About Contact Links
Close
बिज्ञापन
अपरिचित जँड्या, भाषण अनि हामी

Khabarsabaiko शुक्रबार, भाद्र ०५, २०७७ मा प्रकाशित

मेरो घरको बाटोमुन्तिरको चोकबाट

अक्सर एउटा मान्छे मध्यरातमा सडक हिँडिरहन्छ

अन्धकारहरुमा

बोली सुन्दा

कुनै बिद्वान जस्तो

अलिअली अङ्रेजी

अलिअली हिन्दी

सम्भवतः सम्पूर्ण देशको राष्ट्रिय भाषामा

ज्ञान भएको अपूर्ण ज्ञाता

एउटा राष्ट्रभक्त..!

सधैँसधैँ एउटै भेष

एउटै परिबेशमा

सजिएर

अनि एउटै समयको भेटमा

उ हिँडिरहन्छ हरक्षण देश-सडक

मध्यरातमा मानिसहरु सुतिसकेपछि

फगत भाषणहरु गर्दै !

म सुन्छु हरेक रात

लगातार र म देख्छु त्यो बटुवाको बिम्ब

अनि अन्त्यमा म मान्छु कि

उ पक्कै कुनै ठूलै महान मनुवा हुनुपर्छ

बिद्वान – बिचारक – शिक्षक

सैनिक – दार्शनिक – बैज्ञानिक

राजनीतिज्ञ – साहित्यिज्ञ

देशको उज्यालो भविश्यहरु हेर्ने

दुरदर्शी ज्योतिष

वा अदालतहरुको कुनै प्रधानन्यायाधिश

या

कुनै कलाकार

अथवा,

हुनसक्छ कि

कुनै अलौकिक चमत्कार ?

खैर उ जो होस म सुन्छु

उ भन्छ कि भट्टी नजाउ

श्रीमती तह लगाउ

राजा आउ

देश बचाउ

सबै सन्तानहरु नेपाल आमाका छोराहरु हुन्

म पनि अरु दाजु भाइहरु जस्तै सपूत हुँ

पैसा धन कमाउन सकिन र पो त,

मान्छे भएर मान्छेलाई दमन गर्नु  हुँदैन

उ भन्छ जीवनमा कैले पनि पैसा कै मोहले

मातृभूमि र आफू जन्मिएको जमिन बेच्नु हुँदैन

बाटो भत्किएको रहेछ अब बाटो पिच बनाउनुपर्छ

कुत्ताहरु हो अब चाँडो-चाँडो फुटेका यि बाटाहरु राजमार्ग बनाउ

ओ ! ठुटे अनि  दुष्ट देवताहरु हो ! अब गाउँ समाज र सिङ्गै देश बनाउनुपर्छ !

या,

यस्तै-यस्तै केही मानवता, आदर्श, सभ्यता

समानता अनि राष्ट्रियताका कुराहरु

उ फुकिरहन्छ

उ ठुकिरहन्छ

र,

उ भुकिरहन्छ

बकवास

एक सुरले कि कुनै कुकुरहरु झैँ

भोलिपल्ट भित्ता प्लस्टरहरुको भित्ती

र छेपारोहरु झैँ

उ लुकिरहन्छ

निरन्तर,

म देख्छु बिहान

सुतेका सहिदहरुको सालिक फुटेको हुन्छ

बाटाहरु झन बढी भत्किएको हुन्छ

चमत्कार !

पाटिपौवा र मुर्तिहरु झन बढि चर्किएका हुन्छन् !

