About Contact Links
Close
बिज्ञापन
फोसुम–छो अर्थात फोक्सुण्डो

Khabarsabaiko शुक्रबार, चैत्र १५, २०७५ मा प्रकाशित

यात्रा स्मरण

जग भण्डारी
जग भण्डारी

आखीर मनै न हो, बिहानै देखि तयार थियो, फोक्सुण्डो यात्राको लागि । आज शुक्रबार अफिसको काम छिटो बन्द गर्न सकिन्न कि भन्ने डर पनि थियो । एक बाल्टी पानीले पासपोर्ट साइजको नुहाई धुवाइ पछि खाना खाएर अफिस खोल्ने हतारोमा थिएँ । किनकि ९ बज्दै थियो । राजन मामाको फोन आयो काठमाडौंबाट । जग, कमिङ्ग सन्डे सिमकोट टाइम्स पब्लिस गर्नुप¥यो । केही मटेरियल र तिम्रो आर्टिकल पठाउ–मामाले भन्नुभो । मैले फोक्सुण्डो घुम्न जान लाको कुरा सुनाए । ओ हो, तीन महिना भएछ, सिमकोट टाइम्स बाट टाढा भएको । सिमकोट टाइम्स साप्ताहिकको सह सम्पादक, हुम्ला पत्रकार महासंघको जिल्ला कमिटि सदस्य अनि जिल्लामा कलम चलाउने मोफसलको फुच्चे लेखक, मैंले त आफूले आफूलाई बिर्सेछुँ । सिमकोट टाइम्स मार्फत जर्नालिजम फर डेभलपमेन्ट शुरु गरेको पनि तीन बर्ष भइसकेछ । पाठकले बिकासबादी, उर्जाशिल, आक्रामक र बस्तुबादी लेखकको फुक्र्याइ दिँदा झन लेख्न मन लाग्थ्यो । म अहिले डोल्पामा भएर के भो त लेखिहाल्छु नि सिमकोट टाइम्सको लागि–मनमनै भनें राजन मामालाई । खाना खाँदा साढे नौ भएछ । अफिस खोलें । भाइ नविनलाई साढे १ बजे हिंड्ने गरी काम गर्नु भनेर हाकीमको निर्देशन पछारें । कस्टोमर इज गड । २ बजे सम्म आएका आयै । बल्ल तल्ल २ बजे कारोबार बन्द गरियो । खाजा खाने फुर्सद सम्म भएन । भाइ केशबले रोटी र तरकारी पोको पा¥यो । भाई नविनले पनि झोला कस्यो । बैंककै अगाडि रहेको कालीका माईलाई मनमनै ढोग गरेपछि बल्ल शुरु भयो फोक्सुण्डो यात्राको पहिलो एक जोर पाइला । मैंले हिड्दा हिड्दै भने, भरपुर मजा गर्नुपर्छ, घुम्नु भनेको मजा गर्नु हो, भित्रि मनदेखि फिल गर्नु हो । नबिनले स्वीकारोक्तिको मुण्टो हल्लायो । बैंकको जागीर, नो प्राइभेट लाइफ, होम एण्ड फ्यामिली सिकनेश, साउने पूर्णिमा जस्तो ठूलो चाडमा घर बाहिर थिएँ । सारै नमजा लाइरहेको थियो ।

फोक्सुण्डो यात्रा साँच्चिकै रमाइलो गर्ने र आनन्द लिने माध्यम थियो, केहि दिनको लागि भएपनि । सुलिगाड ब्यारेकको झोलुङ्गे पुल पार गर्न हतारिरहेको थिएँ । किनकि फोक्सुण्डो तालको पानी हामीलाई स्वागत गर्न कुरिबसेको थियो । फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालयलाई पछाडी छोडीसकेपछि पेटमा मुसा कराएको सुनियो । रोटीमा तरकारी कोचेर भेज बर्गर सम्झदैं खाइयो । नबिन भाइ र म फोक्सुण्डो यात्राका लागि नयाँ तर भाइ केशब पहिला एकपल्ट गाको रहेछ । फोक्सुण्डो नदि आफैमा युनिभर्सल गाइड भएर बगिरहेको थियो । फोक्सुण्डो जता जता बग्छ, त्यतै त्यतै पाइला बढाए ठ्याक्कै पुगिन्छ–भाइ केशबले अनुभब सुनायो । कागनी मा एक हुल बिदेशी पाहुनाहरु संसारै बिसाएजस्तो गरि सुसाईरहेका थिए । कागनी जुफाल, दुनैबाटको पहिलो क्याम्पीङ्ग रहेछ । मोबाइल घडीमा चार बजेछ । एउटी बुढी आमै आपूm भन्दा अजंगको भारी बोकेर सगरमाथा चढिरहेकी थिइन् । हामीले उछिन्न खोज्यौं । बाबुहरु कता जाने ? कहाँबाट आको ? बुढी आमैेले सोधिखोजी गरिन् । हामी छेप्का पुग्ने हो– नबिनले भन्यो । म पनि त छेप्का पुग्ने हो–आमैले भनिन् । बुढो शरीर त छेप्का पुग्छुँ भन्छ भने हामी त छिटै पुगिने आश बढ्यो । बुढी आमैको पिठ्युँको भारी देखेर जिन्दगीको फरक परिभाषा फिल भयो । सायद यी आमैलाई जिन्दगी के हो भनेर सोध्यो भने– पिठ्युँको भारी हो भनेर सवाल जवाफ आउँछ होला । बरु नसोध्नु नै बेश ।

