०७ बैशाख २०८१, शुक्रबार

हुम्ली किशोरीलाई शिशु हुर्काउनै सकस

Khabarsabaiko सोमबार, कार्तिक २४, २०७७

हुम्ला– अगेनोछेउमै बसिरहेकी १५ वर्षीया दूधकली सार्की दुईवर्षे छोरालाई सुताएर १३ दिने शिशुलाई आगोले सेक्दै थिइन । दुईवर्षे छोरा नछोडेपछि गोठमै ल्याएको बताउँदै उनले भनिन, ‘चिसो छ, ओड्ने, ओछयाउने प्रशस्त छैनन । गोठमा दुई बच्चाको हेरचाह गर्न गाह्रो भयो ।’
सर्केगार्ड गाउँपालिका–३ उनापानी गाउँकी दूधकलीलाई एक साताअघि गोठमै भेट्दा सकस भएको बताइन । तीन वर्षअघि बिहे गरेकी उनले सानैमा बच्चा पाउँदा के गर्ने, के गर्ने मेसो नपाउने नसकेको अप्ठ्यारो सुनाइन । ‘सानैमा बच्चा जन्माइयो, झनै बोझ थपियो,’ उनीले थोरै मात्रै बोलिन ।
उनलाई सन्चो पनि छैन । कहिले ढाड दुख्छ, कहिले तल्लो पेट दुख्छ । कहिलेकाहीँ रिंगटा पनि लाग्ने गरेको बताउँदै दूधकलीले भनिन, ‘सानै उमेरमा विवाह गर्दा समस्या आएको त होला ।’ आर्थिक अवस्था कमजोर भएकाले पोसिलो खानेकुरा पनि छैन । सुत्केरी हुँदासमेत मुस्किलले भात खान पाएको उनले सुनाइन । उनका श्रीमान गोरे भारतमा मजदुरी गर्छन । श्रीमानले भारतमा मजदुरी नगरि खाना लगाउन नपुग्ने गरेको दूधकलीले दुखेसो गरिन ।

गाउँभरि किशोरी आमा
सर्केगाड–३ रिपगाउँकी विमला बोहराको कक्षा १० मा पढ्दै गर्दा बिहे भयो । बिहे गरेको एक वर्षमै आमा बनेकी १४ वर्षीया विमलाले घरधन्दा भ्याउनै मुस्किल भएको बताइन । ‘बच्चा हेर्ने कि घरको काम गर्ने थाहै हुँदैन । के गराँै, के नगरौँ हुन्छ,’ उनले भनिन ।

घरको सबै काम आफैँले गर्नुपर्ने बाध्यता रहेको उनले बताइन । ‘खाना पकाउने, खुवाउने, भाँडाकुँडा माझ्ने बुहारीले नै गर्नुपर्छ भन्छन । घासपात पनि गर्नै पर्यो । आपते हुने रै’छ,’ विमलाले भनिन । विमला मात्रै होइन, गाउँभर किशोरी आमा थुप्रै छन । उनीहरूको स्कुल पढ्दापढ्दै बिहे भएको हो ।
कक्षा १० मा पुग्दा अधिकांशको बिहे हुने गरेको विमलाले बताइन । ‘गाउँमा बिहे नगरेका कोही छैनन, बिहे गरेको दुई÷तीन वर्षमा बच्चा नभए राम्रो मान्दैनन,’ उनले सुनाइन । उनापानी गाँउकै हस्ता फडेराको पेटभित्र भित्रै हुदा उनको आमा बुबा र केटाको आमाबुवा बिच सम्झौता भयो । हस्ता जन्मने बितिकै उनका आमाबुवाले सम्झौता स्वीकार गर्ने बाध्य भए ।

सर्केगाड–७ स्थित सूर्यतारा आधारभूत विद्यालयका शिक्षक गौरबहादुर ऐडीले अधिकांशको स्कुलको पढाइ नसक्दै बिहे हुने गरेको बताए । ‘गरिब छन । खानलाउन गाह्रो हुन्छ, लेखपढ गराउन कसले सोच्छ र,’ शिक्षक ऐडीले भने । यहाँका सबै किशोरकिशोरीको २० वर्ष नपुग्दै बिहे हुने गरेको उनले बताए ।
आमाको स्वास्थ्यमा समस्या
गाउँका अधिकांश किशोरी आमामा स्वास्थ्य समस्या रहेको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । उमेर नपुग्दै बिहे गर्ने भएकाले आमा र बच्चा कुपोषित हुने गरेको उनको भनाइ छ । ‘बच्चाको कम तौल हुने, आमालाई रक्त अल्पता हुने, आङ खस्ने गरेका समस्या रहेका छन,’ संयोजक धामीले भने । उमेर नपुग्दै बिहे गर्ने क्रम रोक्न गाउँपालिकाले सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ । बालविवाह र कम उमेरमै सुत्केरी हुने जिल्लाभरिकै समस्या भएको उनको भनाई छ । इन्जा एसियाका अध्यक्ष एवम ग्लोबल उपाध्यक्ष वरिष्ठ पत्रकार टंक पन्तको अनुसार किशोरीले सानै उमेरमा विवाह गर्ने मुख्य समस्या भएकोले किशोरी अवस्थामै समस्या आउने गरेको बताए । किशोरीहरुले आफनो शाररिक अवस्था परिपक्क नहुदा सम्म विवाह नगर्न हो भने यस्तो समस्या नदेखिने इन्जा एसियाका अध्यक्ष एवम गलोबल उपाध्यक्ष वरिष्ठ पत्रकार पन्तले बताए ।

 

यहाँ कमेन्ट गर्नुहोस्