यसरी नै पुरानो रेडियो झैँ गरेर उ गुन्जिरहन्छ

एउटै परिचित आवाज हरेक रात

सुनिरहन्छ सिङ्गो गाउँ सहर

मिठो मान्दैन उसकाे बचन

अनि ब्युँझिएर मध्यरातमा

सुरुवात हुन थाल्दछ जबरजस्त गालीहरु

अनि निस्कन्छन निलकण्ठहरुबाट तिरस्कृत थुकका छिटाहरु

अफ्सोच उ हिँडिरहन्छ सधैँ सधैँ

बाघको गर्जन झैँ वजनदार तेजाब बाणीहरु लिएर

कुनै मातमा लट्टिएर

भट्टीहरुदेखि त्यही भत्किएका बाटाहरुसम्म

बकवास !

उ हिँडिरहन्छ

हिँड्छ

उ हिँडिरहन्छ

कैले कान्लामा लड्छ

कैले ढुङ्गामा सड्छ

कैले किनारमा ढल्छ

अनि हनुमानको कुनै बदमास बादर झैँ गरेर

कैले स्वयम् भगवान भएर मन्दिरको सबैभन्दा टुप्पोमा चढ्छ

अनि फेरि उ भुइको गिट्टिचट्टान र पथ्थरमा बल्ड्याङ्ग बजारिन्छ

अफ्सोच उ ठक्कर खाएर पनि मुतुवा

चक्कर लाएर मस्त घुमिरहन्छन मतुवा

कुनै निदाएको अचेत गस्ती झैँ

शान्त सहर बस्तिहरु जगाउँदै

अनि

सुरुवात हुन थाल्दछ अनि जबरजस्त प्रसस्त गालीहरु

जसरी कि हरेक साल एक वर्षमा

केबल एक पटक आउने हाम्रो दुर्गम गाउँको

विशाल सभाहल भेलाहरुभित्र

कुनै चिर परिचित प्रख्यात नेताको अमूर्त साक्षात तस्बिरमा

ठेलाहरुले भरिएका हातहरुबाट लगातार गर्जनका तालीहरु बर्सिएका थिए ।

यसरी अनि ऐले सुरुवात हुन थाल्दछन जबर्जस्त, अपशब्द गालीहरु

जसरि कि पहिले ठेलाले भरिएका हातहरुबाट लगातार तालीहरु

बर्सिएका थिए ।

बिहान म दोभानमा बसेर सोचिरहन्छु

किन यी जँड्याहरु यो देशका नेताहरु हुन सकेनन् ?

किन ति  भ्रष्ट भट्टीहरुले सत्ता जन्माउन सकेनन् ?

किन रक्सीले शासन लगाउन सकेन ?

यो विशाल विश्व ब्रम्हाण्डमा,

किन लोकल गिलासहरुमा किन सत्य अटाउन सकेन?

बिहान म पागल झैँ दोभानमा बसेर सोचिरहेछु

बिहान म होटल दोकानमा बसेर हेरिरहन्छु

कुनै सम्भावना र विकासका जोखानाहरु

मलाई यस्तो लागिरहेछ

अनवरत

केवल

म सोचिरहेछु

अफ्सोच अनि एकैछिनमा कोहि आएर मलाई भन्छ ?

अक्सर अनि एकैछिनमा छेवैको कुनै किनारा पसलबाट आएर कसैले

मलाई यसरी सोद्छ ?

कान्छा अझै रित्तिएको छैन कि क्याओ हिजोका

ती बोतलहरु…..?

अझै उत्रिएका छैनकी क्याओ ! हिजोका ति नशाहरु ?

भाइ आज त उज्यालैमा दिन थालिएछ नि ?

मलाई उसलाई यसरी नाजवाफ प्रश्नहरु सोध्छ

मानौ कि,

त्यो मान्छे म नै हो

जो हिजो घुमिरहेथ्यो रातभर एकल !

त्यो मान्छे म नै हो जो

मानौ कि,

उसलाई मैले यहि भट्टीहरुमा बसेर हिजो

मुसोले मजदुर किसानलाई भुसभित्रको चामल नखाने अठोट राखे झैँ

रक्सी नखाने, या चाहे जुन सुकै भट्टी नजाने

सपथ कसम खाएको छु

र अहिले म रक्सी छाडेको खुशियालीहरुमा

फेरि पनि ती सर्तहरु तोड्नलाई

रक्सी प्युन बिहानै त्यही भट्टी आएको छु ।

ऐले दोकानमा बसेर म सोचिरहेछु कि

किन म कैले नेत्ता बन्न सकिन?