 

धमिलो न धमिलो रिसाउदै बगेको खोला, नजीकै होटल र टुरिष्ट क्याम्प । स्याङ्गटा रहेछ । पुल माथि नै उक्लिएला जस्तो खोला लाई ब्याकग्राउण्ड पारेर फोटा खिचिक्क पारेपछि अगाडि बढियो । घाम डाँडा पोरी लुकिसेको थियो, भोली झुल्किने बाचाका साथ । गोधुँली साँझ बढ्दै थियो । सल्लाका पातलमा कटझ्याँको म्युजिक घन्किरहेको थियो । वेलकम टु छेप्का । वरैबाट साइन बोर्ड देखियो । मोवाइल घडी स्वाइप गरे । सात बजेछ । होटेल छिटो बुक गरेर उत्तानो पर्ने सोचमा थिएँ । छेप्का होटेल एण्ड लज । एउटी भर्खरकी फुच्ची बार्दलीमा उभिरहेकी थिई । भाइ नबिनले खाना, बस्न सोध्यो । छ–छ माथि नै आउनुस–फुच्चिले भनी । भ¥याङ्ग चढेर माथि उक्ल्यौं । कोठा देखाउन भन्यौं । झोला राख्यौं । खाना पाक्दा सम्म पल्टिने मुडमा थियौं । भोटे चिया खानुहुन्छ दाइहरु–फुच्चीले सोधी । नाई भन्न सकेनौं । भान्छामा छिर्यौं । अस्थिपञ्जर जस्तै तिङ्गरिङ्ग काठको दराज, फाटेको फलामको चुलो, खुट्टा पसारेर उत्तानो परेका दुई तीनटा पकाउने भाँडा र थाल, कचौरा । कस्तो होटेल रहेछ । ब्यबस्थित पनि छैन–मनमनै सोचें । एक कितली भोटे चिया पाक्यो । फुरुमा चिया टक््रयाई फुच्चिले । उसले टेलिप्याथी बुझिछ कि क्या हो । भाँडा, कुँडा जोड्न सकिएको छैन । म आको जम्मा बाह्र दिन मात्र भयो । अझ यति त जोडजाम गरेकी छुँ–भन्दै स्पष्टिकरण दिन खोजी । मेरो गेस फेल खायो । मैंले त होटेल साहूको छोरी पो भन्ठानेको थिएँ त । भर्खरै बिहे गरेर आकी चेली पो रहिछे । चियाको एक सुर्को घट्नै नपाउने, थपी हाल्थि फुच्चिले । भर्खरै बिहे गरेर आएँ । साह्रै न्यास्रो लाग्छ । छिमेकीहरु सँग घुलमिल छैन । भर्खरै बिहे गरेको मान्छेलाई पनि न्यास्रो लाग्छ त, अरु किन चिन्नु प¥यो त, श्रीमान भए भइहाल्यो नि मैंले स्वभाविक कुरा बोलेकी जस्तो लाग्यो । श्रीमानको त कामै छैन । दिउँस भरि रात भरि हराउँछ । जाँड खान्छ । पिट्छ । वास्तै गर्देन । दाइहरु म त नराम्रो सँग फसें । मेरो मञ्जुरी बिना जबर्जस्ती बिहे भाको । कहिले त बिष खाएर, झुन्डिएर मरु जस्तो पनि लाग्छ । बिहे भाको भर्खर बाह्र दिन मात्रै भयो रे, हनिमुन पिरियोड ।

 

