०४ कार्तिक २०८१, आइतबार

प्रेम (कविता )

Khabarsabaiko बिहिबार, फाल्गुण ०२, २०७५

प्रेम दिवसको
थोरै अनुमान
धेरै जिज्ञासा
उत्साह र उमङ्गको संघारमा
नवीन ऋतुको आगमनमा
केही खुल्दुलीहरु पनि
खोई!थाहा छैन
के लेखेर झुड्याउँ
त्यो प्रेमरुपी पर्दामा ।

आमाको चिच्याहट
ममता खोसिएकोमा
संस्कार र संस्कृतिमा
पाश्चात्य छाएकोमा
बहिनीको इज्जत लुटिएकोमा
झट्ट उघारेर पर्दा
विकृत प्रेमको गन्ध
देखिन्छ गाउँ शहरमा।

मनोरम ठाउँ,हरिया चउर
झाडी र बुट्यानहरु
हाम्रा सम्पदाहरु
भञ्याङ चौतारीहरु
यी सबैसबै
दुर्गन्धित भए
सर्वाङ्ग -नाङ्गै भए

आधुनिकताको नाममा
जीवनको यथार्थ बिर्सिएर
गुगल र फेसबुकमा समय बिताएर
उदेक लाग्ने दृश्यमा रमाएर
खै कसरी हुन्छ साँचो प्रेम
खै कसरी हुन्छ समाज परिवर्तन
आँखाभरि सजाइएका सपना
स्वतन्त्रताको नाङ्गो रुप
जताततै जहाँतहीँ छरिएर
छरपस्ट फुटाएका मनहरु
खै कसरी जोडिन्छ ?
यो प्रेमको दरिलो डोरी!

Debaki Timalsina Samiksha लामो समय देखि कविता,साहित्यमा कलम चलाईरहनु हुन्छ ।

यहाँ कमेन्ट गर्नुहोस्