३१ भाद्र २०८१, सोमबार

चालक अनुमति पत्रकालागि उपत्यकामा निःशुल्क ‘ट्रायल’ सेवा शुरु

Khabarsabaiko बुधबार, पुष ०४, २०७५

खवर सबैको

काठमाण्डौ

सर्वोच्च अदालतमा मुद्दा परी ‘ट्रायल’ निःशुल्क सेवा दिन आदेश भएपछि उपत्यकाका तीन कार्यालयले आजदेखि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेको यातायात व्यवस्था विभागले जनाएको छ । उपत्यकाका तीन यातायात व्यवस्था कार्यालयले चालक अनुमतिपत्र (लाइसेन्स) वितरणका लागि निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेका छन् ।

निःशुल्क ‘ट्रायल’ सेवा शुरु गरेका कार्यालयमा सुकेधारा, ठूलो भर्याङ र भक्तपुरस्थित सल्लाघारी रहेको विभागका प्रवक्ता तुलसीराम अर्यालले राससलाई जानकारी दिनुभयो । सर्वोच्च आदेश दिएपछि कार्यालयले चालक प्रशिक्षण सञ्चालन गर्ने विद्यालयलाई प्रस्ताव पेश गर्न सार्वजनिक सूचना जारी गरेको थियो । जसअनुसार सुकेधारा कार्यालयका लागि तीन, ठूलो भर्याङका लागि दुई र भक्तपुरका लागि एक प्रशिक्षण केन्द्रले आवेदन दिएका थिए ।

आवेदन दिएका प्रशिक्षण केन्द्रलाई पालैपालो ‘ट्रायल’ गर्ने अनुमति दिएको उहाँले बताउनुभयो । सुकेधाराको ‘ट्रायल’ गर्ने अनुमति पाएको भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रालि गुर्जुधाराले आजदेखि शुरु गरेको छ । ४२ रोपनी क्षेत्रफलमा फैलिएको केन्द्रमा आज १५० जनाको ‘ट्रायल’ भएको प्रबन्ध निर्देशक माधवप्रसाद अधिकारीले जानकारी दिनुभयो । पहिलो दिन आज कार चालक अनुमतिपत्र लिन चाहनेको ‘ट्रायल’ भयो ।अरु सेवा पनि छिट्टै शुरु हुने केन्द्रले जनाएको छ र ठूलो भर्याङ र भक्तपुर कार्यालयले पनि यसै सातादेखि सेवा शुरु गर्ने विभागले जनाएको छ ।

 

यहाँ कमेन्ट गर्नुहोस्