खबरसबैकाे समाचारदाता शुक्रबार, आषाढ २७, २०८२

भारतीय दूतावास, काठमाडौंले नेपाली युवाहरूका लागि सुरु गरेको राजदूत क्रिकेट फेलोशिप कार्यक्रमअन्तर्गत तीन जना नेपाली यू–१९ क्रिकेट खेलाडी भारतको भोपालमा एक महिनाको विशेष प्रशिक्षणमा सहभागी हुने भएका छन् ।
नरेन भट्ट, साहिल पटेल र पूजा महतोले १५ जुलाईदेखि १४ अगस्ट २०२५ सम्म भारतको एल.बी. शास्त्री क्रिकेट शालामा पेशागत क्रिकेट प्रशिक्षण लिनेछन् ।
नरेनले नेपाली यू–१९ क्रिकेट टोलीको कप्तानी गरिसकेका छन् भने पूजा महतोको कप्तानीमा नेपाली महिला टोलीले पहिलोपटक यू–१९ टी–२० विश्वकप खेलेको थियो । साहिल पनि यू–१९ क्रिकेट टोलीको सदस्य थिए ।
खेलाडीहरूलाई बिदाइ गर्न आज भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितिमा भेटघाट तथा अन्तरक्रिया गरेका थिए । सो अवसरमा राजदूत श्रीवास्तवले खेलमार्फत दुई देशबीचको मित्रता अझ मजबुत हुने विश्वास व्यक्त गर्दै तीनै खेलाडीलाई सफल प्रशिक्षणका लागि शुभकामना दिएका थिए ।
नेपाली क्रिकेट प्रतिभाको विकास तथा नेपाल–भारतबीचको जनस्तरीय सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित भारतीय दूतावासले यो कार्यक्रम ल्याएको हो ।