१६ चैत्र २०८०, शुक्रबार

छ गाउँपालिकाले सुरक्षा भत्ता वितरण गर्न सकेनन

Khabarsabaiko शनिबार, मंसिर ०७, २०७६

हुम्ला
जिल्लाका वृद्धवृद्धा,बालबालिका,अपाङ्गहरुले सरकारले दिने सामाजिक सुरक्षा भत्ता पाउनबाट बन्चित भएका छन । सातवटा गाउँपालिका ४५ वटा वडा रहेको हुम्लामा दशै अगाडी नै सरकारले दिने सामाजिक सुरक्षा भत्ता वितरण अहिले सम्म हुन सकिरहेको छैन । जिल्लाको चंखेली गाउँपालिका बाहेक अन्य ६ वटा पालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्न ढिलाई गरेका छन ।

आएको रकमले न्यानो र नयाँ कपडा किनौला, केही मिठो मसिनो खाउला भन्ने सोच राखेका वृद्धवृद्धालाई जिल्लाका ६ गाउँपालिकाले सामाजिक भत्ता साउनमा पाउनुपर्ने भत्ता अहिले सम्म वितरण नगर्द निकै खल्लो लागेको सिमकोट गाउँपालिका वडा दुई निवासी मैना बोहराले गुनासो गर्नुभयो । आफुले पाएको भत्ताले जाडो मौसममा न्यायो कपडा किनने सोच गरेता पनि आशा मात्रै हुने उहाँले फेरी गुनासोा गर्नुभयो ।

६ वटा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा पाँच वर्ष मुनिका बालबालिका ६० वर्ष माथिका बृद्ध बृद्धा, एकल तथा विधवा र असक्त अपागंहरुले भत्ता नपाएको गुनासो गरेका छन । सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाका वडा एक देखि आठ सम्मका पाँच वर्ष मुनिका बालबालिका ६० वर्ष माथिका बृद्धबृद्धा, एकल तथा विधवा र असक्त अपागंहरुले पाउने सामाजिक सुरक्षा भत्ता लेखापाल नभएकाले वितरण गर्न ढिलाई भएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत अर्जुन दर्जिले जानकारी दिनुभयो ।

आठवटै वडा पालिकाका वडाध्यक्षहरुले रकम निकासाको लागी चासो नदिदा अहिले सम्म सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकिएको सिमकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत दर्जिले बताउनुभयो । वडाध्यक्षहरुले आफ्नो वडामा रहेका वृघवृद्धा, अपाङ्ग,एकल महिला, बालबालिबकाको विवरण पालिकामा नबुझाउँदा ढिलाईभएको उहाँले जानकारी दिनुभयो । गाउँपालिका लेखापाल आएपछि रकम निकासा गरी अबको एक हप्ता भित्र रकम वितरण गर्ने प्रमुख प्रसासकिय अधिकृत दर्जिले बताउनुभयो ।

यस्तै जिल्लाको अदानचुली गाउँपालिकाले कर्मचारीको अभाव देखाउँदै चौमासिक तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेको पालिकाअध्यक्ष दल फडेराले जानकारी दिनुभयो । अदानचुली गाउँपालिकामा रहेका ६ वटा वडामा एक जना मात्रै सचिव रहेको हुँदा काम गर्न समस्या भएकाले वितरणमा ढिलाईभएको अध्यक्ष फडेराले जानकारी दिनुभयो । चौमासिक सामाजिक सुरक्षा भत्ता आएता पनि रकम निकाशा गर्नका लागी कर्मचारी समायोजनले गर्दा लेखापालको सरुवाभएको हुँदा रकम निकाशा नभएको फडेराले जानकारी दिनुभयो । पालिकामा अन्य कर्मचारीको अभाव भएकाले पनि सामाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको र अझै वितरण गर्न समय लाग्ने उहाँले जानकारी दिनुभयो ।

खार्पुनाथ गाउँपालिकामा पनि प्रथम चौमासिक तर्फको सामाजिक सुरक्षा भत्ता वितरण हुन नसकेको हो । पालिकाले रकम निकाशा गरेता पनि उपनिर्वाचनले गर्दा वितरण गर्न नसकिएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिनुभयो ।

सर्केगाड गाउँपालिकाले पहिलो किस्ताको प्रथम चौमासिक वितरण गरेता पनि दोश्रो चौमासिक भत्ता वितरण गर्न नसकेको गाउँपालिका सुब्बा बिरमान बोहराले जानकारी दिनुभयो । यस्तै ताँजाकोट गाउँपालिकाले पनि सुरक्षा भत्ता वितरण गर्न ढिलाई गरेको छ । नाम्खा गाउँपालिकामा पनि अब केही दिनमा रकम निकासा गरी वितरण गर्ने अध्यक्ष विष्णु लामाले जानकारी दिनुभयो ।

जिल्लाको चंखेली गाउँपालिकाले अहिले सम्मको सबै सामाजिक सुरक्षा भत्ता वितरण गरेको उपाध्यक्ष बिमला शाहीले जानकारी दिनुभयो ।

सामाजिक सुरक्षा भत्ताको रकमबाट खान,लत्ता कपडा,लगाएतका विभिन्न खर्च चलाउदै आएका वृद्ध वृद्धाहरु लामो समय सम्म भत्ता नपाउदा निकै समस्यामा परेका छन । कर्मचारी समायोजनको कारण र सामाजिक सुरक्षा भत्ता पाउने ब्याक्तिहरुको रेकड नहुँदा रकम निकाशामा ढिला भएको हो ।

दुर्गम क्षेत्रका अधिकासं जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताकै भरमा जीवन निर्वाह गर्नु पर्ने बाध्यता छ । सरकारले ६० वर्ष उमेरका जेष्ठ नागरीकलाई एक हजार, ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई २ हजार, पूर्ण अपाङग भएका ब्याक्तिलाई २ हजार, आंशिक अपाङगलाई ६ सय, एकल महिलालाई १ हजार,बालबालिकालाई दुई सय रुपैयाँ उपलब्ध गराउने प्रावधान बनाएको छ ।

जिल्लाका स्थानीय तहका जनप्रतिनिधिहरु भने कर्मचारी समायोजनाले गर्दा सामाजिक सुरक्षा भत्ता मात्रै नभएर पालिकामा अन्य काम गर्न समस्या हुनेगरेको अदानचुली गाउँपालिका अध्यक्ष दल फडेराले जानकारी दिनुभयो । जिल्लाका सिमकोट, खार्पुनाथ, अदानचुली, ताँजाकोट, नाम्खा गाउँपालिकाले अहिले सम्म प्रथम चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसकेका हुन । जिल्लाका ६ वटै गाउँपालिकाले साउनमा वितरण हुने प्रथम चौमासिक तर्फको सामाजिक सुरक्षा भत्ता वितरण गर्न ढिलाई गरेको स्विकार गरेका छन । जिल्लाको चंखेली गाउँपालिले मात्रै वितरण गरेको छ ।

यहाँ कमेन्ट गर्नुहोस्