस्थलको उद्घाटन गरेका हुन्।

पानसमा बत्ती बालेर विमानस्थलको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री खड्काले लामो समयपछि निकै मिहिनेत र कठिन परिस्थितिका बाबजुद विमानस्थलको उद्घाटन गरेको बताए। विमानस्थल निर्माणका क्रममा मारिएका एक नाबालकसहित ३५ जना धादिङ जोगिमाराका मजदुरप्रति उनले श्रद्धाञ्जलीसमेत व्यक्त गरे।

विमानस्थलको उद्घाटन भएसँगै अब आवश्यकताअनुसार नियमित उडानका लागि स्थानीय, प्रदेश र संघ सरकारले काम गर्ने उनको प्रतिबद्धता छ।

 

सो अवसरमा नागरिक उड्डयनमन्त्री किराँतीले हप्ताको एकपटक यात्रुको चाप हेरेर उडान भर्ने बताए। ‘कोटबाडा मात्र नभएर अहिले कर्णालीका जिल्लामा नियमित उडान हुन सकेका छैनन्। यस्तो अवस्थालाई हेरेर हप्ताको एकपटक नियमित उडान भर्छौँ,’ किराँतीले भने। साथै सबै प्रदेशमा नेपाल एयरलाइन्सको एक–एक जहाज दिने उनको उद्घोष छ।

०४२ सालदेखि निर्माण सुरु भएको विमानस्थल डेढ वर्षअघि कालोपत्रे सकिए पनि उद्घाटन नहुँदा कालीकोटवासीको ‘चिलगाडी’ चढ्ने सपना पूरा हुन सकेको थिएन।

०७३ माघमा तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीले कच्ची धावनमार्गमा परीक्षण उडान गराए पनि त्यसपछि जहाज आएको थिएन।

यहाँ कमेन्ट गर्नुहोस्