आत्महत्या गर्ने कुरा गर्छे । कता कता मनको कुनामा घोचेजस्तो भयो । मैंले नाम सोधें । उसले त उमेर समेत भनि । नाम बर्षा गुरुङ्ग, उमेर सोह्र बर्ष । साँच्चैे बर्षा जस्तै नै थिई, जवानीले भिजेकी । गुरुङ्गको छोरी, अलि थेप्चो नाक, कमलो दुधे ओठ भित्र लुकेर बसेका जुनेली दाँतहरु । श्रीमति भनेको त सालीन र सुन्दर पो हुनुपर्छ अर्थात गल्यामरस र पोलाइटनेस लेडीजको गहना हो । बर्षा साँच्चै नै कसैकी पर्फेक्ट धर्मपत्नि थिई । तर उनको अनुहारमा ओरिजीनल खुशी थिएन । उनको फेसमा इनोसन्स आउटलुक बुझ्न कुनै गाह्रो थिएन । एक कितली चिया सिधेको पत्तै भएन । नबीनले भोड्का खाने कि भनेर पर्मिसन माग्यो । मैैले हुन्छ भनें । बर्षाले तीनटा गिलास टक््रयाई । तर भाई केशब भर्खरको टिनएजको फुच्चे, हामी दाईको अगाडी खाने कुरै भएन । नबीन र मैलें घुट्क्याउन शुरु ग¥यौं । मासु रहेनछ । मुला काटी बर्षाले । परिचय गर्दे जाँदा थाहा भयो । बर्षा को माइत त नबीन भाईको छिमेकी गाउँमा पो रहेछ । नबीनले बर्षाको ममीलाई पनि चिन्दो रहेछ । बर्षा झन् खुलेर बोल्न थाली । बुवा सानै हुदा बित्नु भो । मेरो ममी कान्छी हुन् । ठूलो ममीका छोराहरु त छन् तै पनि कसैले हेर्देनन् । तै पनि बर्षालाई माइत नै प्यारो थियो । भन्दै थिई–हाम्रो माइत त कस्तो फराकिलो ठाउँमा छ, यो ठाउँ त जंगलको बिचमा, बस्नै गाह्रो छ, न्यास्रो लागेर आउँछ । बर्षाको अनुहारको इनोसन्स भाव झनै छताछुल्ल भएर आइरहेको थियो । ह्दयमा हुमन सेन्टिमेन्ट ले ठाउँ लियो । तर गर्न के नै पो सकिन्थ्यो र, आज दुख भए भोली सुख हुन्छ–जिन्दगीको यही पुरानो परिभाषा सुनाएँ, बर्षालाई । आत्तिनु हुन्न बहिनी । श्रीमान नराम्रो भएपनि तिमी राम्रो हुनुपर्छ । श्रीमानलाई सुधार्न सक्नुपर्छ । मरेर होइन बाँचेर देखाउनुपर्छ, बाँचेर मात्रै होइन केही गरेर देखाउनुपर्छ । सायद मेरो ठाउँमा अरु कोही मनुष्य भएको भए यसरी नै भन्थे होलान् । मैंले पनि यसरी नै भनें । कति मीठो मुला, भोड्कामा खुबै सुट भाथ्यो । एक जना लोग्ने मान्छे भित्र पस्यो । बर्षाले मुखको भोलुम बन्द गरी ।

पक्कै नै उनको लोग्ने हुनुपर्छ–मैंले गेस गरें । हामी पनि चुप भयौं । बोली लर्बराएको थियो उनको लोग्नेको । भोटे भाषामा रुखो पाराले बर्षालाई केही बोल्यो । कुरो बुझे मार्दिनु । दाइहरु खाना हाल्दीम भनेर हतारको अनुमति मागी । हामीले हुन्छ भन्यौं । बिस्तारै खानुस सरहरु, उनको लोग्नेले बोल्यो । गीलास पनि रित्तीनै लागेछ । बर्षाले भात पस्की । भात खाएर सुत्न हिड्यौं । इनोसन्स फेस, हाँस्ने खेल्ने जवानी, जंगली लोग्ने । बियोगान्त फिल्म हेरेपछिको दिमागी चित्रण जस्तो । कति खेर निदाइएछ । पत्तै भएन । झिसमिसे उज्यालो कोठामा छिरेपछि मोबाइल घडी हेरें । बिहानको साढे पाँच भएछ । नबीन र केशबलाई ब्युझाँए । बर्षा पनि उठी सकिछ । खाको, सुतेको कति हो–केशबलाई सोध्न लगाएँ । भोटे चिया नखाई जानै नदिने उर्दी कसी । एक कितली भोटे चिया बसाली । हतार हतार चिया सिध्यायौं । खाना र बसेको मात्रै लिई । चिया र मुलाको लिनै मानीन । फर्किदा यतै फेरी बस्ने गरी आउनु होला–आशालाग्दो स्वरमा बोली । गरिबलाई दिउँला नभन्नु, राँडीलाई लिउँला नभन्नु । बास बस्ने गरेरै त भन्न सकिन्न बहिनी, खाना खाने वा खाजा खाने गरेर चाहिँ पक्कै आउँला । यति भनेर हामी झोला बोकेर तल बाटोमा झ¥यौं । बर्षा पनि सँगसँगै भाँडा माझ्ने निहुँ गरेर तल झरी । हामीलार्ई पु¥याउन झरेजस्तो । सात बजेछ । फोक्सुण्डो यात्राको दोश्रो दिनको अध्याय शुरु ग¥यौं ।

 

