३१ बैशाख २०८१, सोमबार

देशकै पहिलो पढाई कुना युक्त वडा घोषणा

खबरसबैको समाचारदाता, काठमाडाैं आइतबार, बैशाख १६, २०८१

‘एकघर एक पढाई कुना, नरहरिनाथ बालबालिकाको शिक्षामा सुधार दुई गुणा’ भन्ने मूल नाराकासाथ कालीकोटको नरहरिनाथ गाउँपालिका–३ लाई देशकै पहिलो पढाई कुना युक्त वडा घोषणा गरिएको छ ।

प्लान इन्टरनेश्नल नेपालको आर्थिक सहयोगमा, किर्डाक नेपाल कालीकोटको सहजिकरण र नरहरिनाथ गाउँपालिका वडा नम्बर–३ को आयोजनामा एक भब्य कार्यक्रमकाबीच वडा नं। ३ लाई देशकै पहिलो पढाई कुना युक्त वडा घोषणा गरिएको हो ।

पछिल्लो समय किर्डाक नेपाल लगायत अन्य विभिन्न संघ संस्थाहरुले नेपालमा पढाई लेखाई सिप सुधार परियोजना लगायतका परियोजना मार्फत शैक्षिक गुणस्तर वृद्धिका लागि देशका कुना कुनामा पढाई कुना सञ्चालन गरिरहेको छ ।

नरहरिनाथ गाउँपालिका–३ का वडा अध्यक्ष कटक बहादुर बुढाको अध्यक्षतामा, गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको प्रमुख आतिथ्यतामा, उपाध्यक्ष कमल कुमार शाह, शिक्षा अधिकृत दुर्गलाल न्यौपाने, पढाई लेखाई सिप सुधार परियोजना संयोजक पदम हमाल, प्लान तर्फका दिक्षा भाट लगायतको बिशेष आतिथ्यतामा र विद्यार्थी, शिक्षक, अभिभावक, विभिन्न सरोकारवाला, पत्रकार लगायतको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको पढाई लेखाई सिप सुधार परियोजना संयोजक पदम हमालले बताउनुभयो ।

बालबालिकाको पहिलो पाठशालाको रुपमा रहेको घरमा बालबालिकाको पढाई लेखाई सुधारका लागि पढाई कुना निर्माणका लागि एक अभियानको रुपमा विगत ३ वर्ष देखि यो परियोजना सञ्चालनमा थियो । अभिभावक र आआफ्नो बालबालिकाको पढाई प्रति थप जिम्मेवार बनाउनुका साथै पढाईप्रति चाँसो बढाउने हेतुले यसको सुरुवात थियो ।

पढाई कुना युक्त वडाका लागि वडामा बालविकास देखि कक्षा १२ सम्म अध्ययनरत बालबालिकाको घर सर्वेक्षण गर्दा ३० प्रतिशतसम्म पढाई स्तर वृद्धी भएको पाइएपछि वडा र गाउँपालिकाले प्रक्रिया पुरा गरेपछि पढाईकुनायुक्त वडा घोषणा गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै नरहरिनाथ गाउँपालिकाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि नगेन्द्र बहादुर बिष्टले पढाई कुनाले विद्यार्थीको पढाई लेखाईमा अत्याधिक सुधार ल्याउने यो कार्यक्रम अन्य वडामा पनि लागु गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रमका सभाअध्यक्ष तथा वडा नम्बर–३ का वडाअध्यक्ष कटक बहादुर बुढाले अभिभावक र विद्यार्थीँग पढाई कुनालाई निरन्तरता दिन आग्रह गर्नुभयो । आफ्नो वडा देशकै पहिलो पढाई कुनायुक्त वडा भएकोमा खुशि व्यक्त गर्दै सम्बन्धित सम्पूर्ण संघसंस्था र सरोकारवालालाई धन्यवाद व्यक्त गर्नुभयो ।

यहाँ कमेन्ट गर्नुहोस्