१६ चैत्र २०८०, शुक्रबार

स्वास्थ्यचौकीमा औषधि अभाव

Khabarsabaiko आइतबार, मंसिर २२, २०७६

हुम्ला
हुम्लाको दक्षिण क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको वडा नम्बर २ को रिप स्वास्थ्य चौकीमा औषधीको अभाब भएको छ । वडा दुईको बजेट निकासा नहुँदा पालिकाबाट पाँच केजी औषधी मात्र उपलब्ध हुन र जिल्ला अस्पतालबाट पनि आबश्यक औषधी उपलब्ध नभएपछि दुर्गमको उक्त स्वास्थ्य चौकीमा औषधीको अभाब भएको छ ।

शरिर दुखेर स्वास्थ्य चौकी पुग्नु भएकी सर्केगार्ड गाउँपालिका रिप गाउँकी काली फडेराले औषधी नै नपाएको गुनासो गर्नुभयो । आफु चार पटक स्वास्थ्य चौकीमा पुग्दा पनि औषधी नभएको जबाफ मात्र पाएको उनको गुनासो छ । अहिले फडेरा मात्र होइन स्वास्थ्य चौकीमा आउने बिरामीहरु सबैको अबस्था यस्तै रहेको छ । स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी निशुल्क रुपमा बितरण गर्नुपर्ने हुन्छ । तर सबै औषधी स्वास्थ्य चौकीमा पाईदैन । आउनु पर्ने निकायबाट औषधी नआएपछि स्वास्थ्य चौकीमा यो समस्या थपिएको हो ।

साउन महिना देखि कात्तिक महिनासम्म वडाको चालीस हजारको औषधी ल्याएर चलाईएको र गाउँ पालिकाबाट पाँच केजी मात्र औषधी उपलब्ध भएपछि स्वास्थ्य चौकीमा औषधीको अभाब भएको चौकीका इन्चार्ज चन्दसिंह कार्कीले बताए । स्वास्थ्य चौकीमा औषधी कम भएपछि बिरामीलाई उपचार पछि औषधी दिन पनि कन्जुस्याई गर्नु पर्ने अबस्था रहेको उनले बताए ।

धेरै औषधी नभएको र भएका औषधीहरु पनि थोरै मात्रमा छन् । स्वास्थ्य चौकीमा भिटामिन बि कम्प्लेक्स र लोसन जस्ता मलम पनि छैनन । वडाबाट बिनीयोजित बजेट मध्य एक लाख पचास हजार रुपियाँ निकासा नभएको कारण त्यसबाट खरिद गर्न नपाएको इन्चार्ज कार्कीले बताए । गाउँपालिकामा कर्मचारीको अभाबले निकासा लिन नपाएको गुनासो वडा अध्यक्ष बिषे महताराको छ । अहिले चिसोका कारण सिजनल फ्लुका रोग बढी रहेको र स्वास्थ्य चौकीमा दैनिक १५ देखि २० जना बिरामीहरु आउने गरेका छन् ।

यसमा पखाला, ज्वरो, रुघाखोकी,दम निमोनियाका बिरामी बढी आउने गरेका छन् । नयाँ औषधी खरिद गर्न नपाएको र पुरानै औषधीबाट काम चलि रहेको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सन्तोस धामीले बताए । यसले पनि स्वास्थ्य चौकीमा औषधीको अभाब भएको अब चाँडै औषधी खरिद गर्ने उनले बताए ।

यहाँ कमेन्ट गर्नुहोस्