सल्लाघारी घना जंगल, फोक्सुण्डो नदिको तीरै तीर, बिहानी शितल, फोटो खिच्दै अघि बढिरह्यौं । तर पाइलाको गति हिजो भन्दा थोत्रो अनुभब भइरहेको थियो । मेरो कम्मर मुनिको लिगामेन्ट खुट्टा उठाउनै नमिल्ने गरि दुखिरहेको थियो । तर फोक्सुण्डो दर्शन गर्ने इच्छा शक्ति झनै निखारिएर आएको थियो । बाटोभरी कालै लटरम्म ऐंसेलु । भाइ केशब देख्यो कि टिपिहाल्थ्यो । सित्तैमा खाइयो । बाटोमा केशबलाई जिस्क्याइरहन्थें । ता कि अर्ड फिल नमानोस भनेर । घुम्न र मजा गर्न हिड्दा पनि के को हाकिम र सहयोगी । त्यही भएर नबीन र केशब सँग फ्रेन्डली हुन खोज्थें । अलि उकालो बाटो, घामले शिरमा छुनै लागेको थियो । जस्ताले छाएको बिसौनी, आराम त गर्ने प¥यो । थाकेका मान्छे बिसाउन् भनेर बनाको बिसौनी हो, बिसाउनै प¥यो नि दाई, नत्र बिसौनीको अपमान हुन्छ– नबिनले ठट्टा ग¥यो । मेरो ध्यान बिसौनी साहित्यले तान्यो । “जिन्दगीको बिसौनीमा बिसाएपछि, मजा आउँदो रैछ । दाँतै किन हाँस्नु प¥यो र सानी, ओठ हाँसे पुग्छ, अनि पो माया छाउँदो रैछ ।” गजब लाग्यो । धन्यबाद छ, प्रदेशी बी.सी.जी लाई मन छुने सायरी का लागि । आज दिनभरि हिड्नु पर्छ । फोक्सुण्डो पुग्नुछ भनेर हामी रेडिमेड मानसीकता लिएर हिडिरहेका थियौं । तर कति हिड्नुछ भनेर पत्तै थिएन । ओरालो झरियो, भ¥याङ्ग ओर्ले जस्तो सिधै खोलाको बगर छुने गरेर ।

ओरालो झर्दा झर्दा ठाडै उकालोमा नाकै ठोकिन पुगेको पत्तै भएन । साँघुरो उकालो बाटो, सर्प गुजुल्टीए जस्तो । पारी पट्टी चट्टान । तल फेदीमा आँखा र मुटुको धड्कनले नभ्याउने गल्छी भित्र लुकेको फोक्सुन्डो नदीको सुसाहट । कमजोर मुटु भएको, छारे रोगी मान्छे त कामै छैन है दाइ यो बाटोमा–नबीनले भन्यो । तल हे¥यो कि पाइला रोकिएला जस्तो । हिंडेको हैन, रक क्लाइम्बिङ्ग को अभ्यास गरेजस्तो । हिड्दा हिड्दै केशब भाई टिनएजको चञ्चलता प्रदर्शन गर्दे मूल बाटो छोडेर अर्के बाटो लाग्यो । चिप्ल्यो भने आमा भन्न पनि पाइन्न । मुल बाटो मात्रै हिँड भन्दै मैले गाली गरें । केशबको चञ्चलता देखेर मैंले चार बुँदे वाकिङ्ग कोड अफ कन्डक्ट जारी गरें । उल्टो बाटो हिड्न नपाइने । मेरो पछि पछि मात्रै हिँड्नुपर्ने । तल नहेर्ने । बाटोको माथिल्लो साइड च्यापेर मात्रै हिड्नुपर्ने । वाकिङ्ग कोड अफ कन्डक्ट भन्दै नबीन मेरो शब्द सापटी लिएर हाँस्यो । भिरको बाटो, टुपैमा पुगिएछ । सिरसिरे हावा । माथिल्लो साइड च्यापेर आराम गर्न बस्यौं । नाइन्टी डिग्रीको खोंचमा नदी, हामी सँग आँखा जुधाइरहेको पारीपट्टी चट्टानको ताँती । यही चट्टान कसैलाई डरलाग्दो हुन सक्छ त कसैलाई रहरलाग्दो हुनसक्छ । मैंले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल संसद सम्बोधन सम्झें । नेपालले एड्भेन्सचरस स्पोर्टसका लागि बिश्वका युवा युवतीहरुको मन पागल बनाउन सक्ने ठूलो सम्भावना छ ।

बेकामका चट्टानहरुले डलर बगाउने सम्भावना मैले पनि देखें । खैर कसरी सम्भव होला र ! यातायात र बाटोको सहज पहुँच छैन । राज्यको दीर्घकालीन सोंचको त कुरै नगरौं । राजधानीबाट उडेर आउनुपर्छ । लगानी कसले गरिदिने । हामी भिरकै ओरालो बाटो लाग्यौं । धेरै पर पुगेपछि नदी छेउ सँगैको गौंडो आइपुग्यो । हामी भन्दा अगाडी एक हुल बिदेशि पर्यटक सँगै खच्चडको ताँती थियो, गौंडोमा । अर्के ग्रहमा बसाई सर्न लागे जस्ता । मलाई कता कता सोच्न बाध्य बनायो, मोदीको पर्यटन उद्योगले चना ब्यापारी देखि चाया ब्यापारीले डलर कमाउन सक्ने मोदीबाणी प्रति । यस्तो गौंडोमा एक खच्चड खस्यो भने के कमाउनु, गुमाउनु मात्रै छ । खच्चड सँग जोडिएको खच्चड गोठालाको खच्चड जिन्दगी फिल गरेर जिन्दगीको परिभाषाले नयाँ परिभाषा पाएजस्तो लाग्यो । सायद खच्चड गोठालालाई जिन्दगी के हो भनेर सोध्यो भने जिन्दगी यहि खच्चड हो भन्नेमा कुनै शंकै थिएन । उसै त खाइलाग्दा र अग्ला खैरे, त्यसमाथि आपूm भन्दा ठूलो लगेज बोकेर आफ्नै रफ्तारमा हिंडेको देख्दा तीनको हिंडाइ प्रति डाहा लागेर आयो । अनि सोचें, लाइफ इज जर्नि । के साँच्चै होत ? यो परिभाषा पनि खुइलिए जस्तो लाग्यो ।

