०३ आषाढ २०८१, आइतबार

प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाए

खबरसबैकाे समाचारदाता, काठमाडाैं सोमबार, जेठ ०७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत पाएका छन् । तेस्रो कार्यकालमै प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट चौथो पटक विश्वासको मत लिएका हुन् । सोमबार प्रधानमन्त्री दाहालले कांग्रेसको अवरोधका बीचमा विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्री दाहालको पक्षमा १५७ मत पाए । त्यस्तै प्रधानमन्त्री दाहाललाई मत दिन्न भन्नेमा १ मत परेको सभामुख देवराज घिमिरले सदनलाई जानकारी दिएका थिए । सोमबारको बैठकमा १५८ सांसद उपस्थित रहेको सभामुख घिमिरेले जानकारी दिए ।

प्रधानमन्त्री दाहालले संविधानको धारा १०० को उपधारा ९२० अनुसार विश्वासको मत लिएका हुन् । प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्दछ ।

जनता समाजवादी पार्टी, नेपालले वैशाख ३१ गते संविधानको धारा ७६ को उपधारा ९२० बमोजिमको प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । यसअघि प्रधानमन्त्री दाहालले फागुन ३० गते विश्वासको मत लिएका थिए । तेस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा १५७ सांसद थिए ।

२०७९ मंसिरको प्रतिनिधिसभा निर्वाचनपछि दाहाल नेतृत्वमा २०७९ पुस १० मा सरकार गठन भएको थियो । एमाले, रास्वपा, राप्रपा, जसपालगायत दलहरू संलग्न सरकारको नेतृत्व गर्दै दाहालले पहिलो पटक प्रतिनिधिसभाबाट २०७९ पुस २६ मा विश्वासको मत लिएका थिए । त्यतिबेला प्रतिपक्षको बेन्चमा बसेको कांग्रेससमेतले दाहाललाई विश्वासको मत दिएको थियो ।

दाहालले राखेको पहिलो विश्वासको मतको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा प्रतिनिधिसभा बैठकमा उपस्थित २७० सांसदमध्ये २६८ ले पक्षमा मत दिएका थिए । त्यतिबेला उनको विपक्षमा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र नेमकिपाका प्रेम सुवालले मात्रै मत राखेका थिए ।

राष्ट्रपति निर्वाचनसँगै दाहालले २०७९ फागुन दोस्रो साता एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सत्तायात्रा सुरु गरे । परिणामस्वरूप कांग्रेसबाट राष्ट्रपति उम्मेदवार बनेका रामचन्द्र पौडेलको शीतल निवास यात्रा सुरु भयो । एमालेसँगको गठबन्धन तोडिएपछि दाहालले दोस्रो पटक २०७९ चैत ६ मा प्रतिनिधिसभामा विश्वास पाउँ भनेर प्रस्ताव पेस गरे ।

दोस्रो पटक विश्वासको मत लिँदा दाहालको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदहरू प्रभु साह, अमरेशकुमार सिंहलगायत उभिएका थिए ।

दोस्रो पटक विश्वासको मत लिँदा प्रधानमन्त्री दाहालको पक्षमा सदनमा उपस्थित २६२ सांसदमध्ये १७२ सांसदले पक्षमा भोट हालेका थिए । दाहालको विपक्षमा ८९ सांसदले राखे भने नेमकिपा ‘मत दिन्न’ भन्ने पक्षमा उभिएको थियो ।

यहाँ कमेन्ट गर्नुहोस्