सायदै सधैँ सधैँ मेरो चोकको हाम्रो होटलहरुमा

सधै सधै यी गल्लिहरुका भट्टी मधुसालाहरुमा

सधा झैँ बेरोजगारहरुका हुतियार छलफलहरु भैरहन्छन

कानुनी बकवास बहसहरु भैरहन्छन्

अनि इजलासका असर

र फैसालाका अर्डरहरु

फैलिएर

कुनै पुरानो बुडो बाजे हजुरबुवाको जुवाघर

या,

सन्तमानको वर्तमान सेकुवा कर्नर कटेज र धुवाँघर सम्म पुग्छन् ।

अनि दौडिरहन्छन कुनै मतुवाहरु पनि मुस्किलले हनुमानको मन्दिरसम्म

अनि,

भतुवा भक्तहरु भने भट्टी र मतुवाघर सम्म पुग्छन्

बकवास,

यी मन्दिरका माझी र पुजारीहरु पनि पाहुना बनेर :

तास र बाजिघरहरु सम्म पुग्छ्न्

जान्छ्न्

हरेक दिन म देखिरहन्छु

हरेक दिन म म देखिरहेछु

र, सोचिरहेन्छु

खैर ! उनिहरु जहाँ सुकै जाउन् !

खैर ! उनिहरु जे सुकै खाउन !

तर ति ठ्मेलको जेलजस्ता

यि थुनुवाबन्द कोठाका भट्टीहरु

कारागारहरु हुन :

र,

कारागारहरु ! रहेछन्

कारागार !

जहाँ निर्धामान्छेहरुलाइ मात्र कैद गरिन्छ

जहाँ सज्जनहरुलाइ अभियोग लगाएर

फसाईन्छ

बसाईन्छ

अनि अपराधी झैँ जबर्जस्त जीवनभर जेलमा जकाईन्छ

मानौँ,

निर्दोषी नै किन नहोस् ?

हिरासत अनि अनुसन्धान सकिएर

जमानतमा

फर्किएको चाहे जुनसुकै विश्वासिलो मनुस्य

वा,

इस्वर नै किन नहोस् !

अफसोच् !

उसलाई अरुले फटाहा र अपराधी नै भन्छ

अफसोच उसलाई आफ्नै घर परिवारले नै पापी गन्छ ।

बसपार्कको बेस्यालय जस्ता ती चोकका

घरबार भाँडुवा भट्टी दोकानहरुमा

बिहान म बस्दा मलाई कसैले सोध्यो कि हेर !

आँगनमा बस्दै अन्नधान खान आएको भालेलाई झैँ गरेर भन्यो कि कसैले

कान्छा आज त त पनि रक्सी खान छिटै आइछस नि ?

यसरी नै हरेक बिहान,

मेरो देशमा रातको कुनै असत्य ईतिहास

र बिगत सत्य साबित हुन्छ,

भट्टीहरुबाट साँझमा ध्रुबसत्य सुर्य पुन:पूर्वबाट उदाउँछ

अनि भोलिपल्ट पुर्वस्मृतिहरु गुमाउँछ

अनि दिनभर जुनताराहरुले पनि प्रकाश जुर्मुराउँछ

दिउसै अदृस्य प्रेतात्मा पनि सुल्सुलाउँछ

एक असम्भब ! अपवाद !

अनि एक जटिल अन्जान इतिहास !

फगट एक गिलास रक्सीको नशाहरुमा

सजिन्छ !