जिन्दगीको परिभाषालाई चुनौती दिन मन लाग्यो । जिन्दगी भोेगाई हो, यसलाई कतिले फिल गर्छन त कतिका लागि डजन्ट म्याटर । तर यथार्थ यो हो कि भोगाईको अनुभब यात्राबाट मात्रै सम्भब हुन्छ ।  खैरेहरुको नमस्ते अनि ह्याभ अ नाइस जर्नी स्विकारेर बाटो उछिन्यौं । खोलाको बगर अनि गौंडाहरुमा फोटो सेसन गर्दे अगाडि बढ्यौं । बोर्डिङ्ग पुगियो दाई–नबिनले भन्यो । बिदेशीले सहयोग गरेको बोर्डिङ्ग । खाना, बस्न र पढ्न सब फ्री–उसले थप्यो । राज्यको उपस्थिति छैन । बिदेशीको सहयोग । कहिले सम्म फ्री शिक्षा, अर्काको भरमा । बैंक उद्घाटन ताका गणेश सरले जुफालबाट दुनै झर्दा जीपमा भन्नुभाको कुरा याद आयो । कर्णाली जस्तो बिकट ठाउँमा हेलीकप्टरबाट बोकाएर चामल खुवाउनु, सिटामोल, कापी, कलम र किताब बाँड्नु भन्दा कर्णालीका ढाई लाख जनता (जुन कि तराईको एउटा नगरपालीका बराबर होइनन्) लाई तराइमा बसाई सारेर यो क्षेत्रलाई जडीबुटी जन्य औद्योगिक क्षेत्र नै घोषणा गर्दा कसो होला ? गणेश सरको यो भनाईले मलाई यतिखेर साह्रै छोयो । मैले यहि भाव नबीनलाई सुनाएँ । उसले सहमति जनायो ।

 

दो बाटो । वे टु फोक्सुण्डो लेखिएको बोर्ड । त्यतै लागियो । एक पछि अर्को दुइटा पुल तरेपछि रेंची पुगियो । ३०१० मिटरको उचाई । खाना चुनुवार मा खानुपर्छ, अझै एक घण्टा लाग्छ–केशबले भन्यो । भोकको पारो उकालो चढीरहेको थियो । खुट्टाका रफ्तारहरु ओरालो झर्ने खोज्दै थिए । बिस्कुट र चाउचाउ फुटाइयो । घडीले बाह्र बजायो । चुनुवार पुगिएछ । वेलकम टु झरना होटेल । भाइहरुले खाना अर्डर गरे । आपूm त थकाई र लिगामेन्टको दुखाइले बोल्न पनि पैसा पर्ला जस्तो, बोल्दै नबोली खाना खाने टेबलमा उत्तानो परें । खाना तयार भयो । भोकले कति खाइयो थाहै भएन । जे होस भात खाएर उकालो लागियो । उकालो सँगै हाइट बढ्दै थियो । स–स्याना बुट्यान । मरुभुमी । पोल्ने घाम । पाइला उचाल्न खोज्यो, उल्टै तल झर्ने । भाइ केशबले टाउकै माथि उभिएको भ्यु प्वाइन्ट देखाउदै भन्यो । त्यहाँबाट फोक्सुण्डो झरना (सुलीगाड झरना) देखिन्छ, अनि फोक्सुण्डो तालको एक छेउ पनि देखिन्छ । त्यही हेर्ने हतारोले भ्यु प्वाइन्ट पुगेको खासै पत्तो भएन । स्वर्गकी अप्सराले रंगी बिरंगी सारीका फेरहरु फड्कारे जस्तो । झरनाको बाछीटाहरु घाम सँग ठोकिएर बन्ने सप्तरंगी इन्द्रेणी कम्ती सुन्दर थिएन ।

