०१ कार्तिक २०८१, बिहिबार

खिड्कीज्यूला झोलुङ्गे पुलको फलामे लट्ठा चुँडिदा १५ वटा खच्चड पुलमै फसे

खबरसबैक‍ो समाचारदाता आइतबार, जेठ २७, २०८१

अछाम र दैलेख जोड्ने कर्णाली नदीको खिड्कीज्यूला झोलुङ्गे पुलको एकातर्फका फलामे लट्ठा (डोरी) चुँडिदा १५ वटा खच्चड पुलमै फसेका छन् ।

अछामबाट दैलेखको खिड्कीज्यूला बजारमा दैनिक उपभोग्य वस्तु ढुवानीका लागि ल्याइएका खच्चड अछामको पञ्चदेवल विनायक नगरपालिका–५ कालेकाडाबाट दैलेखको आठबीस नगरपालिका–४ खिड्कीज्यूला जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका हुन् ।

पुलको बायाँतर्फको दुई वटा लठ्ठा चुँडिएको खच्चड धनी जोरे रोकामगरले बताए । लठ्ठा चुँडिदा रोकामगरका ८ र स्थानीय राजेन्द्र बोहोराका ७ खच्चड पुलमा फसेका छन् । खच्चरहरु एकातर्फ ढल्किएको पुलको जालीमा खुट्टाहरु अडिएका छन् ।

कर्णाली राजमार्गको खिड्कीज्यूलाबाट झोलुङ्ग पुल तरेर अछामका ग्रामीण भेगमा दाल, चामल, नून, तेल लगायत दैनिक उपभोग्य वस्तु लैजाने गरिएको छ । कर्णाली नदीमाथिको खिड्कीज्यूला झोलुङ्ग पुल १५ वर्षअघि निर्माण गरिएको हो ।

जीर्ण पुलमा एकै पटक १४ वटा खच्चड हिँडाएपछि लठ्ठा चुँडिएको स्थानीय नयनबहादुर शाहीले बताए । खच्चड आइतबार बिहान ९ बजे पुलमा फसेका हुन् । स्थानीय जनकबहादुर थापाका अनुसार पुलका लठ्ठा चुँडिएपछि पुल कोल्टो परेर छेउका जालीमा खच्चडका खुट्टा अड्किएका छन् ।

दैलेख र अछाम प्रहरीले घटनास्थलमा प्रहरी पठाए पनि आइतबार मध्याहृन १२ बजेसम्म खच्चडको उद्धार हुन सकेको छैन । दैलेखका प्रहरी नायब उपरीक्षक सुनिल दाहालका अनुसार खच्चड निकाल्न सशस्त्र प्रहरी र जनपद प्रहरी टोली घटनास्थल गइसकेको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्