२८ भाद्र २०८१, शुक्रबार

हुम्लामा खाद्यान्न अभाव हुन नदिन आजदेखि खाद्यान्न ढुवानी

Khabarsabaiko बुधबार, चैत्र १९, २०७६

नन्द सिंह, हुम्ला

देशभर लकडाउन भइरहेकै बेला उच्च हिमाली जिल्ला हुम्लामा खाद्यान्न अभाव हुन नदिन आजदेखि खाद्यान्न ढुवानी शुरु भएको छ। हुम्ला जस्तो विकट ठाउँमा खाद्यान्नको अभाव हुने भएका बेला प्रतिनिधिसभा सदस्य छक्कबहादुर लामाको पहलमा खाद्यान्न ढुवानी शुरु भएको छ। हुम्लामा  खाद्यान्न अभाव नहोस् भन्ने उद्देश्यका साथ सांसद लामाले सीता एयरलाई अनुरोध गरेपछि हुम्लाको सिमकोटमा चामल ढुवानी हुने भएको हो।

सीता एयरको जहाजबाट आजै दुई उडानले खाद्यान्न ओसारेको सिमकोट स्टेशनका निमित्त स्टेशन इन्चार्ज सूर्य लामाले बताए। कोभिड १९ को जोखिम बढ्न नदिन सरकारले घोषणा गरेको लकडाउन भए पनि कर्णाली प्रदेशको हुम्लामा खाद्यान्न ढुवानी हुनु भनेको सराहनीय भएको स्थानीयवासी लोग भण्डारीले बताए।

आज बिहान नेपालगञ्जबाट दुई हजार ८१० केजी चामल सीता एयरका जहाजले पुर्‍याएको तथा सुर्खेतबाट दुई उडानमा तीन हजार २१० केजी चामल ढुवानी भएको एयर सिमकोट स्टेशनका निमित्त इन्चार्ज लामाले बताए। लकडाउनका बेला हुम्लामा हुने खाद्यान्न अभावलाई ध्यानमा राखी हुम्लीलाई खाद्य समस्या नहोस् भनेर ढुवानी गर्न लागिएको सङ्घीय सांसद लामाले बताए। आगामी दिनमा नुनको पनि ढुवानी गर्न लगाइने सांसद लामाको भनाइ छ।

यहाँ कमेन्ट गर्नुहोस्