कस्तो आक्रामक झरना, पहाडको बिचबाट हतार हतार हाम फालिरहेको थियो, गंगामा मिसिन । यो झरनाबाट बिजुली निकाल्यो भने सारा नेपाल उज्यालो हुन्छ रे, नबीनले कथा अनुमान सुनाइरहँदा मोदीको पानी र जवानी को याद आयो । न यो देशमा पानीको सदुपयोग छ, नत जवानीको सदुपयोग छ । यी दुई बिना बिकासको परिकल्पना बेकार छ । झरनालाई पृष्ठभुमिमा पारेर दर्जन फोटाहरु खिच्यौं । झरनाको पारीपट्टी पहाडको बीचमा प्राकृतिक अजंगको प्वाल थियो । भिमसेनले खोपेको प्वाल भन्ने कथन रहेछ । यसको फोटो खिच्न पनि कम्ति रमाइलो भएन । फोक्सुण्डो तालको एक सानो छेउ देखियो । अब हिडौ । घाम छँदै पुग्नुपर्छ । घाममा फोटोहरु क्लियर आउँछन् । मैंले भने । हेर्दा नजीकै देखिन्थ्यो । तर अझै एक घण्टा लाग्छ–केशबले भन्यो । अलि उकालो चढेपछि भोजपत्रको जंगल हुँदै अगाडी बढियो । ठीक पौने घण्टा लाग्यो, फोक्सुण्डो ताल सँगै जोडिएको ३६३४ मिटर उचाईको रिङ्गमो गाउँ पुग्न । सवा तीन बजेछ । हामी सिधै ताल भएतिर सोझियौं । घाम छँदै थियो । बिदेशी पर्यटकहरु तालको किनारहरुमा टेन्ट टाँगेर फोक्सुण्डोको आनन्द लिइरहेका थिए । तालको वल्लो छेउबाट पल्लो छेउ हेर्न नाँगो आँखाको दृष्यले भ्याउन सम्भब थिएन । आकाशको एउटा टुक्रा भुइमा खसे जस्तो । असाध्यै नीलो पानी ।

शान्त र संयम । चारैतीर चट्टानको पर्खाल । स्वर्गको फुलबारी भन्दा पनि सुन्दर । फोक्सुण्डो संसारकै गहिरो ताल होला नहोला नो म्याटर, तर कसैको मन भन्दा साँच्चै नै गहिरो थियो, त्यही भएर त जो कसैको मन पनि मैन बनेर पग्लिरहन्छ, फोक्सुण्डोको छाती देखेर । मोडलिङ्ग शैलीमा कती फोटोहरु खिचियो, गन्ती गर्ने फुर्सद कसलाई पो थियो र । आज साउने पूर्णिमा को चतुर्दशीको दिन, गाउँमा धामी नाच अनि साथीहरुले देउडा खेलिरहेका होलान भन्ने याद आयो । मैले मनलाई स्थिर बनाउन खोंजे, फोक्सुन्डोको आनन्द सँगै । तर सकिनँ । स्वर्गीय माता र बजैंलाई सम्झें । लुगा खोलेर नुहाँए । पर्सबाट पैसा झिंके । फोक्सुण्डोको दुर दुरसम्म हेर्दे ममी र बजैंलाई सम्झें । तपाईहरुको आत्माले स्थायी शान्ती पाओस् । अर्को जुनीमा तपाईहरुकै छोरा र नाती भएर जन्मन पाउँ ।

 

पबीत्र फोक्सुण्डोमा उहाँहरुको नाउँमा पिण्ड चढाएँ । केशबले फोटो खिचेको पत्तै पाइन । केशब र नबीनले पनि नुहाए । एकजना टुरिष्ट गाइड सँग परिचय भयो । फोक्सुण्डोको बारेमा प्रश्नहरु तेस्र्याएँ । फोक्सुण्डोेको खास नाम भोटे भाषाबाट फोसुम छो हो । फोसुम भनेको तीन कुने हो छो भनेको ताल हो । अपभ्रंश भएर फोक्सुण्डो हुन गको हो–उनले स्पष्ट पार्न खोजे । हुन पनि फोक्सुण्डो तीनकुने थियो । धेरै गहिरो भएको हुँदा फोक्सुण्डो पानी आकाश भन्दा पनि नीलो भएको बैज्ञानीक तथ्य पनि सुनाए उनले । फोक्सुण्डोको बायाँपट्टी चट्टानमा पेन्सिलले धर्का कोरे जस्तो बाटो थियो । से गुम्बा हुँदै क्याराभान हिरो ठिन्लेको गाउँ साल्दाङ्ग अनि तिब्बत जानो बाटो रहेछ । डोल्पाली हिरो ठिन्लेको क्याराभान को सुटिङ्ग यहि डरलाग्दो बाटोमा भएको रहेछ । एरीक भ्याल्ली को क्यामेराले फोक्सुण्डो कैद गरेको रहेछ । त्यही चट्टानको बाटोबाट चौंरी खसालेर तालमा डुबाएको रे । तर त्यो चौंरी साँच्चैको चौंरी नभई क्यानडाबाट बनाएर ल्याएको खेनौला चौंरी रे–उनी सुटिङ्गको भेद समेत खोल्दै थिए । सात बज्नै लाग्यो । हामी होटल खोज्न निस्क्यौं । शेर्पा होटेल एण्ड लज । होटेल मालिक सँग परिचय भयो । हामी बैंकका कर्मचारी भन्दा बित्तिकै खुलेरै बोले । पहिला डोल्पामा राम्रो बैंक नभएर आफूले पैसा घरमै राख्ने गरेको यथार्थ सुनाइहाले । नुहाएर अलि जाडो महसुस भइरहेको थियो । भोटे चियाको स्वागतले न्यानो बनायो । होटेल मालीकसँगको गफै गफमा एक एक ट्वाग पनि लियौं । वहाँले पनि लिनुभो । बर्षामा भोटतिर जाने, चौंरी पाल्ने, यार्साको ब्यापार गर्ने, हिउँदमा दुनै झर्ने, काठमाडौं पुग्ने, आफ्नो क्याराभान शैली पनि सुनाए साहुले । यो बर्ष तिब्बतमा राम्रो खालको यार्सा गोल्ड रेटमा ३० लाख सम्म बिक्रि भएको यार्सा यथार्र्थ सुनाउन पनि कन्जुस्याई गरेनन् । घरलगाउने ठेक्कापट्टा गर्छु । जाजरकोटबाट आएको हुँ भन्दै होटेल मालीकको छेवैमा बसेको युवाले परिचय तेस्र्यायो हामी सँग । यो सिजनमा यार्सा टिप्न र खरिद गर्न जाँदा नाउरे मा आफ्नो दश लाख लुटिएर कंगाल भएपछि पेट पाल्न घर लगाउने ठेका गरिरहेको अर्को यार्सा यथार्थ सुनाउदै थिए उनी जाजरकोटे ।  उनी भन्दै थिए–यो डोल्पामा जीउ धनको सुरक्षा नै छैन । जसले जे गरेपनि हुन्छ । जिल्लाको सुरक्षा निकाय प्रति रोष प्रकट गर्दे थिए । मैंले, सोचे भन्दा फरक यार्सा सँग जोडिएको यार्सा जिन्दगी फिल गरिरहेको थिएँ । यार्साबाट कमाउने पनि छन्, जीउ धन गुमाउने पनि छन् । मेरो मनले यस्तै निष्कर्ष निकाल्यो । दुनैको भातको स्वाद फेर्न हामीले मकैको ढिंडो अर्डर गरेका थियौं । चौंरीकोे मोही सँग मकैको ढिंडो, स्वादे जिब्रोले ठूलै आनन्द लियो । दश बजेछ । हामी सुत्न निस्क्यौं ।

