०३ माघ २०८१, बिहिबार

लैङ्गिक र यौनिक अल्पसंख्यकको हक सुनिश्चित गर्न प्रभावकारी कदम आवश्यक : सांसद राना

खबरसबैकाे समाचारदाता, काठमाडाैं शनिबार, पुष १३, २०८१

काठमाडौं । प्रतिनिधि सभा सदस्य सीता कुमारी रानाले सिमान्तकृत र आवाजविहीन समुदायका मुद्दालाई नीतिगत तहमा दर्ता गराउन प्रभावकारी पहलको आवश्यकता रहेको बताएकी छन् । लैङ्गिक पहिचान, यौन अभिमुखिकरण र यौन विशेषता भएका व्यक्तिहरूको मानसिक स्वास्थ्यसम्बन्धी राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सांसद रानाले यो विषयलाई समाजको प्राथमिकतामा राखेर ठोस कदम चाल्नुपर्ने आवश्यकता औँल्याएकी हुन् ।

सेभ द चिल्ड्रेन र नील हिरा समाजको आयोजनामा काठमाडौँमा सम्पन्न उक्त भेलामा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका समस्याहरू, सामाजिक स्वीकृतिका चुनौतीहरू, र मानसिक स्वास्थ्य सुधारका उपायहरूबारे गहन छलफल भएको थियो । सांसद रानाले समाजमा लैङ्गिक अल्पसंख्यक समुदायका मुद्दालाई प्राथमिकता दिने र यस्ता समुदायप्रति संवेदनशील नीतिहरू लागू गर्ने आवश्यकता रहेको बताइन् ।

उनले स्थानीय तहमा भएको प्रयासको उदाहरण प्रस्तुत गर्दै भनिन्, “गत वर्ष दैलेखमा नील हिरा समाजमार्फत सामाजिक सुरक्षा भत्ता वितरणको सुरुवात गरिएको थियो । अहिले यो कार्यक्रम दुल्लू नगरपालिकामा समेत विस्तार गरिएको छ। यस्ता कार्यक्रमलाई विकट हिमाली क्षेत्रहरू, जस्तै हुम्ला र जुम्ला, जसमा अझैसम्म आधारभूत पहुँचको अभाव छ, पुर्‍याउन जरुरी छ। काठमाडौँजस्ता शहरी क्षेत्रमा सीमित कार्यक्रमले मात्र समस्या समाधान हुँदैन ।”

सांसद रानाले मानसिक स्वास्थ्यलाई मानव अधिकारसँग जोडिएको विषयका रूपमा व्याख्या गर्दै सरकारले मानसिक स्वास्थ्य सेवाहरूमा पहुँच वृद्धि गर्न विशेष पहल गर्नुपर्नेमा जोड दिइन्। ूमानसिक स्वास्थ्यको सवाल कुनै एक वर्गको मात्र होइन, यो सबैका लागि समान र न्यायपूर्ण समाज निर्माणसँग सम्बन्धित छ,ू उनले भनिन्।

भेलाका सहभागीहरूले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोगिरहेका सामाजिक अस्वीकृति, रोजगारीमा भेदभाव, र कानूनी सुरक्षाको अभावजस्ता चुनौतीबारे विचार व्यक्त गरेका थिए । कार्यक्रमले यी समस्याहरू समाधान गर्न नीति निर्माण, सेवाको विस्तार, र सचेतनाका अभियानहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएको थियो ।

त्यस्तै मानसिक स्वास्थ्य सेवा प्रदान गर्दा लैङ्गिक र यौनिक विविधतालाई सम्मान गर्ने वातावरण निर्माण गर्न सरकार र नागरिक समाजको संयुक्त प्रयास अनिवार्य रहेको निष्कर्ष  थियो। समाजमा विद्यमान पूर्वाग्रह र भेदभाव अन्त्य गर्न र गोपनियताको ख्याल गर्न सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।

लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको सशक्तीकरण र उनीहरूको मानसिक स्वास्थ्यलाई सम्बोधन गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू देशका सबै तहमा पुर्‍याउनु आवश्यक रहेको सहभागिहरुले जोड दिएका थिए । सांसद रानाले यसका लागि निरन्तर आवाज उठाउँदै नीतिगत तहमा ठोस पहल गर्न प्रतिवद्धता व्यक्त गरेकी छन्।

यहाँ कमेन्ट गर्नुहोस्