१६ आश्विन २०८१, बुधबार

अन्त्य हुनुपर्छ दलित–दलित बिचको जातिय विभेद

Khabarsabaiko आइतबार, माघ ०५, २०७६

रणसिँह परियार, नेकपा प्रदेश कमिटि सदस्य

हाम्रो समाजमा मनुवादी चिन्तन र चरित्र अनौठो रुपमा जरा गाडेर बसेको छ । जात,पात र जातिय लङ्गिभेद मनुस्मृतिको सृजना हो । यसलाई घुमाउरो पाराले दास मालिकको भुमिकालाई स्थापित गरेर राखिएको स्पष्ट छ । मनुवादी चिन्तनका कारण नेपालमा हालसम्म सामाजिक रुपमा एकतामा विभिदता देखिन्छ । जातको आधारमा जुन प्रकारले विभाजित समाज छ , त्यसले राष्ट्रव्यापि रुपमा छुत र अछुतको संज्ञा दिएको कुरा सर्वविधित नै छ । जातिय असमानता , विभेद , छुवाछुत , सामाजिक कलंकको रुपमा रहेको छ । जातको आधारमा गरिने अमानविय व्यवहारका कारण नेपाली समाजमा रहेका अछुत मानिने समुहहरु राजनितिक , सामाजिक , साँस्कृकि र आर्थिक हिसाबले पनि पछाडि पारिएको छ ।
यहाँ जातिय विभेद माथिल्लो जातिदेखि तल्लो जातिसम्म छ तर विभेदको प्रकृति भने फरक छ । छोइए पनि छोइछिटो नहाल्नु पर्ने समुदायको स्थिति एक प्रकारको छ भने छोइएमा छोइछिटो हाल्नुपर्ने समुदायको स्थिति भिन्नै प्रकारको छ । छोइछिटो हाल्न नपर्ने समुदाय राजनितिक,सामाजि , साँस्कृतिक र आर्थिक हिसाबले सुदृढ छन भने अछुत हरुको अवस्था भने विकराल छ । उपाध्याय बाहुन हरुले क्षेत्रिहरुले छोएको नखाने आफै भान्सा जोतेर खाने चलन पनि क्षेत्रि समुदायमाथिको विभेद हो । मुख्यतः उपाध्यायले जैसि,जैसिले क्षेत्रिलाई ,क्षेत्रिले मंगोलियन समुदायलाई र यि सबै समुदायले एकमुष्ट दलित समुदायलाई हेप्ने किसिमको प्रवृति समाजमा थियो ।
यहि सामाजिक रुपरेखा भित्र दलितहरुमा पनि विभाजित जातहरुमा पनि एक अर्काबिच जातिय विभेद गर्ने अनौठो प्रचलन छ । “ फुटाउ राज गर लुट मोज गर भनेजस्तै” माथिल्लो जातका भनिने समुदायले आफ्नो कामदारको रुपमा रहेका दलित समुदायलाई सुनार , कामि , दमाई , सार्कि , कुमाल आदि जातमा विभाजन गरियो र यो परम्परा हालसम्म पनि चल्दै आएको छ । जातिय हिसाबले उच्च मानिने बाहुन , क्षेत्रि , ठकुरीहरु गाँउमा प्रशासकको रुपमा रहन्थे । उनिहरुलाई जुनसुकै काम गर्न पनि तल्लो जातको आवाश्यक पथ्र्यो ।माथिल्लो जात भनिने प्रत्येक एक घरको लागि सबै काम गर्ने दलितहरु भगबबण्डा गरियो र जोसँग परेको छ त्यसलाई दलितहरुले आफ्नो लगि मान्नु पथ्र्यो । प्रत्येक कामको सिजनमा काम गरेकै हुनुपर्ने हुन्थ्यो , कामको सिजन मुख्य जेठ र कार्तिक दुईचोटी हुन्थ्यो । त्यो दुई सिजनमा दलितहरुले उनिहरुको प्रत्येक काम गरेबाफत अन्तिममा एकचोटी ज्याला बाफत अनाज लिने गर्दथे ,जसलाई खलो भनेर चिनिन्थ्यो । खलो दिदा कुल भएको अनाजको धारमा लागेको कानो अन्न छुट्याएर दिने गरिन्थ्यो । हाल यसको अवशेष नेपालभित्रकै दुर्गम जिल्लाहरुमा जस्ताको त्यस्तै छ ,जसलाई बालिघरे प्रथा , लगि प्रथा , हलिया प्रथा आदिको रुपमा चिन्छि ।
यहाँ अचम्मको कुरा त के छ भने , दलित समुदायलाई पनि विभिन्न जातिय तहमा विभाजन गरी एक आपसमा अन्तरविरोध सृजना गरिएको छ । दमाई भन्दा सार्कि , कामि , लोहार ठुलो र उनिहरु दमाईले छोएको नखाने , वादी समुदाय भन्दा दमाई ठुलो , वादी भन्दा गन्धर्व सानो भनिने प्रचलन व्याप्त पाईन्छ । यो दलितहरुलाई एकजुट हुन नदिने रणनितिको रुपमा बनाइएको पाईन्छ । किनभने दलितहरु एकजुट भएर आफ्नो स्वतन्त्रता खोज्न थाले भने त उनिहरुको स्वार्थ पुर्ति हुदैन । फलस्वरुप यहाँ दलित हरु एक आपसमा छुवाछुत गर्ने , दमाईले छोएको सार्किले नखाने , बादीले छोएको दमाईले नखाने आदी कारणले दलितहरुले समग्र रुपले संघर्ष गर्न सकिरहेका छैनन् । उहि उत्पिडन , दमन र समस्या झेल्दै आएका छन् । यस्तै कामिको छोरी दमाईले विहे गरेको , दमाईको छोरी सार्किले विहे गरेको सह्य हुदैन् ।
त्यसर्थ हामि दलित आफैभित्र छुवाछुतको दलदलबाट बाहिर निस्किन सकेनौँ भने जातिय भेदभाव विरुद्धको साँस्कृतिक परिवर्तन कहाँ खोज्ने भन्ने प्रश्न उठेका छन् । यदी हामी समानता चाहान्छौँ र सम्मानपुर्वक बाँच्न चाहान्छौँ भने पहिले दलित – दलित बिचको भेदभाव अन्त्य गरी ब्राह्मण वादको अन्त्य गर्नतिर लागौँ । ब्राह्मण वादको अन्त्य बिना दलित मुक्ती र साँस्कृतिक परिवर्तन सम्भव छैन ।

लेखक दलित अगुवा तथा नेकपा प्रदेश कमिटि सदस्य

यहाँ कमेन्ट गर्नुहोस्