 

झिसमिसे उज्यालो कोठामा छिरेपछि हात मोबाइल तिर लतारें । सवा पाँच भएछ । होटल साहुलाई उठाएर बिल तीर्न अह्राएं केशबलाई । होटल साहुले भोटे चिया खाएर जानु भने । भोटो चिया पाक्दा सम्म हामी फोसुम छो को मोर्निङ्ग शो हेर्न गयौं । आज साउने पूर्णिमा अर्थात जनै पूर्णिमा । फोसुम छो को पवित्र पानीमा आँखाको पिप्रा पोछ्यौं । बाल सोझ्यायौं । फोटो खिच्नु त आदत नै भइसकेछ । होली प्लेस फोसुम छो कि जय । फोसुम छो लाई बाई बाई गर्दे हामी होटेल तिर लाग्यौं । चिया तयार भइसकेछ । एक कितली भोटे चिया अनि सातु पनि खाइयो । होटेल साहुले नयाँ प्रबिधियुक्त हाइड्रोपावर पनि देखाए । नजीकै अलि तल फोसुम छो कै खोलामा रहेछ । खोलाकै बिचमा जुम्ल्याहा पर्खाल, त्यसमा चढाइएको टर्बाइन अनि पानीतिर फर्केको पंखा जस्तो घुम्ने मेसिन, जस्ट यती हो रे बिजुली जेनेरेट गर्ने । जर्मनीले सहयोग गरेको जर्मन टेक्नोलोजी रहेछ । पुरै फोक्सुन्डो गाउँलाई उज्यालो बनाएको रहेछ । यसको लागि स्लोप परेको खोला नभएर समथर एकनाशको खोला चाहिँदो रहेछ । होटेल मालीक सँग बिदाइको हात मिलाएपछि फोसुम छो यात्राबाट फर्कियौं । हामी सुलीगाड झर्ना पुग्दा अलि अलि कुहिरोले ढाकेको थियो तर उस्तै गरी आक्रामक भएर हामफाली रहेको थियो । ओरालो बाटो । घुँडाका स्प्रीङ्गहरु लुज भएजस्ता । हिड्नै गाह्रो ।

