१६ चैत्र २०८०, शुक्रबार

हुम्लामा खाद्य कम्पनीले बेच्यो एक वर्षमा साढे १५ करोडको चामल

Khabarsabaiko शुक्रबार, साउन ०९, २०७७

हुम्ला  सरकारी खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लामा एक वर्षमा साढे १५ करोडको चामल बिक्री गरेको छ । आर्थिक वर्ष ०७६र७७ मा जिल्लाभर २४ हजार ९ सय २१ क्विन्टल चामल बिक्री भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाका कार्यालय प्रमुख रामबहादुर विष्टले बताए । जिल्लाको शाखा कार्यालय सिमकोट, श्रीनगर डिपो, सर्केगाड डिपो, छेप्रेला बिक्री केन्द्र, याँचु र याल्वाङ बिक्री केन्द्रबाट १५ करोड ६७ लाख ३४ हजारबराबरको चामल बिक्री भएको हो ।

शाखा कार्यालय सिमकोटबाट जिरा मसिना चामल प्रतिकेजी ७० रुपैयाँ, जापानिज चामल ६५ रुपैयाँ र सोना मनसुली चामल ६२ का दरले बिक्री हुने गरेको छ । त्यसैगरी, मध्यम खाले चामल ६१ रुपैयाँ, अरुवा मोटा ५७ रुपैयाँ, गोरखनाथ चामल प्रतिकेजी ६२ र उसिना चामल प्रतिकेजी ३५ रुपैयाँमा बिक्री हुने गरेको छ ।

हवाईमार्ग र स्थलमार्ग हुँदै हुम्लाका ४ वटा बिक्री केन्द्रमध्ये २ वटा डिपो र एउटा शाखा कार्यालयमा चामलको ढुवानी हुँदै आएको छ । हवाईमार्ग हुँदै सिमकोट शाखासम्म नेपालगन्जबाट प्रतिकेजी १ सय १४ रुपैयाँ ८० पैसा र सुर्खेतबाट प्रतिकेजी १ सय १२ रुपैयाँ ८० पैसामा निजी कम्पनीका जहाजले चामल ढुवानी गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी सिमकोट शाखाले जनाएको छ । स्थलमार्गबाट काठमाडौं हुँदै उत्तरी नाम्खा गाउँपालिकाको याल्वाङ बिक्री केन्द्रसम्म प्रतिक्विन्टल ४ हजार ६ सय ३३ रुपैयाँमा पुग्ने गरेको छ ।

मुगुदेखि हुम्लाको सर्केगाड डिपोसम्म प्रतिक्विन्टल ३ हजारमा चामल पुग्छ । यसैगरी, धनगढीदेखि सिमकोट शाखासम्म ७ हजार ३ सय प्रतिक्विन्टलका दरले ढुुवानी लाग्ने गरेको छ । धनगढीदेखि स्थलमार्ग श्रीनगर डिपो कार्यालयसम्म २ हजार ७ सय ३४ रुपैयाँ प्रतिक्विन्टल ढुवानी रहेको छ ।

सुर्खेत हुँदै सिमकोट शाखासम्म स्थलमार्गबाट चामल पुर्‍याउन ७ हजार २ सय रुपैयाँ लाग्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सिमकोट शाखा प्रमुख रामबहादुर विष्टले बताए । स्थलमार्ग हुँदै सुर्खेतदेखि सर्केगाड डिपोसम्म प्रतिक्विन्टल ३४ सय र सुर्खेतदेखि श्रीनगर डिपोसम्म २१ सय ढुवानी भाडा लाग्छ । सुर्खेतदेखि खार्पुनाथ गाउँपालिकाको याँचु बिक्री केन्द्रसम्म ६ हजार ३ सय ९० रुपैयाँ ढुवानी लाग्छ । यसैगरी, सुर्खेतदेखि चङ्खेली गाउँपालिकाको देउली बिक्री केन्द्रसम्म चामल ढुुवानी गर्न प्रतिक्विन्टल २ हजार ९ सयमा ठेकेदारले ढुवानी गर्न गरेका छन् । सुर्खेतदेखि सिमकोट शाखासम्म स्थलमार्गबाट ढुवानी गर्दा ७ हजार २ सय रुपैयाँ पर्ने गरेको पाइएको छ ।

७३ हजार क्विन्टल चामलको माग
चालू वर्षका लागि खाद्य व्यवस्थापन समिति हुम्लाले ७३ हजार क्विन्टल चामलको माग गर्ने भएको छ । आर्थिक वर्ष ०७७÷७८ का लागि शाखा कार्यालय सिमकोट, डिपो केन्द्र श्रीनगर र सर्केगाड बिक्री केन्द्र याल्वाङ, याँचु, देउली र छेप्रेलाका लागि हाल उपलब्ध कोटाभन्दा धेरै मात्रामा माग गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाका प्रमुख रामबहादुर विष्टले जानकारी दिए ।

शाखा कार्यालय सिमकोटका लागि ३५ हजार क्विन्टल चामल माग गरिने भएको छ । त्यस्तै, डिपोहरू श्रीनगरका लागि ६ हजार र सर्केगाडका लागि ८ हजार तथा बिक्री केन्द्रहरू छप्रेलाका लागि ६ हजार, देउलीका लागि ६ हजार, याँचुका लागि ६ हजार र याल्वाङका लागि ६ हजार क्विन्टल चामलको माग गरिने भएको छ ।

यहाँ कमेन्ट गर्नुहोस्