अल्कोहलहरुको बोतल तलतल तहल्काहरुभित्र

रङ्गिन छ दुनियाँ::

अजिब अव्यस्त अशान्त उल्लुहरुको सुन्दर क्रान्तिपुर !

मेरो देशमा भट्टीहरु भागवतहरुले सजिन्छ,

मेरो देशको अदालतहरु दुधमा डुबेको

लुकेको पानी झैँ

बिलिन्छ !

अन्धकारमा जुर्मुराएको कुनै अन्धोको सचेतना जस्तै

मेरो देशको भट्टीहरु भगवान भागवत गिता र अद्भुत धर्मले बनेको छ

मेरो देशको न्यायलय भँडारमा राखिएको नुनचिनिको मिश्रीत एक बोरा:

जहाँ, बनेको एक कप चिया सुगर

र अर्को कप प्रेसर रोगीलाई दिइन्छ

भने अन्तिमको ठूलो कप चाहिँ बडेमान भुँडीको

पेटको ग्यासट्रीक रोगीहरुलाई दिइन्छ

रातमा मेरो देशको भट्टीहरु भागवतले सजिन्छ:

बिहानै,

अदालतमा जँड्या लोग्ने र बेस्या बुडीको :

केस डिभोर्स बारे बृहत् बहस हुन्छ !

बिहान,

मलाई भट्टीमा कसैले सोध्यो कि कान्छा उज्यालो मै दिन थालिएछ नि ?

र ऐले म घरमा बसेर भनिरहेछु कि,

ती दोकानका म भन्दा जेठा बाठा अनि चतुरमान मान्छेहरु

किन वकिल बन्न सकेनन ?!

म ऐले सोचिरहेछु,

त्यो मान्छे किन कैले पनि पुलिस बन्न सकेन

आखिर त्यो मान्छे को हो,

जो हरेक रात हामी निदाएपछि बत्ती निभाएर हिँड्ने गर्दछ ?

म सोचिरहेछु,

त्यो मान्छे किन कैले रक्षक बन्न सकेन ?

आखिर त्यो मान्छे को हो

जो हरेक हामी निदाएपछी बुद्दका शालिकहरु भत्काउँदै हिँड्छ ?

म सोचिरहेछु,

त्यो मान्छे किन कैले पनि निर्माता बन्न सकेन

किन आएन कैले पनि बिहानै फर्किएर

किन बनाएन गाउँ दिनभरी लगाएर ?

अदालतमा पो मुछियो कि, दिउसै भट्टीहरुमा पो भुलियो कि?

हामी नै पो झुक्किएको हो कि, या उ आफैँ बद्लिएको हो ?

नत्र किन आएन कैले पनि फर्किएर बिहान

किन बनाएन गाउँ दिनभरी लगाएर ?

आखिर को थियो त्यो अन्जान मान्छे,

किन आएन कैले पनि फर्किएर बिहान

किन बनाएन गाउँ दिनभरी लगाएर

किन आएन कैले पनि फर्किएर बिहान

किन बनाएन गाउँ दिनभरि लगाएर

जो अघिल्लो रात मध्यरातमा

देश बनाउने बाचाहरु गरेर गएथ्यो

भाषणहरुमा……….!!

  • सुजन बुढाथाेकी
  • १७ मङ्सिर मंगलबार, २०७६ |
  • कबिता लेखन मिति!

सम्बन्धित

————————————————————–

————————————————————–

प्रधान सम्पादक

पदम राज हमाल

९८४८७३५९९१

————————————————————–

कानुनी सल्लाहकार

राजन चन्द

 

=====================================================================================================================================================================================================================================================================================================================================================

Twitter

Facebook

 

खबर सबैको मल्टिमिडिया प्रा.लि, सिमकोट – ५, हुम्ला
सुचना विभाग दर्ता नंः   १७५६

 विज्ञापन तथा सुचनाका लागि :

इमेलः [email protected]

सम्पर्क नंः ९८४८१३९४९७