खाना कुन ठाउँमा खाने ? नबीनले भन्यो–बाह्र एक बजेसम्म पुगिहालिन्छ, छेप्कामै खाम दाई, बर्षा बहिनीकोमा । मैंले अस्तिको वाचा सम्झें । फेरी शुरु भयो फोसुम छो नदिको किनारै किनारको रिटर्नब्याक यात्राको निरन्तरता । काठे पुलका सिंगौरी । काठकै स्क्रु, काठकै वासर, काठकै डण्डी । कुनै सिभिल इन्जिनियरिङ्ग भन्दा कम थिएन काठे पुलहरुको परम्परागत प्रबिधि । गन्ने फुर्सद त थिएन, तैपनि १०–१२ बटा काठे पुलहरु त तरिएहोला । काठे पुलसँग जोडिएका जिन्दगीहरु –मनमनै सम्झें । यी पुलहरु नहुदा हुन् त फोसुम छो यात्राको कल्पना समेत गर्न गाह्रो छ । बोर्डिङ्ग स्कुलमा पुगिएछ । एकजना केटा मान्छे हामी भए तिर हतार हतार दौड्दै आयो । हिजो राती आफ्नो १३ बटा खसी चोरिए–ऊ अत्तालिएर भन्दै थियो । ओठ मुख कलेटी पारेर यत्र तत्र कुदिरहेको थियो । उसको जिन्दगी नै तीनै १३ खसीमा अडिएको होला, अनि नदौडेर के गरोस बिचरा । खै त गुड गबर्नान्स ? खैत प्रीसेन्स अफ स्टेट ? मैंले लालु पालाको बिहार सम्झें । खोलाको बगरै बगर, खच्चड जिन्दगीको लस्कर, खैरेहरुको नमस्ते फर्काउदा फर्काउदै ठाडै उकालोमा नाकै ठोकियो । फोसुम छो यात्राको सबैभन्दा डरलाग्दो बाटो–मैंले सम्झें । अस्तिको चार बुँदे वाकिङ्ग कोड अफ कन्डक्ट रिइस्यु गरें । यो अप्ठ्यारो, उकालो र ओरालो बाटो काटेपछि केशबलाई अगाडि पठाइयो, छेप्कामा खाना अर्डर गर्नका लागि । म र नबीन बिस्तारै स्वभाभिक हिँडाई हिडिरहेका थियौं । भोकले पाइला सार्न पनि मुस्किल थियो । एक बजेछ । छेप्का पुग्यौं । दाइहरु त बोलीका पक्का रहेछन् । आज यतै बस्नुस । भोली बिहानै हिंडे त दुनै पुगिहालिन्छ नि–बर्षाले अनुरोध शैलीमा भनी । बर्षालाई हाम्रो प्रबलम के थाहा । भोली बिहान दुनै पुगेर अफिस खोल्न गाह्रो हुन्छ । आज हिंड्नै पर्छ बहिनी–मैंले भने । ऊ उदाश भई, केही बोलिन । खाना तयार भइसकेको रहेछ । केशब छिटो आएर राम्रै भयो । बर्षाले पनि त हाम्रो बाचा पूरा गरेकी रहीछे । अस्ती भनेको जस्तै एक डेक्ची आलु उसिनेकी रहिछे । भोटे चिया हाली । आज धेरै बोलीनन् बर्षा, हामी नबस्ने निर्णयले उनलाई उदास बनाएको अनुहारमा प्रष्टै देखिन्थ्यो । तर यो कलियुगमा के नै पो गर्न सकिन्छ र । एक कितली भोटे चिया, एक डेक्ची उसिनेको आलु, मान्नैपर्छ हाम्रो भुँडीलाई । अझै भात पनि खाइयो । आफ्नै बहिनी जस्तो । दुई घण्टा बसिएछ । टाइम बितेको पत्तै भएन । उसको इच्छा बिपरित हामी बिदाबारी हुन खोज्यौं । बर्षाले खानेकुराको पैसा लिनै मानीन ।

बहिनीले दाइहरुबाट पैसा लिन्छ भन्ठानुभाको । आज यतै बस्नुस भनेको मान्नु हुन्न । राम्रोसँग जानुहोला–हामीलाई त लज्जीत पो पारी बर्षाले । मानवीय संबेदना  अर्थात ह्युमन सेन्टिमेन्ट कुन पदार्थको नाम हो ? ठोस, तरल कि ग्याँस ? यो पदार्थ नभएको भए मान्छे कस्तो हुन्थ्यो होला ? पुरानै रेडिमेड जवाफ दोहो¥याएर सम्झाउने प्रयास गरें, बर्षालाई । खाको तिरेको भनेर नसम्झनु, बहिनीलाई अड्को पड्को टार्न माया गरेर दिएको सम्झनु भनेर मैंले जबर्जस्ती हजार रुपैंया थमाएँ । जिन्दगीबाट हरेश नखानु । मरेर हैन बाँचेर देखाउनु । बाँचेर मात्र हैन केही गरेर देखाउनु भन्ने अर्ति दोहो¥याउदै हामी तल बाटो तिर झ¥यौं । बर्षा, अस्तिको जस्तो गरि भाँडा माझ्ने निहुँले हामी सँगै तल झरी । अलि परै पुग्दा सम्म बर्षाको दृष्यले पछ्याइरहेका थिए । जंगलको बाटो शुरु भएसँगै हामी बर्षाबाट ओझेलमा प¥यौं ।

अलि अलि ओरालो, फोसुम छो किनारै किनार अत्यास लाग्दो लामो बाटो । फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालय हुदै सुलिगाड ब्यारेक को पुल पुग्न साढे ३ घण्टा पो लागेछ । भेरी नदी कालै भएर बगिरहेको थियो । नीलो फोसुम छो नदी कालो भेरीसँग कुम ठेस्दै मिसिन पुग्दै थियो । अब नीलो फोसुम छो, फोसुम छो भएर हैन, कालो भेरीकै परिचय बोकेर बग्दै थियो । हामी पुल तरेर दुनै लाग्यौं । बैंक अगाडि को कालीका माईलाई मनमनै ढोग गरेर फर्केको जानकारी दिएँ । जय फोसुम छो । जय डोल्पा । जय नेचुरल्ली नेपाल । फोसुम छो यात्रामा जोडिएका डाइभर्स जिन्दगीहरु लाई स्यालुट छ ।

 

 

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७